मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन संघद्वारा अन्तरक्रिया
काठमाडौं : नेपाल विज्ञापन संघ (आन) ले आफ्नो स्थापनाको ३६औँ वार्षिकोत्सका अवसरमा मन्थ अफ क्रियटिभिटी कार्यक्रम अन्तर्गत आज एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
परिवर्तनशील मिडिया परिदृश्य र निरन्तर रूपान्तरणकारी विज्ञापन व्यवसाय शीर्षक दिइएको उक्त कार्यक्रम काठमाडौंमा आयोजना गरिएको थियो।
एड्सारो नेपालको सहयोग तथा एड क्लब नेपाल र आईएए नेपालको सहकार्यमा आयोजित कार्यक्रममा नेपाली मिडिया र विज्ञापन बजारमा विकसित भइरहेका नयाँ आयाम र चुनौतीहरू माथि सम्बन्धित क्षेत्रका दक्ष, र अनुभवी विज्ञहरूले छलफल तथा विचार विमर्श गरेका थिए। अन्तरक्रिया कार्यक्रममा प्रविधिको तीव्र विकासले सिर्जना गरेका चुनौती र ती चुनौतीहरूलाई अवसरमा बदल्न नेपाली विज्ञापन व्यवसायी तथा पेशाकर्मीहरूले चालेका सकारात्मक कदमहरू बारे विशेष चर्चा भएको थियो ।
उपभोक्ताहरू फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता डिजिटल र सामाजिक सञ्जालमा केन्द्रित हुँदा परम्परागत सञ्चार माध्यमहरू (टेलिभिजन, प्रिन्ट र रेडियो)मा आउने विज्ञापनको हिस्सा घट्दै गएको र बजार असन्तुलित बनेको कुरालाई मुख्य चुनौतीका रूपमा औँल्याइयो ।
नेपालमा एआई, डाटामा आधारित मार्केटिङ र डिजिटल मार्केटिङका लागि आवश्यक दक्ष जनशक्तिको अभाव रहनु र शहरी तथा ग्रामीण क्षेत्र बीचको डिजिटल साक्षरताको खाडल विज्ञापन क्षेत्रको अर्को ठूलो चुनौतीका रूपमा छलफलमा सहभागीहरूको ठम्याई थियो।
तमाम चुनौतीहरूका बीच पनि नेपाली विज्ञापन एजेन्सी र उद्यमीहरूले परम्परागत शैलीलाई छोडेर द्रुत गतिमा डिजिटल र इन्फ्लुएन्सर मार्केटिङलाई अँगाल्दै नेपाली बजार अनुकूल र स्थानीय भाषा–संस्कृति सुहाउँदो सिर्जनशील डिजिटल सामग्री निर्माणमा व्यवसायीहरूले सक्रियता बढाएकोमा विज्ञापन व्यवसायी तथा पेशाकर्मीहरुको सकारात्मकतालाई सहाराना गरियो ।
आर्टिफिसियल इन्टेलिजेन्स र डीपफेक जस्ता अत्याधुनिक प्रविधिले ल्याउन सक्ने भ्रामक विज्ञापनको जोखिमलाई न्यूनीकरण गर्न जोड नेपालका विज्ञापन पशाकर्मीहरूले आचारसंहिता निर्माण, स्वनियमन र नवप्रवर्तनकारी प्रविधिको जिम्मेवार प्रयोगमा जोड दिनु पर्ने कुरा समेत छलफलमा सहभागीहरूले औल्याए।
छलफलपश्चात कार्यक्रममा संघको सदस्य एजेन्सी एडसारो नेपालका अध्यक्ष सुजन अधिकारीले विज्ञापनमा आधुनिक प्रविधिको प्रयोग सहित डिजिटल प्लेटफर्महरुमा विज्ञापन वितरण गर्ने सम्बन्धी कम्पनीले विकास गरेको प्रविधि र यसका उपयोगिताहरूका बारेमा एक विशेष प्रस्तुतीकरण दिएका थिए।
कार्यक्रमको अन्त्यमा, एडसारो नेपालले विकास गरेको प्रविधिले विज्ञापन उद्योगलाई मात्र नभएर समग्र नेपाली मिडिया तथा विज्ञापनदाताहरूलाई समेत सजिलो, किफायती हुनुका साथै विज्ञापनको प्रभावकारीता मापन र पारदर्शिताको विकास गर्न सहयोग पुग्ने कुरा व्यक्त गर्दै आनका अध्यक्ष सुदीप थापाले सम्पूर्ण सहयोगी संस्था र सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे।
प्रतिक्रिया दिनुहोस !