जलवायु परिवर्तनले पोखरी सुके, रिचार्जले फेरि भरिन थाले

जलवायु परिवर्तनले पोखरी सुके, रिचार्जले फेरि भरिन थाले

धनकुटा : केही वर्ष अघिसम्म धनकुटा–८ मिलन टोलकी मनकुमारी आठपहरिया (४५)  खानेपानी ल्याउन दुई घण्टासम्म पैदल हिँडेर मुहानसम्म पुग्थिन्। दुई घण्टासम्म पैदल हिँडेर पुगिने मुहान हो, चोक्टे कुवा। चोक्टे कुवा घरभन्दा तल भएकाले जाँदा ओरालो फर्किदा उकालो हिँड्नुपर्छ। घरनजिकै मार्गाथान कुवा भए पनि त्यहाँको मुहान सुकिसकेको कारण, उनी मात्र होइन मिलन टोलका २० घरपरिवारले खानेपानी ल्याउन धेरै दुःख पाएका थिए। पानी ल्याउनका लागि पैदल हिँड्नुको विकल्प थिएन। 

२०७२ सालभन्दा अघि मार्गाथान कुवाको संरचना सिमेन्टले बनेको थियो। भित्ता तिर कुवा जस्तो सानो मूल थियो। त्यसपछि झन्डै चार वर्ष मूल सुक्यो। बाटो सरसफाइका लागि स्काइभेटर आएको बेला पक्की ट्यांकीलाई फुटाएर खाडल बनाइयो। २०७७ सालतिर सुकिसकेको मूलमा पुनःपानी पलाउन थाल्यो। अहिले ३-४ वर्ष भइसक्यो मूल सुकेको छैन। पानी आइरहेको मनकुमारी बताउँछिन्। 

पुराना पोखरी पुनरुत्थान गर्दा मार्गाथान मूलमा पानी बढेको धनकुटा नगरपालिका– वडाध्यक्ष रसबहादुर राईको भनाइ छ। मार्गाथान कुवाभन्दा माथि चुलिवन वरडाङमा रहेको पोखरीलाई पुनरुत्थान गरिएको छ। पोखरीमा वर्षाको पानी संकलन हुन्छ। सोही पानी रसाएर मार्गाथान कुवामा पानीको मूल पलाएको वडाध्यक्ष राई बताउँछन्। 

वरडाङमा परापूर्वकालदेखि नै पोखरी रहेको चुलिवन सामुदायिक वन उपभोक्ता समितिका सचिवसमेत रहेकी स्थानीय दिलु चारिङ्मे राईले बताइन्। ‘वरडाङको पोखरी वाल्यकाल हुँदादेखि नै थियो’, उनले भनिन्, ‘पोखरीमा पानी जमिरहन्थ्यो। पानी जमेको बेला तलतिरको कुवा सुक्दैन थियो।’

१५-१६ वर्षअघि हिउँदमा पानी नहुँदा स्थानीय युवाहरूले खेलमैदान बनाउनुपर्छ भनेर पोखरी पुरिदिए। पोखरी पुरेपछि तलको गाउँमा रहेका मुहानहरू सुक्न थाले। ठाउँ सानो भएको कारण खेलमैदान बन्न सकेन। परापूर्वकालदेखि रहेको पोखरीलाई मास्नु हुँदैन बरु पुनःमर्मत सम्भार गरेर संरक्षण गर्नुपर्छ भनेर सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरूले सल्लाह गरे। चार वर्षअघि २०७७ सालमा भू तथा जलाधार व्यवस्थापन कार्यालय धनकुटाको सहयोगमा ४ लाख रुपैयाँ बजेटले पोखरीको पुनरुत्थान गरियो। 

पोखरी पुनरुत्थान मात्र भएन। अन्य दुई साना पोखरी निर्माण गरियो। वर्षाको पानी पोखरीसम्म ल्याउन स–साना कुलो बनाइयो। वर्षा हुँदा पोखरीमा टन्न पानी भरिन्छ। पोखरीकै पानी रिचार्ज भई मार्गाथान कुवामा पानीको स्रोत पलाएको चारिङ्मे बताइन्। रिचार्ज पोखरीले काम गरेको छ। अहिले पहिले जस्तो सुक्खा छैन। रिचार्ज पोखरी रहेको स्थानमा स्थानीयले बेला बखत सरसफाइ गर्छन्।  

स्थानीय अर्जुन राई भन्छन्, ‘मार्गाथान कुवाभन्दा माथिल्लो क्षेत्रमा पानीको स्रोत छैन। लामो समयको खडेरीले मूल सुकेको हुन सक्छ। तर, वरडाङमा पोखरी बन्ने बित्तिकै यहाँ पानीको मूल पलाएको छ।’ पुनरुत्थान गरिएको कारण मूलमा पानी पलाएको उनको भनाइ छ।  

पानीको मूल पुनः पलाएपछि मार्गाथान कुवालाई संरक्षण गरिएको छ। वडाले बजेट विनियोजन गरेर प्राकृतिक संरचना निर्माण गरेको छ। मार्गाथान कुवा आसपासका मिलन टोल, विचटोल, देउराली टोल, सयपत्रीलगायत टोलका ५०-६० घरधुरीले पानी उपभोग गरिरहेका छन्। मूलभन्दा तलतिर ट्यांकीमा पानी संकलन गरी धारा बनाइएको छ। आधा पानी देउरालीको ट्यांकीमा राखिएको छ। अधिकांश पानी ल्याउन धारामा आउँछन्। धनकुटा बजार नजिकैको शीतलपाटी, टोड्केलगायत ठाउँमा पानी लिन आउने गरेको वडाध्यक्ष राई बताउँछन्। मार्गाथानमा मूल पलाउँदा गाउँका आधाभन्दा बढी खानेपानीको समस्या समाधान भएको उनको भनाई छ। 

null

त्यस्तै धनकुटा–१० चौधरी गाउँकी ६१ वर्षीय टीका कार्कीलाई कुनै बेला पानी ल्याउन घरदेखि घण्टौ पैदल हिँडेर मुहानसम्म पुग्नु पथ्यो। मुहान पुगेर पनि पानी थाप्न सहजै पाइँदैन थियो। पालो पर्खिनु पथ्यो। किनभने उनी जस्तै धेरै महिलाहरूको भीड जम्मा भइसकेको हुन्थ्यो। पानी ल्याउनै धेरै समय खर्चिनु पर्थ्यो। 

अहिले घरनजिकै उनको निजी जग्गामा पानीको मूल छ। उनीसहित अन्य घरकाले मूलको पानी घरसम्म पाइपमा ल्याएर प्रयोग गर्छन्। ‘एक पाइप पानी ल्याएर ट्यांकी जम्मा गछौं’ उनले भनिन् ‘चार घरपरिवार मिलेर प्रयोग गछौं’ चैत वैशाखमा पानीको मात्रा घटे पनि वर्खामा मुहानको पानी बढ्ने उनले बताइन्। यो वर्ष हिउँदमा पनि पानी परेको कारण मुहानमा पानी छ। पानी नपरेको भए यतिवेला मुहानको पानी सुकिसक्थ्यो। 

चौधरी गाउँनजिकै बिजो खोला छ। बिजो खोलामा पानीको मुहान छ। स्थानीय देवेन्द्र कार्कीका अनुसार बिजो खोला विगतका वर्षहरूमा यतिबेला सुक्थ्यो। तर, यसपालि हिउँदमा लामो समयसम्म वर्षा भएका कारण पानी सुक्न पाएको छैन। यो खोलाबाट स्थानीयले घरघरमा पाइपमार्फत पानी ल्याएर प्रयोग गर्छन्। पिउन सँगै सिँचाइमा प्रयोग गरिरहेका छन्। स्थानीयले खोलाको मुहाननजिकै गाईवस्तुलाई पनि पानी खुवाउन आहाल बनाएका छन्।

चौधरी गाउँ मात्र नभएर आसपासका क्षेत्रमा रहेका गाउँका मूलमा पानी नसुक्नुको मुख्य कारण, माथिल्लो डाँडामा रहेको पोखरीहरू भएको धनकुटा नगरपालिका वडा नं. १० का वडाध्यक्ष नगेन्द्र पाण्डे बताउँछन्। उनका अनुसार माथिल्लो डाँडामा उत्तरपानी छ। उत्तरपानीमा चारवटा सिमसार पोखरी छन्। पोखरीको पानी रिचार्ज भएर यस क्षेत्रका मुहानमा पानीको स्रोत नघटेको उनले बताए। 

उत्तरपानी, धनकुटा नपा १० र पाख्रिवास नपा १० को सीमा क्षेत्रमा अवस्थित छ। उत्तरपानीमा ठूला–ठूला चार वटा प्राकृतिक पोखरी छन्। स्थानीयले जन  श्रमदानमार्फत पुनः एउटा पोखरी बनाएका हुन्। यहाँको पानी सुक्दैन। पोखरीले तल्लो क्षेत्रका गाउँका पानीका मूललाई सुकाउन दिएको छैन। रिचार्ज पोखरीको काम गरिरहेको स्थानीय जयन्द्र घिसिङले बताए।

सिमसार संरक्षणविद् शैलेन्द्र पोखरेलले रिचार्जका लागि पोखरी संरक्षणबाहेक अरू विकल्प नभएको बताउँछन्। उनका अनुसार १ हेक्टर क्षेत्रफलको पोखरीले साधारणतया ५ हेक्टर वरिपरि क्षेत्रफलमा रिचार्ज हुन्छ। 

 पुनःभरणले बढ्यो पोखरीको मूल

छथरजोरपाटी गाउँपालिका–२ ध्वजेधारा टोलका जगत सिजाली मगर घर नजिकै रहेको दुईवटा मुहान (ध्वजे धारा नयाँ र पुरानो मुहान) को पानी हरेक महिना दुई पटक (दुई फरक गतेमा) मापन गर्छन्। एक मिनेटमा कति लिटर पानी संकलन हुन्छ भनेर उनी टिपोट गर्छन्। गतवर्षको फागुन १ गतेदेखि मूलको पानी मापन गरिरहेका छन्। अहिले मापन गरेको एक वर्षभन्दा बढी समय भइसक्यो। 

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहयोग तथा स्थानीय तहको समन्वयमा गतवर्ष ध्वजेधाराको मूलभन्दा माथिल्लो ध्वजेडाँडामा सानाठूला गरी सयांैका संख्यामा पोखरी खनिएको थियो। ती पोखरीहरूमा वर्षाको पानी संकलन गरिन्छ। पोखरीमा जम्मा भएको पानीले तल्लो क्षेत्रका मुहानमा पानी स्रोत बढाएको छ कि छैन भनेर पत्ता लगाउन सिजालीले एक वर्षदेखि पानीको मापन गरिरहेका हुन्। मापन हरेक महिनाको १ र १५ गते हुन्छ। मापन गरिएको पछिल्लो एक वर्षको तथ्यांकलाई विश्लेषण गर्दा ती दुई मुहानमा पानीको स्रोत बढाएको छ। पुनःभरण पोखरी निर्माणको कामले सार्थकता पाएको सिजाली बताउँछन्।  

स्थानीय तहसँगको सहकार्यमा इसिमोडले धनकुटा नगरपालिकाको ८ र छथरजोरपाटी गाउँपालिकाको २ वडामा रिचार्ज पोखरी बनाएको छ। एक वर्ष यता मापन गरिँदै आइरहेको छ। एक वर्षको तथ्यांकको नतिजा हेर्दा मूलमा पानीको स्रोत केही मात्रामा बढेको इसिमोडका जलाधार तथा मूलाधार विज्ञ माधव ढकालले बताए। मुहानको माथिल्लो डाँडामा वर्र्खाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी बनेको जलाधार तथा मूलाधार विज्ञ ढकालले बताए। 

ध्वजेडाँडाका दुईवटा मुहानबाहेक धनकुटा नगरपालिका–१ को केशरी, बोजे र चञ्चलादेवी मुहानहरूमा पनि पानीको मापन गरिन्छ। यी मुहानभन्दा माथि रिचार्ज पोखरी बनाइएको छ। 

गतवर्षको फागुन १ गते र यो वर्षको फागुन १ गतेको मापनलाई तुलना गर्दा ती मुहानमा प्रतिमिनेट सरदर डेढदेखि दुई लिटरसम्म पानीको मात्रा बढेको जलाधार तथा मूलाधार विज्ञ ढकालले बताए। 

इसिमोडबाट प्राप्त तथ्यांक अनुसार गतवर्ष फागुन १ गते पहिलोपटक ध्वजेडाँडाको नयाँ मुहानको धारामा पानीको मापन गर्दा एक मिनेटमा ११.३२ लिटर पानी भरिएको थियो। उक्त मुहानमा यो वर्षको फागुन १ गते पानी मापन गर्दा १ मिनेटमा १२.७८ लिटर पानी भरियो। एक वर्षको अन्तरालमा १.४६ लिटर पानीको स्रोत बढेको छ।  मापन गरिएको पाँचवटा मुहानमा प्रतिमिनेट सरदर डेढ लिटर पानी मात्रा बढ्दा एक घण्टामा ९० लिटर र २४ घण्टामा २ हजार १ सय ६० लिटर पानी बढेको देखिएको छ। 

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार नेपालमा प्रतिव्यक्ति प्रतिदिन १०० लिटर पानी पर्याप्त मानिन्छ। र, प्रतिव्यक्ति प्रतिदिन ४५ लिटर न्यूनतम आवश्यकता हुने विज्ञ ढकालको भनाई छ।  मुहानमा बढेको पानी मात्राअनुसार प्रतिव्यक्ति प्रतिदिन आवश्यक पर्ने पानीलाई आधार मानेर मापन गर्दा एक दिनमा थप ४८ जनालाई थप पानी पुग्ने गरी वृद्धि भएको ढकालले बताए।

पुनर्भरण पोखरीले खानेपानीको मुहान सुक्नबाट मात्र बचाएको छैन। सुकेका मुहानहरूलाई पुनर्जीवित गराएको सिजाली बताउँछन्। यसका लागि दुई वर्ष अघिदेखि धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकाका डाँडाहरूमा वर्खाको पानी संकलन गर्न रिचार्ज पोखरी बनाउन थालिएको थियो।  
इसिमोड, धनकुटा नगरपालिका र हुसाडेक नेपालमार्फत धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकामा बर्षाको पानी संकलन गर्न सानाठूला गरी २ हजार ४ सय ५० वटा खाडल खनिएका छन्। तीमध्ये ठूला खाडल ४ वटा र बाँकी २ हजार ४ सय ४६ वटा साना खाडल छन्। ४ वटा ठूला खाडल ध्वजे र चञ्चलादेवी मुहानलाई रिचार्ज हुने गरी बनाइएको हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेलले बताए। 

रिचार्ज पोखरी बनाइएको स्थानमा बर्खाको पानी सोझै बगेर खोलामा जान पाएको छैन। पानी पोखरीमा जम्मा भई जमिनभित्रै सोसिएका छन्। पुनःभरण पोखरीले मूलमा पानी बढेको तथ्यलाई थप पुष्टि गर्न लाग्ने ढकाल बताउँछन्। ‘यो प्रारम्भिक तथ्यांक हो। अझैं दुईचार वर्षको तथ्यांक विश्लेषण गर्नुपर्छ’, उनले भने, ‘अहिलेको तथ्यांकले सकारात्मक नतिजा दिएको छ। पानीको मात्रा अझैं मापन गछौं।’ तीन वर्षको तथ्यांक लिने प्रयास गरिरहेको उनले बताए।   

उनका अनुसार पोखरीबाट मूलसम्म रिचार्ज हुन कम्तीमा ३ महिनाभन्दा बढी समय लाग्छ। असार–साउनको वर्खाले रिचार्ज पोखरी भरिँदा तीन महिनापछि असोज, कात्तिक र मंसिरमा मूलमा पानी स्रोत वढेको देखिएको छ। पुनःभरण पोखरीमा गरिएको कामको सकारात्मक परिणाम हो। 

छथरजोरपाटी गाउँपालिका–२ ध्वजेधारा टोलमा ३५ घरधुरीको बसोबास छ। मूलबाट पाइपमार्फत पानी ल्याएर उपभोग गर्थे। मूलको वरिपरि पाइप नै पाइप हुन्थे। तर, अहिले इसिमोड, छथरजोरपाटी गाउँपालिका र स्थानीयको जन  श्रमदानबाट मुहान सरक्षणसँगै व्यवस्थित पानीको ट्यांकी बनेको छ। पहिले मूलको पानी सबै लैजाँदा पुग्दैन थियो। कसले बढी लैजाने भने हानाथाप हुन्थ्यो। मुहानभन्दा माथिका डाँडामा वनेको रिचार्ज पोखरीले मुहानमा पानीको मात्रा वढेको छ। 

अहिले सबै घरधुरीलाई पर्याप्त मात्रामा पानी पुग्न थालेको छ। पानी खेर जाँदैन। ट्यांकीमार्फत सबैको घरघरमा पानी पुग्छ। उनका अनुसार स्थानीयले पानी घरायसी प्रयोजनसँगै खेतीमा लगाउन थालेका छन्। अरुबेला हिउँदमा पानी घट्यो। यो पटक घटेको छैन। मुहान संरक्षणसँगै व्यवस्थित खानेपानीका लागि १० लाख रुपैयाँ खर्च गरिएको छ। इसिमोडबाट ८ लाख रुपैयाँ र गाउँपालिकाबाट २ लाख प्राप्त भएको उनले बताए। 

धनकुटा नगरपालिका–१ बोजेमा पानीको धेरै दुःख थियो। बोजेमा १२-१३ घरधुरीको बसोबास छ। घर छेवैमा मुहान भएपनि त्यहाका वासिन्दा पानी ल्याउन एक घण्टामा पैदल हिँडेर पानी ल्याउन मुहानसम्म पुग्थे। तर, अहिले रिचार्ज पोखरीको कारण मुहानमा पानीको मात्रा बढेको छ। हिजोआज वोजेका स्थानीय पानी ल्याउन मुहान धाउनुपर्ने वाध्यता हटेको वडाध्यक्ष वाङ्द तामाङले बताए।  

भारतको सिक्किम पुगेर रिचार्ज पोखरीको माध्यमबाट खानेपानीका मुहानहरू जीवित भएको देखेपछि आफू प्रेरित भएको वडाध्यक्षले बताए। ‘रिचार्ज पोखरी निर्माणका लागि इसिमोड, धनकुटा नगरपालिकाले सहयोग गरेको छ’ उनले भने, ‘वडामार्फत बजेट विनियोजन गरेर थप पोखरी बनाएका छौं। चालु आर्थिक वर्षमा थप पोखरी बन्ने छ ।’  

धनकुटा नगरक्षेत्रभरि ४ सय १० वटा पिउने पानीका स्रोतहरू रहेको धनकुटा नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीले बताए। यीमध्ये ३ सय ८९ मुहानका स्रोतहरूमा पिउन योग्य पानी छन्। ३ सय ५२ स्रोतहरूमा पानी छ, जुन पिउनु अघि शुद्धीकरण-सफा गर्नुपर्छ। १ सय ५८ स्रोत प्रदुषित प्रभावित रहेको सूचना अधिकारीको भनाई छ। पछिल्लो दुई वर्षयता २ सय ६७ स्रोतमा पानी मात्रा कम हुँदै गएका छन्। बर्सेनि मुहानमा पानीको स्रोत कम हुँदै गएपछि अहिले नगर क्षेत्रको डाँडामा रिचार्ज पोखरी निर्माणलाई प्राथमिकतामा राखिएको उनको भनाई छ। नगर क्षेत्रका सुकिसकेका पोखरीलाई पुनउत्थान गरिने उनले बताए। 

इसिमोडले धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकासँग साझेदारीमा काम गरिरहेको छ। धनकुटा नगरपालिका जलाधार संरक्षण र व्यवस्थापन योजना निर्माण एवं योजना कार्यान्वयनका लागि आर्थिक तथा प्राविधिक सहयोग इसिमोडले गरेको छ। धनकुटा नपा र इसिमोडको साझोरीमा सन् २०१५ देखि २०१७ सम्म परिस्थितिकीय सेवा प्रवाह सम्बन्धमा एउटा संयुक्त कार्यपरक अनुसन्धान गरिएको धनकुटा नगरपालिकाका सूचना अधिकारीले बताए। 

एक वन, एक पोखरी 

पानीको मूल स्रोतको रूपमा रहेका पोखरी संरक्षण गर्न डिभिजन वन कार्यालयले एक सामुदायिक वन, एक संरक्षण पोखरी निर्माण अभियान गतवर्षदेखि सुरु गरेको छ। जिल्लामा ३ सय ८७ वटा सामुदायिक वन छन्। सिमसार क्षेत्र रहेका सामुदायिक वनहरूलाई प्राथमिकतामा राखेर पोखरी निर्माण गरिएको वन अधिकृत भरतबाबु   श्रेष्ठले बताए।

  श्रेष्ठले भने अनुसार सुख्खा समय विशेषगरी फागुनदेखि जेठसम्मको चार महिनालाई मानिन्छ। सुख्खा समयमा वर्षा कम हुने भएकाले खडेरी हुन्छ। खानेपानीका मुहान कुवा, पोखरी सुक्छ। खडेरीले मुहान सुक्दा खानेपानीको समस्या हुन्छ। वन जंगलमा डढेलो लाग्ने गर्छ।

पछिल्लो समय मुहान सुक्ने क्रम बढ्दो रहेको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थापाले बताए। अब मुहाननजिक रिचार्ज पोखरी निर्माण गर्नुको विकल्प नरहेको उनी बताउँछन्। जिल्लाको कुल ३ सय ८७ सामुदायिक वनमध्ये ५० वटा सामुदायिक वनमा सिमसार पोखरी रहेको र वाँकी सामुदायिक वनमा सुक्खा क्षेत्र रहेको थापा बताउँछन्। 

भू तथा जलाधार व्यवस्थापन कार्यालय धनकुटाले विभिन्न स्थानमा पोखरी निर्माण गर्न थालेको छ। निर्माण गरिएको पोखरीले पानीको स्रोत बढाउन मद्दत पुगेको कार्यालय प्रमुख प्रकाश लिम्बूले बताए। कार्यालयले धनकुटा–१० उत्तरपानीमा, महालक्ष्मी–१ घुमाउनेमा १० लाख रुपैयाको लागतमा घुमाउने पोखरी र साँगुरीगढी–१ दुर्गा चोकमा ५ लाख रुपैयाको लागतमा मानजोङ पोखरी निर्माण गरिरहेको छ।

पोखरी रिचार्जसँगै पर्यटकीयस्थल 

सिमसार पोखरीहरूले रिचार्जसँगै पर्यटक आकर्षण गर्ने पर्यटकीयस्थल वन्न थालेको छन्। चौबिसे गाउँपालिका केन्द्र राजारानीमा रहेको रानी ताल पछिल्लो समय आउने क्रम बढ्दो रहेको स्थानीय जीवन कटुवालले बताए। रानी ताल पर्यटकका लागि आकर्षणको केन्द्र मात्र नभएर, रिचार्ज पोखरीको कामसमेत गरेको चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बूले बताए। त्यस्तै सोही गाउँपालिकाको वडा नं. २ स्थित सौरे बजार नजिकै खोलामा ड्याम बनाएर धप्पड ताल बनाइएको छ। करिब ५२ रोपनी क्षेत्रफलमा रहेको यो पुननिर्मित ताल हो। यहाँ प्रदेश सरकार र चौबिसे गाउँपालिकाको लगानी रहेको प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहालले बताए। 

पाख्रिवास बजारनजिकै संसारी माइस्थान सिमसार क्षेत्र छ। अहिले चर्चा र पर्यटकको रोजाइमा पर्छ। पर्यटकीय गन्तब्य बनेको छ। सिमसार क्षेत्रमा विभिन्न निकायको कुल २ करोड १९ लाख रुपैयाँ खर्च गरिएको छ।   

नहुने भो ‘राजा’-‘रानी’को भेट 

चौविसे गाउँपालिकाको केन्द्र राजारानी बजारको एकातिर रानी ताल र अर्को तिर राजा ताल छ। बजारको पूर्व–पश्चिम र दक्षिण, तीनतिर अंग्रेजी अक्षर ‘भी’ आकारमा फैलिएर रहेको क्षेत्रको रानी तालमात्र हालसम्म आंशिक संरक्षण गरिएको छ । निजी स्वामित्वमै रहे पनि रानी तालको पश्चिममा अवस्थित राजा ताल क्षेत्र भने संरक्षणको पर्खाइमा छ। 

पछिल्लो समय बजार विस्तारले ताल संरक्षण गर्न कठिन हुँदै गएको गाउँपालिका अध्यक्ष राजकुमार लिम्बूले बताए। राजा तालको बीच भागबाट भेडेटार–रवि–राँके राजमार्गको विस्तारले अब राजा र रानी ताल जोड्ने सम्भावना छैन।  राजारानी तालको क्षेत्रफलमा पाँच सय रोपनीभन्दा बढी छ। दुवै तालको दक्षिणतर्फ रहेको गल्छीमा बाँध बाँध्न सके यहाँ विशाल ताल वन्नेछ। स्थानीय केही व्यक्तिहरूसँग ताल निर्माणमा सहमति हुन नसकेपछि यसको सम्भावना ज्यादै न्यून गएको छ। लिम्बूका अनुसार यो ताल रानी तालभन्दा ठूलो हुनेछ।  

तर, गाउँपालिकाले राजा तालको केही क्षेत्रलाई संरक्षण गरि ड्याम बनाउने तयारी गरेको उनले बताए। गाउँपालिकाले प्रदेश योजना बैंकमा राजा ताललाई संरक्षण गर्ने योजनालाई प्राथमिकता साथ सिफारिस गरेको छ। गाउँपालिका अध्यक्षका अनुसार संरक्षणसँगै पर्यटकीय केन्द्र र सिँचाइ हुने गरी योजना बनाएका छौं। ताल संरक्षण गर्दा मौनावुधुक र बोधे क्षेत्रमा सिँचाइको सुविधा पुग्ने छ। त्यस क्षेत्रमा सुन्तलाको व्यावसायिक खेती हुन्छ। ८५ लाख रुपैयाँ खर्च सकिएको खण्डमा राजा तालको ड्याम बनाउन सकिने उनको भनाइ छ। 

सिमसार मासिने जोखिम

सिमसार पोखरी संरक्षणमा पहल गरिए पनि सिमसार क्षेत्र मासिने जोखिम उस्तै छ। विशेष गरी सिमसार क्षेत्रका भूभाग समथर हुने र पानीको पर्याप्त सुविधा हुने भएकाले बढ्दो वस्तीकरण हुन थालेको छ। त्यस्तै विगतमा सिमसार रहेका पोखरी संरक्षण अभावले सुकेका छन्। त्यस्ता ठाउँमा अहिले खेलमैदानसहित विभिन्न संरचना बनेका छन्। कतिपय सिमसार पोखरीमा पुनरुत्थान नहुने गरी संचरना निर्माण भएका छन्। संरचना नभएका सिमसार संरक्षणमा स्थानीय तहले ध्यान दिनुपर्ने संरक्षणविद्हरूको भनाइ छ। 

चौबिसे गाउँपालिका भरिका अधिकांश सीमसार क्षेत्रहरू संरचना अभावले बढ्दो सहरीकरण र प्लटिङको चपेटामा परेका छन्। सीमसार पोखरीलाई खानेपानीको मूल स्रोतको रूपमा लिने गरिन्छ। सीमसार क्षेत्र संरक्षणले मुहान संरक्षण सँगै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने स्थानीयहरू बताउँछन्। बुधबारे बजारबाट २ किमि दक्षिणमा रहेको गडेरे ताल, गडेरे ताल, कागडा पोखरीलगायत सीमसार क्षेत्रहरू अहिले संरक्षण गरिएको चौबिसे– १ का वडाध्यक्ष देवेन्द्र श्रेष्ठले बताए। चुरे पहाडको चिसो क्षेत्रमा अवस्थित ‘ताल नै ताल’को पालिका भनेर चिनिने चौविसे गाउँपालिकामा आधा दर्जन सानाठूला तालहरू संरक्षण र प्रवर्द्धनको पर्खाइमा छ। 

मुहान संरक्षणमा स्थानीय तहको भूमिका 

खानेपानीको मुहान तथा सिमसारलाई बचाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने जलाधार तथा मुलाधार विज्ञहरूको भनाइ छ। पछिल्लो समय ठूला आहाल पोखरीमा खेलमैदान, ठूला भवनका संरचना बनाउने क्रम बढ्दो छ। त्यस्तो कार्य रोक्न स्थानीय तहले पहल गर्नुपर्ने इसिमोडका विज्ञ ढकालको भनाइ छ।  

यता सिमसार संरक्षणविद् शैलेन्द्र पोखरेल सिमसार संरक्षणमा स्थानीय तहको भूमिका विशेष हुने बताउँछन्। 

स्थानीय तहमार्फत प्रदेश र संघले बृहत् संरक्षणको काम गर्नुपर्ने उनी बताउँछन्। उनका अनुसार चौविसे गाउँपालिका केन्द्र राजारानीमा रहेको रानी ताल र राजा ताललाई बृहत् रूपमा विकास गर्न सकिएको खण्डमा गाउँपालिका र जिल्ला मात्र होइन पूर्वकै भाग्य निर्धारण गर्नेछ। अहिले रानी ताल मात्र संरक्षित छ। राजा ताललाई पनि संरक्षण गर्नु आवश्यक छ। तर त्यसका लागि त्यस क्षेत्रका स्थानीय वासिन्दासँग छलफल गरी उनीहरूलाई उचित हुने गरी स्थानान्तरण गर्नु आवश्यक छ। अहिले पनि केही बिग्रिएको छैन। सरकारले चाह्यो देखायो भने बृहत् योजना बनाएर लगानी गर्न सक्छ। रानी तालको हकमा सवै प्रणालीलाई रिचार्ज गर्छ। त्यस्तो डाँडामा त्यस्तो पोखरी सम्भवत नहुने सिमसार विद् पोखरेल दाबी गर्छन्। 

यता चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले सिमसार संरक्षणको योजनालाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउँछन्। धनकुटा नगरप्रमुख चिन्तन तामाङले मूहानलाई पुनर्जीवित गर्न सिमसार क्षेत्र र पोखरी संरक्षण गरिने उनले बताए। रिचार्ज पोखरीकै कारण सुक्खाको बेला पनि मुहानमा पानीको स्रोत वढेको पायौं। साँगुरीगढी गाउँपालिकाले आवधिक योजनामा पोखरी संरक्षण योजनालाई समावेश गरेर काम गरिरहेको अध्यक्ष जितेन्द्र राईले बताए। यता छथरजोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका, पाख्रिवास नगरपालिकाले पनि ताल तथा पोखरी संरक्षणको योजनालाई प्राथमिकतामा राखेका छन्। 

सिमसारः पानीको दिगो स्रोत 

प्राकृतिक तथा कृत्रिम रूपले सिर्जना भएको सिमसार क्षेत्रलाई पानीको दिगो स्रोतका रूपमा लिन सकिन्छ। जिल्लाका विभिन्न स्थानमा रहेका सिमसार पोखरीहरूलाई संरक्षण गरिएको छ। जुन पानीको दिगो स्रोतका रूपमा रहेको छ। 

चौबिसे गाउँपालिका केन्द्र राजारानी बजारससँगै रानी ताल छ। त्यस्तै सोही गाउँपालिका वडा नं. २ सौरे बजारनजिकै खोलामा ड्याम बनाएर धप्पड ताल बनाइएको छ। पाख्रिवास बजार नजिकै संसारी माई सिमसार क्षेत्र छ। प्राकृतिक रुपमा रहेका पोखरीलाई संरक्षण गरि दुई ठूला पोखरी बनाइएको छ। धनकुटा–१० उत्तरपानी ससाना सिमसार पोखरी छन्। 

सिमसार पानीको दिगो स्रोत भएको छ। सुक्खा समयमा पनि सिमसार पोखरीभन्दा तल्लो क्षेत्रका गाउँहरूमा रहेका पानीको मूल सुकेको छैन। रिचार्जको काम गरेको छ। 

मूलमा पानीको स्रोत बढाउन सिमसार क्षेत्र संरक्षणको विकल्प नभएको सिमसार संरक्षणविद् शैलेन्द्र पोखरेल बताउँछन्। ‘जलवायु परिवर्तनको कारण तापक्रम बढ्न थालेको छ। हिमालका हिउँ पग्लिन थालेका छन्। हिउँ पर्न छोडेको छ। अब हिमालहरू १००-१५० वर्षपछि खत्तम हुने सम्भावना छ। हिमालमा हिउँ नै नभएपछि हाम्रा खोला नालामा पानी कहाँबाट आउँछ त ?’ उनले भने, ‘खोला नालाका मुहानमा पोखरी निर्माण गरेनौं भने हाम्रा भूभाग क्षेत्र सुक्खा हुनेछ। मरुभूमि जस्तो नाङ्गा डाँडा हुनेछ। रिचार्जको लागि सिमसार पोखरी संरक्षणको विकल्प छैन।’

रानी ताल रहेको स्थानभन्दा तल्लो क्षेत्रका गाउँहरूमा रहेको पानीका मूल सुकेका छैनन्। हिउँदमा मुहान सुक्नको पानीको मात्रा बढेको छ। रानी ताल १२० रोपनीमा संरक्षित छ। यहाँको पानी सुक्दैन। हिउँद र बर्खामा पानीको मात्रा एकनासको हुन्छ। रानी ताल संरक्षणकै कारण बुधुक र लोफादिन गाउँका सुकिसकेका अधिकांश मूहानमा पानी पलाएको चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बूले बताए। 

पाख्रिवास बजारनजिकै रहेको संसारीमाई सिमसार क्षेत्रको भौगोलिक अवस्था डेढदशक अघिसम्म अनकन्टार थियो। चारैतिर अलैंची घारी। झाँडीको जंगल थियो। तर, त्यहाँ पानीको मूल स्रोत देखेर जग्गाका संधियार मध्येका एक ज्ञानबहादुर गुरुङले त्यो पानीलाई व्यवस्थापन गरि पोखरी निर्माण गरे। सहकारी निकायको आर्थिक सहयोगमा अनकन्टार त्यो ठाउँ अहिले सिमसार क्षेत्र वनेको छ। सिमसार क्षेत्रमा रहेका पोखरीहरूले मूलमा पानी स्रोत बढाउने रिचार्जको काम गरेको छ।  

संसारीमाई सिमसारभन्दा मुनी सापकोटा निरौला गाउँ छ। त्यस गाउँमा १२-१३ घरधुरीको बसोबास छ। दोभान खोल्सीमा खानेपानीको मुहान छ। त्यो मुहान सुकिसकेको थियो। तर, संसारीमाई सिमसारका पोखरी संरक्षण भएपनि  मुहानमा पानी मात्रा वढेको छ। पहिले बर्खामा मात्र मुहानमा पानी पलाउथ्यो। तर, अहिले हिउँदमा पनि पानी पलाएको छ। अहिले त्यहि पानी सापकोटा निरौला गाउँका घरधुरीले उपभोग गरिरहेको स्थानीय भीम सापकोटाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.