कांग्रेस महामन्त्रीले भने : तीनकुनेको हिंसात्मक घटनामा नागरिक मर्दा निर्मल निवासलाई किन दुखेन ?
उनले पूर्वपञ्चहरूलाई संवैधानिक राजतन्त्र किन चाहियो ? भन्दै प्रश्न गरे।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुनेको हिंसात्मक घटनामा नागरिक मर्दै गर्दा निर्मल निवासलाई अलिकति पनि नदुखेको बताएका छन्। सोमबार प्रतिनिधि सभामा बोल्दै सांसद शर्माले तीनकुनेमा घटनामा सबैले शोक व्यक्त गर्दा निर्मल निवासले किन गरेन भन्दै प्रश्न उठाएका हुन्।
‘तीनकुने घटनामा सविन महर्जन श्रमजीवि युवा र पत्रकार सुरेश रजकको मृत्यु भयो। सबैले दुःख व्यक्त गरे। राजनीतिक दल सबैको वक्तव्य आएको छ। तोडफोड हुँदा सबैको मन दुख्यो। तर निर्मल निवासलाई दुःखेन।’ शर्माले भने,‘नागरिक मर्दै गर्दा धेरैलाई दुख्यो। तर निर्मल निवासलाई दुखेन। राजा ल्याउँछु भन्ने युवालाई म भन्न चाहन्छु। तीनकुनेलाई दुख्दै गर्दा, तपाईंको मन दुख्दै गर्दा, हृदय नदुख्ने तपाईं कस्तो राजाको परिकल्पना गर्दै हुनुहुन्छ।’
सांसद शर्माले शाहवंशीय राजाहरूमा संवैधानिक राजा भएर बस्न सक्ने गुण नभएको दाबी गरे। शर्माले अब राजतन्त्र देशमा नफर्कने उल्लेख गरे। राजतन्त्र सक्रिय बनाएर लाभ लिएका पञ्चहरूले अहिले संवैधानिक राजतन्त्र भनिरहेको उनको भनाई छ। उनले राजतन्त्रको बेला स्थिर सरकार थियो भन्ने दाबी पनि सत्य नभएको बताए।
उनले पूर्वपञ्चहरूलाई संवैधानिक राजतन्त्र किन चाहियो ? भन्दै प्रश्न गरे। उनले भने, ‘हिजो कांग्रेसले संवैधानिक राजतन्त्रलाई आदर्श बनाएर त्यसका लागि लड्दै गर्दा कांग्रेसलाई गोली ठोकिएको होइन ? राजद्रोहको मुद्दा लगाएर जेल हालेको होइन ? सर्वस्व हरण गरिएको होइन ? तपाईंले ल्याउन चाहेको राजाले दलीय व्यवस्था निलम्बन गर्दा पनि गिरिजाबाबुले सबैलाई स्थान दिने भनेर ढुंगा खान तयार भएको होइन ?’
उनले राजतन्त्र हटेपछि नेपाल विकासको बाटोमा अघि बढेको दाबी गरे।
अदालतको विषयमा प्रधानमन्त्रीले किन जवाफ दिएको ?
महामन्त्री शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषय अदालतमा पेस गरिसकेको उल्लेख गरे। उनले अदालतमा प्रवेश गरिसकेको विषयलाई प्रधानमन्त्रीले संसद्मा किन जवाफ दिएको भन्दै प्रश्न गरे। ‘कुलमान घिसिङको विषय अदालतको विषय भइसकेको कारण प्रतिपक्षीले समय माग्यो किन ? सभामुखले समय दिनुभयो किन ? प्रधानमन्त्रीले अदालतमा छलफलका क्रममा रहेका विषयमा जवाफ दिनुभयो किन ? यसो भन्दै गर्दा पनि आम नागरिकलाई तिमी अदालतको फैसला चाहन्छौँ किन राजा भन्दै गर्दा नागरिकले अदालतको फैसला नै लोकतन्त्रमा सर्वोपरी हुन्छ भन्छन्।’
प्रतिक्रिया दिनुहोस !