काभ्रेको धुलिखेलमा विश्व युवा सम्मेलन सुरु, विभिन्न ५१ देशबाट युवा सहभागी
काभ्रे : धुलिखेलमा बिहीबारबाट ‘विश्व युवा सम्मेलन २०२५ सुरु भएको छ। जिल्ला समन्वय समितिको आयोजनामा काठमाडौं विश्वविद्यालय परिसरमा भएको सम्मेलनमा विश्वका ५१ देशका १ सय ५० भन्दा बढी युवाको सहभागिता रहेको आयोजकले जनाएको छ।
सम्मेलनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख दीपक कुमार गौतमले सम्मेलनले निराश युवाहरूलाई नयाँ आशाको रक्तसञ्चार गर्ने दाबी गरे। उपस्थित युवाहरूको विभिन्न समूहमा गरिने छलफलबाट निकालिएका निष्कर्षको पूर्ण विवरण तयार गरी त्यसलाई राष्ट्रको नीति निर्माणको तहमा रहेको सरकार र संयुक्त राष्ट्र संघ लगायतका निकायहरूमा युवाहरूको नीति तयार गर्ने वेलामा समावेश गर्न आग्रह गर्दै पेश गर्ने उनले बताए।
दैनिक हजारौं संख्यामा युवाहरूले देश छोड्दै गर्दा युवाहरूमा आशा जगाउने र विश्वभरिका युवाहरूलाई नेपालको प्राकृतिक सौन्दर्य तथा यहाँका विविध संस्कृति चिनाउने र उनीहरूबाट नयाँ कुराहरू सिक्ने सिकाउने कामको प्रयत्न गर्ने प्रमुख गौतमले बताए।
यो महोत्सवमा विभिन्न छलफल सत्रसँगै ५० भन्दा धेरै कार्यक्रम हुनेछ। खेलकुद, सांगीतिक समारोह, सांस्कृतिक कार्यक्रम, पर्यटन, प्रदर्शनीहरू लगायतका कार्यक्रम यसमा समेटिएको छ। सो क्रममा शिक्षा, स्वास्थ्य, कानुन, मानवअधिकार, जलवायु परिवर्तन, सूचना प्रविधि र एआई कृतिम बुद्धिमत्ता लगायत २५ वटा विषयवस्तुमाथि छलफल हुने जनाएको छ।
सम्मेलनको समापनमा धुलिखेल घोषणापत्र जारी गर्ने र त्यसले विश्वभरिका युवाहरूमा बौद्धिक विमर्श गर्नमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।
चार दिनसम्म चल्ने सम्मेलनमा ५१ देशका युवा र देशभित्रका गरी ७५० जनाको सहभागिता रहने जिल्ला समन्वय समितिले जनाएको छ। युवा सम्मेलनमा भारत, रुस, बंगलादेश, भुटान, श्रीलंका, बेलायत, बेल्जियम नेपाल लगायतका कलाकारहरूको प्रस्तुति रहने छन्। काठमाडौं विश्वविद्यालयमा हुने महोत्सवमा फिल्म, साहित्य, संगीत, स्वास्थ्य, शिक्षा, राजनीति विषयमा ४ दिनसम्म छलफल चल्ने छन्।
प्रतिक्रिया दिनुहोस !