बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔं : परराष्ट्रमन्त्री राणा

बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔं : परराष्ट्रमन्त्री राणा
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) जनकेन्द्रित र विकासमुखी जीवन्त संस्थाका रूपमा अघि बढ्नुपर्ने बताएकी छन्।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित छैटौं बिमस्टेक समिटको पूर्वसन्ध्यामा आज इन्डिया फाउन्डेसनद्वरा आयोजित तेस्रो बिमस्टेक डायलगलाई सम्बोधन गर्दै उनले बिमस्टेक जनताका आशा, अपेक्षा र समस्यामा काम गर्नसक्ने एक जीवन्त क्षेत्रीय संगठनका रूपमा रहनुपर्ने जोड दिइन्।

'अहिलेका कुनै पनि क्षेत्रीय र विश्व संस्थाहरूले आफ्ना समस्याको पहिचान गरी तिनको समाधानका लागि सामूहिक प्रयास गर्न सक्नुपर्छ। जनताका समस्या एकातिर अनि उद्देश्य र प्रयास अर्कातिर भयो भने त्यस्ता संगठनहरू जीवन्त र जनताको भरोसा बन्न सक्दैनन्,' सम्बोधनका क्रममा उनले भनिन्।

विश्वभर खासगरी दोस्रो विश्वयुद्धपछि क्षेत्रीय कूटनीति र सहकार्यको लहर आएको र स्थानीय गतिशीलता, क्षेत्रीय पहिचान र अवसरका साथै विश्वव्यापीकरणमा अघि बढ्ने क्रममा क्षेत्रीय संगठनहरू जन्मिन पुगेका प्रसंग उनले उल्लेख गरिन्।

मन्त्री राणाले आफूले बिमस्टेकलाई एक बलियो साझेदारी मञ्चका रूपमा रूपान्तरण गर्नसक्ने आधारहरू देखेको र यसका लगि सबैभन्दा पहिला क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावना हुनुपर्ने बताइन्।

उनले भनिन्, 'जस्तो कि हामीले यस क्षेत्रमा सहकार्य गर्दैछौं भने सबैभन्दा पहिला त हामीले यहाँका आमा तथा बालबालिकाको रुग्ण स्वास्थ्य अवस्था, आमा तथा शिशु मृत्युको अवस्था, शासनका हरेक मोडलमा महिलाको उपस्थिति र महिला नेतृत्वको अवस्था, सामाजिक पछ्यौटेपन, जलवायु परिवर्तनले हामीलाई दिनप्रतिदिन थपिरहेको चुनौती आदिजस्ता विषयमा पहिला हेरौं र तिनको समाधानमा लागौं।'

उनले बंगालको खाडी क्षेत्र र त्यसभन्दा बाहिर समेतको क्षेत्रीय शान्ति, एकता र वातावरणीय दिगोपना प्रवर्द्धनमा बिमस्टेकको भूमिका महत्त्वपूर्ण रहेको बताइन्। 'क्षेत्रीय शान्ति र एकताका लागि बिमस्टेकको प्रमुख भूमिकालाई नेपालले सदा स्वीकार गरेको छ। यस क्षेत्रको सामूहिक समृद्धिका लागि बिमस्टेकको सिद्धान्त र उद्देश्यप्रति नेपाल प्रतिबद्ध छ,' उनले भनिन्।

उनले सदस्य राष्ट्रहरुबीचको सामूहिक सहकार्य र जनता-जनताबीचको सम्पर्कका माध्यमबाट संस्कृति र पर्यटनको प्रवर्द्धन, गरिबी निवारण, जलवायुजन्य जटिलताको समाधानका लागि बिमस्टेक राष्ट्रहरूबीच अर्थपूर्ण सहकार्य हुनुपर्ने पक्षमा नेपाल रहेको स्पष्ट पारिन्।

उनले भनिन्, 'बिमस्टेकलाई जीवन्त तथा जनता केन्द्रित संस्था बनाउनका लागि विकास साझेदारहरू र संयुक्त राष्ट्रसंघ लगायत अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यलाई बढावा दिनुपर्छ।'

बिमस्टेक भित्रको क्षेत्रीयताको प्रमुख उत्प्रेरक भनेको यस क्षेत्रको अर्थतन्त्र, स्रोतसाधन, संस्कृति, समाज र जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउनु रहेको बताउँदै उनले प्रशस्त प्राकृतिक स्रोतसाधन र युवा जनसंख्या भए पनि बिमस्टेक त्यस रूपमा अझै अघि बढ्न नसकेको बताइन्। 

बिमस्टेक फ्रेमवर्कभित्र स्वतन्त्र व्यापार क्षेत्र, कनेक्टिभिटी, बिमस्टेक गुरुयोजना, बौद्ध सर्किट, मन्दिर सर्किट, इको-टुरिजम सर्किट र अन्य पहलहरूलाई समेत समेटेर विकासका क्षेत्रमा अघि बढ्नुपर्ने पनि उनले सुझाव दिइन्। 

मानव संसाधन विकास, नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्राथमिकतामा राखेर ठूलो जनसंख्याको आवादीका रूपमा रहेको यस क्षेत्रले युवा र गतिशील जनसंख्याबाट लाभ लिनसक्नुपर्ने र क्षेत्रीय चुनौतीको सामना गर्न हाल विकसित एआइले ल्याएको नवीन प्रविधिहरूको प्रयोग र आदानप्रदानमा सहकार्य गर्नुपर्ने उनको भनाइ थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.