बूढीगण्डकी आयोजनाद्वारा बेलिब्रिज निर्माण सुरु
गोरखा : ३४१ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागेको साहस ऊर्जाले खोर्लाबेंसीमा बेलिब्रिज निर्माणको शुभारम्भ गरेको छ।
धार्चे गाउँपालिका—३ खोर्लाबेंसीमा निर्माण गर्न लागिएको बेलिब्रिजको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले शिलान्यास गरेका हुन्।
उक्त कार्यक्रममा बोल्दै ऊर्जाका प्रबन्ध निर्देशक हिम पाठकले ३० मिटर लामो, ४ मिटर चौडा रहेको सो पुल तीन महिनाभित्र बनाइसक्ने जानकारी दिए। साथै पाँच करोड रुपैयाँ लागतमा पुल बनाउने पनि बताए।
उनका अनुसार पुल तथा जलविद्युत् आयोजना निर्माणको काम टाइम इनर्जीले गर्ने छ।
ऊर्जाले चुमनुब्री र धार्चे भएर बग्ने बूढीगण्डकीमा ३४१ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न लागेको हो। पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने पाठकले घोषणा गरे। कार्यक्रममा बोल्दै उनले भने, ‘पुल निर्माण सम्पन्न भएलगत्तै हामी चुमनुब्री—३ को सल्लेरीमा आयोजनाको बाँध खन्न सुरु गर्नेछौं।’
खोर्लाबेंसीमा पुल बनेपछि नेपाली सेनाले निर्माण गरेको बेनीघाट, आरुघाट, लार्के सडकको माछाखोला सल्लेरी सडकखण्डमा हिउँद बर्खामा निर्बाध रूपमा गाडी चल्न सम्भव हुने उनको अपेक्षा छ।
‘आयोजनाको बाँध जगत् र सल्लेरीको बीचमा रहनेछ’, उनले भने, ‘पावर हाउस चाहिँ तातोपानीको भत्किएको पुलनेर निर्माण हुनेछ। बाँधदेखि पावर हाउससम्मको दूरी ६.८ किलोमिटर रहनेछ।
नहर सबै भूमिगत सुरुङभित्र निर्माण हुनेछ।’
उत्पादित विद्युत् नुवाकोटको रातामाटे सब–स्टेसन लगेर जोड्ने उनले बताए।
आयोजनाको कुल लागत ७० अर्ब रुपैयाँमध्ये ७५ प्रतिशत बैंकले लगानी गर्ने पाठकले बताए। बाँकी २५ प्रतिशतको व्यवस्था गरिरहेको उनको भनाइ छ। जसमा स्थानीयवासीको सेयर र आईपीओ पनि खुल्ला गर्ने तयारी गरेको उनले सुनाए।
‘हामी छिट्टै कम्पनी खडा गरेर स्थानीयलाई सेयर आह्वान गर्नेछौं’, उनले भने, ‘धेरै थोरै सेयर खरिद गरी लगानी गर्न स्थानीयवासीलाई अनुरोध गर्दछु।’
अहिले आयोजना डिजाइनको अन्तिम चरणमा रहेको उनले बताए। कार्यालय स्थापना गर्न खोर्लाबेंसीमा ९ रोपनी जग्गा खरिद गरिसकेका छौं’, उनले भने, ‘१७ सय रोपनीको मुआब्जा दिन मुआब्जा निर्धारण करिब टुंगिएको छ।’ पुल शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले आयोजनामा स्थानीयवासीलाई अल्पकालीन तथा दीर्घकालीन रोजगारीको व्यवस्था गर्न आग्रह गरे।
निर्माणको क्रममा क्षमता, दक्षता र सीपअनुसारको काम स्थानीयवासीले पाउनुपर्ने, आयोजना बनेपछि सञ्चालनका क्रममा रोजगारी दिन स्थानीयवासीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
सो बेलिब्रिज निर्माण भएपछि धार्चे र चुमनुब्री गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन्। मनास्लु क्षेत्र जाने हजारौं विदेशी पर्यटकले पनि यसबाट
सुविधा पाउनेछन्।
प्रतिक्रिया दिनुहोस !