काठमाडौं लैजाँदै गरिएका ठगी मुद्दाका थुनुवा इटहरीबाट फरार

काठमाडौं लैजाँदै गरिएका ठगी मुद्दाका थुनुवा इटहरीबाट फरार
सुन्नुहोस्

विराटनगर : तेह्रथुमबाट काठमाडौं लैजाँदै गरिएका ठगी मुद्दाका एक जना थुनुवा सुनसरीको इटहरीबाट शुक्रबार दिउँसो फरार भएका छन्। 

सुनसरीको धरान उपमहानगरपालिका–१ घर भएका २५ वर्षीय धनबहादुर भुजेल इटहरीबाट दिउँसो ४ बजेतिर फरार भएको प्रहरीले जनाएको छ। तेह्रथुम प्रहरी प्रमुख डीएसपी लीलाराज लामिछानेका अनुसार भुजेलसहित तेह्रथुमको लालीगुराँस नगरपालिका–७ का ३२ वर्षीय डम्बरबहादुर लिम्बूविरुद्ध तेह्रथुमकै इलाका प्रहरी कार्यालय वसन्तपुरले ठगी मुद्दा चलाएको थियो। 

भुजेल र लिम्बू मिलेर दुई जनाको आठ लाख ५३ हजार रुपैयाँ ठगी गरेको लामिछानेले बताए। एक जनाको छ लाख ६७ हजार र अर्का एक जनाको एक लाख ८६ हजार रूपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ। 

पीडितलाई पैसा बुझाएर मेलमिलाप भएपछि जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमले दुवै जनाविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो। त्यसपछि लिम्बूलाई भने जिम्माजमानीमा छाडिएको डीएसपी लामिछानेले बताए। तर, फागुन २७ गते भोजपुरबाट पक्राउ परेका ठगी मुद्दाका अभियुक्त भुजेलविरुद्धको अर्को मुद्दा काठमाडौंमा जीवितै थियो। 

‘सीआरएस अध्ययन गर्दा लिम्बूविरुद्ध अन्तबाट मद्दा नचलेको पाइयो। त्यसपछि आफन्तको जिम्माजमानीमा छाडियो। तर, भुजेलविरुद्ध अनलाइनमार्फत ठगी गरेको आरोपमा साइबर ब्युरो काठमाडौंमा मुद्दा दर्ता भएको रहेछ। प्रहरीले अनुसन्धान सकेसँगै २०८० सालमा काठमाडौं अदालतमा मुद्दा दर्ता भएको पाइयो,’ प्रहरी स्रोतले भन्यो। काठमाडौं अदालतमा उपस्थित गराउनुपर्ने अभियुक्त भुजेललाई तेह्रथुमबाट प्रहरीले काठमाडौं लैजाँदै थियो। 

डीएसपी लामिछानेका अनुसार अदालतको नजरमा फरार अभियुक्त रहेका उनी काठमाडौं लैजाने क्रममा इटहरीबाट फरार भएका हुन्। काठमाडौं पुर्‍याएर साइबर ब्युरोको जिम्मा लगाउने तयारी थियो। असइ नेत्रप्रसाद बास्तोला र हवल्दार नवीनकुमार रायले भुजेललाई सार्वजनिक सवारीसाधनमा काठमाडौं लिएर गएका थिए। 

इटहरीबाट अर्को गाडी परिवर्तन गर्नुपर्ने थियो। इटहरीबाट रात्रि बसमा लैजाने तयारी थियो। गाडी परिवर्तन गर्ने क्रममा शौचालय जान्छु भन्दै प्रहरीलाई झुक्याएर भुजेल फरार भएको जानकारी डीएसपी लामिछानेले दिए। ‘काठमाडौं लैजाँदै गरिएका थुनुवा प्रहरीको आँखा छलेर भागेका हुन्,’ उनले भने, ‘कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय इटहरीलगायतका विभिन्न प्रहरी कार्यालयसँग समन्वय गरेर खोजी तीव्र पारिएको छ।’ 

खोजी जारी राखिए पनि फेला पार्न नसकिएको बताउँदै लामिछानेले कोही कसैले देखेमा प्रहरीलाई खबर गरिदिन सबैमा आग्रह गरेका छन्। भुजेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा १ लाख ९० हजार बिगो मागदाबीसहित ठगी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। अनलाइनमार्फत ठगी गरेको आरोपमा साइबर ब्युरोले उनीविरुद्ध मुद्दा चलाएको हो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.