महामारीविरुद्धको पर्व

महामारीविरुद्धको पर्व
फाइल तस्बिर।

काठमाडौं उपत्यकामा सीमित यो मौलिक जात्रा घोडेजात्रा संसारकै भिन्न प्रकारको छ, अतुलनीय नै। टुँडिखेलको पूर्वीभागमा शक्तिपीठ प्रसिद्ध भद्रकालीको विशेष क्षेत्र छ। खासै मन्दिर नभए पनि नेपालका शासकहरू र स्थानीय मात्रै नभएर देशैभरिका भक्तजनको ओइरो लाग्ने त्यो पीठको वरिपरि अहिले नयाँ संरचना भनौं पर्खाल, कोठाहरूको पुनर्निर्माण भइरहेको अवस्था छ। राष्ट्रप्रमुख सरिक भई मनाइने घोडेजात्रा यिनै देवीलाई देखाउने परम्परा हो। दसैंमा त शक्तिपीठहरूको दर्शनको क्रममा लाखौं भक्तजन यहाँ दर्शनार्थी भई आउने गर्छन् भने देशका कार्यकारी प्रमुखहरू पनि दर्शनका लागि जाने चलन छ।

देशैभरि अपशकुन नहोस्, दुर्भिक्ष नहोस् भन्दै काठमाडौंका एक तान्त्रिक गुरु शाश्वत बव्र भारतको कामरुकामाक्ष पुगे, त्यहाँकी देवीको शक्तिलाई तन्त्र विद्याद्वारा यहाँ ल्याए। तर शुचि गर्ने क्रममा तिनले देवीलाई हालको जमलमा बिसाए, शुचिपछि देवीलाई बोक्न खोज्दा उनले मानिनन्, म यहीँ बस्छु भन्दा तिमीलाई अलिक पर टुँडिखेल नजिक राख्छु र संसारमै कतै नभएको घोडचढीको प्रदर्शन गराउँछु, तिमी खुसी हुनेछौं भनी शाश्वत बज्रले देवीसँग अनुनय विनय गरेपछि देवी उठिन् र उनले भनेअनुसार यहाँ राखेर पूजाआजाको चलन चलाइयो। तर मन्दिर नबनाउने प्रचलन भने पुरानै हो यहाँ।

सेनाले सरकारी स्तरबाटै हालसम्म यो जात्रा चलाउने चलन छ। शास्त्रका अनुसार अश्वयात्रा, कृष्णयात्रा, कुनै पनि रथयात्रा, गजयात्रा, गोयात्रा गरिएको स्थान शुद्ध हुन्छ र त्यहाँको माटोले कुनै अपशकुन हुँदैन भन्ने छ र घोडेजात्रा गरेपछि वर्षभरि कुनै रोग, महामारी, उपद्रव नहुने मान्यता छ। अघि काष्ठमण्डपमा एक टुँडी भन्ने राक्षसनी रहिछ र उसले अबोध साना नानीहरूलाई खाइदिने, बच्चाहरू हराउने यस्तो भएपछि त्यसको खोजी गर्दा यहाँ राक्षस भएकाले यसो हुन गएको थाहा पाएपछि सबैले मिलेर उसको खोजी गरे, पक्रेर खाल्डो खनी यहीँभित्र पुरे, पछि फेरि यो माटो माथि नआओस् भनी टुँडिखेलमा बलिया घोडा दौडाउने प्रचलन सुरु गरियो, जुन अद्यापि छ।

जात्रा सुरु हुनुपूर्व सेनाको बग्गीमा राखी हनुमान ढोकाबाट जीवित कुमारीलाई यहाँ ल्याइन्छ, सलामी दिइन्छ र जात्रा देखाइन्छ। पहिलेका राजा महाराजाहरू भद्रकाली दर्शनका लागि जाँदा घोडचढीबाट जाने गर्थे, अहिलेको जस्तो सवारी सुविधा थिएन। राणा प्रधानमन्त्री विदेश गएका बेला घोडचढी देखेकाले यहाँ पनि त्यसको प्रबन्ध गर्ने इच्छाअनुसार अश्वकलाको प्रदर्शनी प्रधानमन्त्री जुद्धशमशेरको पालाबाट सुरु भएको आकलन गर्न सकिन्छ। यद्यपि मध्यकालमा मल्लराजाहरू पनि धर्मभीरु थिए देवदेवीहरूसँग सिधै वार्ता गर्ने क्षमता राख्थे र कैयन जात्राहरू उनीहरूबाटै देशमा सुरु गराइएका प्रसंगहरू छन्। हाम्रो इतिहास वीरताको छ र घोडालाई वीरताको प्रतीक मानिएको छ।

भक्तपुरको बिस्केट जात्रा ऐतिहासिक छ भने पूर्वीभेग साँखुमा बज्रयोगिनीलाई बजारमा ल्याएर एक सातासम्म रथ घुमाउने परम्परा छ। गोरखकाली जात्रा, रातो र सेतो मत्स्येन्द्रनाथको रथयात्रा, यता देवपत्तनमा वत्सलाजात्रा भव्यताका साथ मनाइन्छ। जोरपाटीमा चामुण्डा जात्रा यतिबेलै मनाइन्छ। टोखाको सपनातीर्थमा यतिबेलै भव्य जात्रा मनाइने चलन छ। समग्रमा भन्नु पर्दा देश संस्कृति र चाडपर्व अनि देवालय, मठमन्दिरले नै संसारभरि चिनिएको छ। पर्यटन क्षेत्रको विकासको आधार भन्नु हाम्रो यही नै हो, हिमाच्छादित भूगोल पनि र अपार जलस्रोत, झर्नाहरूले पनि हामी विश्वसामु चिनिएका छौं, पर्यटक त्यसैका लागि आउँछन् यहाँ। गोरक्ष गोरखनाथ, गोरखकाली अरू कति धेरै छन् हाम्रा पर्व विशेषका देव देवी बा जात्रामात्राहरू।

घोडेजात्रा मनाउनु पूर्व चतुर्दशीका दिन पिशाच चतुर्दशी पर्व मनाइन्छ। फागु पर्वपछि चैत्र शुक्ल अष्टमीका दिन पशुपति क्षेत्रवाट एक शिव लिंग ल्याई काठमाडौंको ब्रह्मटोलको बुद्ध बिहारमा राखी ‘लुकुमाद्यो’ अर्थात् नेवारी परम्पराअनुसार लुकेका देवता भनी पिशाच चतुर्दशीमा स्नान गराई तामसी खाना खुवाउने गरिन्छ। यस दिन शिवगण प्रेत, पिशाचहरूलाई पूजाआजा गरेमा देशैभरि रोग, व्याधि, कष्ट, हैरानी व्यहोर्नु नपर्ने भनाइ छ। काठमाडौं नक्साल भगवती, पशुपतिको वत्सला, जयवागेश्वरी र चाबहिल गणेशस्थानमा विशेष जात्रा मनाइने पिशाच चतुर्दशीका दिन काठमाडौंका पुराना नेवारहरूले ‘पाशाचह्रे’ पर्व मनाउँने गर्छन्। प्रत्येक टोल, बस्तीमा महादेव लुकेर बसेका छन् भनी घरआँगन सफा सुग्घर गरी टोल सुरक्षार्थ रहेका क्षेत्रपाल स्वरूप शिवको आराधना गर्छन्। सर्वेश्वर शिव त अग्नि स्वरूप हुँदै हुन्, आगोमा जे जुन वस्तु हाले पनि जल्छ पच्छ। एकपटक शिव परिवारमा ठाकठुक परेछ, अर्धांगिनी पार्वती रिसाइछन् र उनले भोले बाबालाई ‘तिमीले मांसाहार गर’ भनिछन्। भोलेबाबाले पनि पिशाचको रूप लिएर मांसाहार गर्न थालेछन्, त्यही सम्झनास्वरूप यस दिनलाई पिशाच चर्तुदशी भनिन थालिएछ।

काठमाडौं क्षेत्रमा धेरै देवदेवीहरू छन्, असंख्य मूर्तिहरू पनि। नक्साल भगवती र जयबागेश्वरी देवीलाई दिदीबहिनीको रूपमा लिइन्छ। चैत्र मासमा यहाँ विशेष जात्रा हुने गर्छ। प्राचीन इतिहासअनुसार काठमाडौंकै नरदेवी, म्हैैपी, भद्रकाली, असनकी देवी, संकटा, आदि पनि एकै सन्तति हुन्। एकै सन्तानमध्ये काठमाडौंकै लुतेदेवी र उनको परिवार गरिब रहेछ पहिले। दिदीबहिनीहरूले भोजभतेर गर्ने, मीठा, रसिला खाना खाने, खुवाउने, राम्रो गर्ने तर लुतेदेवी भने आफ्नो गरिबीको कारण यसो गर्न नसकेकोमा चिन्तित भइछन्, एकपटक। अपमानसमेत खेपेकी लुतेदेवीले एक दिन आफ्नो खानेकुरामा सर्प देखिछन् र विषालु खाना सबै फाल्न लाग्दा खाना फालेको ठाउँ वरिपरि सवै ठाउँ सुनै सुनको भएछ र त्यही सुनका कारण अरू सरह आफू पनि धनी भइछन्। उता दिदी बहिनीहरूले पालै पालो आफ्नो तडकभडक देखाउँदै गरेछन्, देखासिकीकै कारण लुतेदेवीले पनि आफ्नो छुट्टै जात्रा चलाउन थालिछन्। यसै क्रममा आएको हो पशुपतिको अर्को पर्व बाला चतुर्दशी, महिना मंसिर कृष्ण चतुर्दशी। यसै क्रममा काठमाडौंमा थपिएको हो चैत्र कृष्ण चतुर्दशीमा मनाइने भनौं पाशाचह्रे पर्व, पिशाच चतुर्दशी पनि।

देशको राष्ट्रियता भन्नु केवल भूगोलमात्रै होइन, त्यहाँको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा, रहनसहन, समग्रमा देशको आफ्नै सभ्यता र चिनारी हुन्छ। विदेश जाँदा थाहा हुन्छ हामी कति भरिपूर्ण छौं भनेर। इतिहासको विरासत बोकेको हाम्रो संस्कृतिले नै हाम्रो परिचय दिने हो, मास्नु हुन्न भत्काउनु हुन्न बरु पूर्खाको देनप्रति गौरव गर्नु पर्छ। हामीले नयाँ पुस्तालाई हाम्रो संस्कार, संस्कृति हस्तान्तरण गर्न जानेका छैनौं, पुस्तान्तरण भइरहेको छैन। पुरानो सबै कुरा नराम्रो हुन्न, ओल्ड इज गोल्ड भन्ने उखान नै छ।
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.