अन्नपूर्णका कर्मचारीलाई सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्ड
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कमा कार्यरत रहेका कर्मचारीहरूलाई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले भर्चुअल क्रेडिट कार्ड सुविधा प्रदान गर्ने भएको छ।
मंगलबार तिनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको हेडक्वार्टरमा आयोजित एक समारोहबीच अन्नपूर्ण मिडिया नेटवर्क र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबीच मिडिया उद्योगमै पहिलो पटक अन्नपूर्ण मिडिया नेटवर्कका कार्यरत रहेका कर्मचारीहरूलाई भर्चुअल क्रेडिट कार्ड प्रदान गर्ने सम्झौता भएको हो।
सम्झौतापत्रमा नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र सिटिजन्स बैंकका क्रेडिट विभाग हेड समिर अधिकारीले हस्ताक्षर गरेका थिए। हस्ताक्षर समारोहमा नेटवर्कका विभागीय प्रमुखहरू, सिटिजन्स बैंकका रिलेशन अफिसर विवेक श्रेष्ठसहितले सहभागिता जनाएका थिए।
‘हामीले बैंकिङ इन्डस्टीमै पहिलो पटक नयाँ प्रोडक्ट भर्चुअल क्रेडिट कार्ड ल्याएका छौं,’ सिटिजन्स बैंकका क्रेडिट विभाग हेड समिर अधिकारीले भने, ‘मिडिया उद्योगमा पहिलोपटक अन्नपूर्णमा यो कार्ड प्रयोगमा ल्याई सेवा प्रदान गर्न लागेका हौं।’
अन्नपूर्ण मिडिया नेटवर्कका कर्मचारीहरूको तलबको डेढ गुणा रकम कार्डमा लिमिट पाउँछन्। बैंकले न्यूनतम २० हजार रुपैयाँदेखि २ लाख ५० हजार रुपैयाँसम्म क्रेडिट लिमिट प्रदान गर्नेछ। फोनपे क्यूआरकोर्टबाट उनीहरूले सजिलै खर्चको भुक्तानी गर्न सक्नेछ। सहजै रूपमा कर्मचारीहरूले भर्चुअल क्रेडिट कार्ड पाउनेछन्।
‘सिटिजन्स बैंकसँगको सहकार्यमा हामीले मिडिया उद्योगमा पहिलो पटक कर्मचारीलाई लक्षित गरि भर्चुअल क्रेडिट कार्ड योजना सञ्चालन ल्याएका हौं,’ अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक बस्नेतले भने, ‘यसबाट हाम्रा कर्मचारीहरू आवश्यकता परेको अवस्थामा तुरुन्तै खर्च भुक्तानी गर्न सक्नेछ।’
प्रतिक्रिया दिनुहोस !