भुटानले कागजात खोसेर नेपाल लखेट्यो

भुटानले कागजात खोसेर नेपाल लखेट्यो
झापामा पक्राउ परेका तीन भुटानी शरणार्थी । जसलाई अमेरिकाले भुटान डिपोर्ट गरेको थियो । तर, भुटानले स्वीकार नगरी सीधै भारतीय नाकामा ल्याएर छोडेको थियो, त्यहाँबाट उनीहरू झापा पुगेका थिए । अन्नपूर्ण फाइल

 झापा : अमेरिकाले निष्कासन गरेका भुटानी शरणार्थीमाथि प्रहरीले छानबिन जारी राखेको छ। अमेरिकाले निष्कासन गरी भुटानको पारो एयरपोर्टमा छोडेका उनीहरूलाई भुटानले लखेटेर भारतीय सिमागाउँ पठाएको थियो। त्यहाँबाट नेपाल प्रवेश गरेका चार जनलाई नेपाल प्रहरीले झापाबाट पक्राउ गरेको थियो। 

प्रहरीले चैत १६ गते ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी, ३६ वर्षीय रोशन तामाङ र चैत १८ गते ३० वर्षीय अशोक गुरुङलाई पक्राउ गरेको थियो।  काँकडभिट्टा नाकाबाट प्रवेश गरेका सुवेदी, तामाङ र दर्जी दमक नगरपालिका–३ बेलडाँगी शिविरबाट पक्राउ परेका थिए भने गुरुङलाई सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका–४ स्थित मिलनटुङ सीमा नाकाबाट लुकीछिपी पैदल छिरिरहेको अवस्थामा पक्राउ गरेको थियो।  

पक्राउ परेका चारै जना एक सातादेखि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा छन्। नागरिकता, परिचयपत्र वा पासपोर्ट साथमा नभएका उनीहरूमाथि अध्यागमन कार्यालय काँकडभिट्टाले अनुसन्धान गरिरहेको छ। अध्यागमन विभागको निर्देशनबमोजिम कागजातबिना नेपाल प्रवेश गरेका उनीहरूसँग बयान लिने र पुराना अभिलेख संकलन गर्ने काम भइरहेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले जानकारी दिए। 

अध्यागमन कार्यालयमा राख्ने व्यवस्था नभएकोले उनीहरूलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ। इलाकामा उनीहरूलाई छुट्टै कोठामा राखिएको छ। ‘बयान लिने काम पनि इलाकामै पुगेर गरिरहेका छौं,’ कार्यालय प्रमुख भट्टराईले भने, ‘अवैध रुपमा नेपाल प्रवेशको विषय केन्द्रित भएर अनुसन्धान गरिरहेका छौं।’ 

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगले  तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत उनीहरूलाई नेपालको बाटो हुँदै अमेरिका पठाएका थिए। ‘अमेरिका उड्नु अघि उनीहरू यहाँ बसोबास गरेका अभिलेखहरू पनि संकलन गरिरहेका छौं। बयानको क्रममा उनीहरूले पनि यहाँबाटै अमेरिका पुगेको बताउँदै आएका छन्’, उनले भने। 

आशिष सुवेदीको बुबा नारायणकुमार सुवेदी बेलडाँगी शिविरमै बस्दै आइरहेका छन्। अन्य तीन जनाको पनि आफन्तजनहरू यहाँ छन्। आफन्तजनहरू इलाकामै पुगेर उनीहरूसँग भेटघाट गरिरहेका छन्। ‘बयान र अभिलेखहरू संकलन गरेपश्चात् अबको दुई/तीन दिनमा प्रतिवेदन बनाएर अध्यागमन विभागमा पठाइदिन्छौ,’ भट्टराईले भने। 

उनीहरूलाई नेपालमै राख्ने वा उतै पठाउने बारेमा विभागबाट त्यस्तो आधिकारिक केही जानकारी आएको छैन। विभागमा प्रतिवेदन पठाएपछि उतैबाट यस बारेमा निर्णय लिने उनको भनाइ छ। अमेरिकाले निष्कासन गरेका १० जना भुटानी शरणार्थीलाई भारतको दिल्ली हुँदै थिम्पुको पारो विमानस्थल मार्च २७ तारिखमा ओरालेका थिए। भुटानले उनीहरूलाई एक रात पाँचतारे होटलमा लगेर राखेको थियो। भोलिपल्ट उनीहरूलाई जनही भारु ३०/३० हजारका दरले खर्च थमाउँदै र भारतीय नम्बरको ट्याक्सी भुटानमै बोलाएर रिजर्भ गरी भारत–भुटानको फुन्छ्योलिङ–जयगाउँ नाका हुँदै पूर्वी नेपालको काँकडभिट्टा–पानीट्यांकी नाकामा ल्याएर छाडिदिएका थिए। भुटानले उनीहरूलाई बिना कागजपत्र पठाइदियो। 

१० जनामध्ये छोरासहित तीनजना मेची नदी तैरिएर शुक्रबार राति १० बजे शिविर आइपुगेको आशिष्का बुबा नारायणकुमार सुवेदी बताए। शिविर आएपछि उनीहरूलाई रातभर राखेर भोलिपल्ट प्रहरीको जिम्मा लगाएको उनको भनाइ छ। सन् २०१५ मा तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत दुई छोरा, छोरी–ज्वाइँ अमेरिका पुगेका थिए। 

१० वर्षदेखि म एक्लै शिविरमा बस्दै आएको छु, नारायणले भने, ‘अमेरिकाले छुट्टाछुट्टै स्थानबाट १० जनालाई न्युयोर्क पुर्‍याएर त्यहाँबाट भुटान सरकारसँग कुराकानी गरेर सोझै भुटान  पठाएको हो।’ 

भुटानले छलकपट गरी उनीहरूलाई नेपाल लखेटेको र कुनै कागजपत्र पनि नदिएको नारायणले गुनासो पोखे। भुटानले लखेटेकाहरू नेपालबाटै अमेरिका पुगेका हुन्। उनीहरू फेरि नेपाल आइपुगेकाले नेपाल सरकारले यही बस्ने व्यवस्था उनीहरूलाई मिलाइ दिनुपर्ने बताउँदै नारायणले भने, ‘आशिष मेरै छोरा हो, उसलाई मसँगै राख्नु पार्नुपर्‍यो।’ भुटानले खेदाउँदा उनीहरू नेपाल छिर्न बाध्य भए। उनीहरूले नेपालमा त कुनै अपराध गरेको छैन। उनीहरू दुई चोटी शरणार्थी भइसक्यो। ‘पहिले त भयो भयो, नेपाल सरकारले तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पठायो। अमेरिकाबाट फेरि भुटान पुगेका उनीहरूलाई भुटानले पुनः लखेट्यो’, उनले भने। 

प्रहरी नियन्त्रणमा रहेका अशोक गुरुङ छोरा आशिषसहितको १० जनाको लटमा आएका होइनन्। दुई जनालाई अमेरिकाले पहिलै निष्कासन गरी भुटान पठाइसकेको थियो। ती दुईमध्ये एक हुन् अशोक। अमेरिकाबाट निष्कासन गरिएकामा बुढासिंह गुरुङ, मैइतासिंह गुरुङ बहादुरसिंह राई, विदुर खड्का र रूपनारायण खरेल छन्। उनीहरू कहाँ कस्तो अवस्थामा छन् भन्ने खुलेको छैन।

साढे तीन दशकअघि भुटानले देश निकाला गरेपछि भुटानी शरणार्थीहरू भारत पश्चिम बंगालको बाटो हुँदै झापाको काँकडभिट्टा नाकाबाट नेपाल छिरेका थिए। हजारौंको संख्यामा भुटानी शरणार्थीहरू नेपाल छिरेपछि ठूलै समस्या उत्पन्न भएको थियो। ती भुटानी शरणार्थीहरूलाई झापा र मोरङमा शिविर बनाएर राखिएको थियो।  २०६३ देखि २०७३ सालसम्म एक लाखभन्दा बढी भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वासको योजनाअनुसार अमेरिका, अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड्स, न्यूजिल्यान्ड, नर्वे र बेलायत पुर्‍याइएको थियो।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.