भैरहवा ल्याइयो सांसद बोहराको पार्थिव शरीर, भोलि काठमाडौं लगेर आर्यघाटमा अन्त्येष्टि गरिने
भैरहवा : रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दीपक बोहराको पार्थिव शरीर भैरहवा ल्याइएको छ। मंगलबार बिहान काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो । श्रद्धाञ्जलीका लागि उनको पार्थीव शरीर गृहनगर भैरहवामा ल्याइएको हो।
श्रद्धाञ्जलीका लागि मंगलबार उनको शव आफ्नै निवास (पार्टी कार्यालय) मा राखिने र भोलि बिहान काठमाडौँस्थित पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेर आर्यघाटमा अन्तिम संस्कार गरिने राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए। उनका अनुसार अन्त्येष्टिका लागि पार्थिव शरीर पुनः मंगलबार साँझ काठमाडौं लगिनेछ।
कोरोना महामारीको दोस्रो लहरमा संक्रमित भएका बोहराको केही समयपछि स्वरमा केही परिवर्तन देखिएको थियो। जाँच गराउँदा पोस्ट कोभिडका कारण घाँटीमा क्यान्सर भएको पत्ता लागेको थियो। उनको स्पीच थेरापी उपचार हुँदै आएको थियो।
प्रतिक्रिया दिनुहोस !