कांग्रेसले भन्यो - आन्दोलनरत शिक्षकहरूका माग प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छ
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकहरूसँग सरकारले वार्ता गर्नुपर्ने बताएको छ। यसअघि शिक्षक महासंघ सरकारले गरेको सहमति र सम्झौताका आधारमा प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने कांग्रेस शिक्षा विभागले जनाएको छ।
कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले सोमबार विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलन र शैक्षिक हड्तालका कारण विद्यालयको पठनपाठन प्रभावित बन्न पुगेकाले सरकार प्रमुखले तत्काल वार्ता गर्नुपर्ने उल्लेख छ।
शैक्षिक सुधारका सम्बन्धमा सरकारसँग भएका सम्झौता र सहमति कार्यान्वयनका लागि विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग राख्दै देशभरका शिक्षकहरू आन्दोलित भएका छन्।
शैक्षिक हडतालमा उत्रिएका शिक्षकहरूले आज काठमाडौंको बबरमहल–माइतिघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् । महासंघले यसअघि आफूहरूसँग भएका सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ।
आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौमा केन्द्रीत भएका छन् । आफूहरूको मागका विषयमा प्रधानमन्त्रीले सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ ।
महासंघले घोषणा गरेको शैक्षिक हडताललाई विभिन्न शिक्षक संघले समेत समर्थन गरेको छ । शैक्षिक हडतालका कारण शैक्षिक गतिविधि प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस !