भारततर्फ खुलेआम बालुवा र गिट्टी तस्करी, सम्बन्धित निकाय मौन
विराटनगर : विराटनगर महानगरपालिका–१६ दरैया हुँदै भारततर्फ खुलेआम बालुवा र गिट्टी तस्करी भइरहेको छ। नेपाल–भारत सीमा क्षेत्रनजिकको दरैयाबाट लामो समयदेखि भारत जोगवनीको टिकुलिया बस्तीतिर मिलेमतोमा तस्करी भइरहेको हो।
दरैया–टिकुलियाबीचमा ट्याक्टरलगायत ढुवानीका साधनलाई आवतजावत गर्न सहज हुनेगरी बाटै बनाएर नदीजन्य पदार्थको नेपालबाट तस्करी भइरहे पनि नियन्त्रणका लागि सम्बन्धित निकायले चासो दिएका छैनन्।
दैनिक दर्जनौं ट्याक्टरको प्रयोग गरेर मिलेमतो र ‘सेटिङ’मा अत्यधिक तस्करी भइरहेको स्थानीय बताउँछन्। व्यापक तस्करी हुँदा पनि स्थानीयले खुलेर विरोध गर्न सक्दैनन्। डर र त्रास देखाएर तस्करको गिरोहले दबाबमा राखेको स्थानीय बताउँछन्। ‘सम्बन्धित निकायलाई सूचना दिँदा तस्करीमा संलग्न हाम्रो घर खोज्दै आइपुग्छन्। डर देखाउँदै अनेक धम्की दिएर जान्छन्। आफैं असुरक्षित भएपछि अवैध धन्दा टुलुटुलु हेरेर बस्नुको विकल्प हामीसँग छैन,’ एक स्थानीयले भने।
सीमा क्षेत्रका सर्वसाधारण निरीहजस्तै बन्नु परिरहँदा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र जनप्रतिनिधि चैं मौन छन्। उनीहरुले अनदेखा गरिरहँदा दरैया क्षेत्रमा लामो समयदेखि तस्करको रजगज चलिरहेको छ। सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारीमा रहेको सशस्त्रलाई प्रत्येक सय मिटरको दुरीमा खटाइएको हुन्छ।
सशस्त्रकै आँखा अगाडिबाट बालुवा र गिट्टी भारत तस्करी भइरहे पनि रोक्न कुनै चासो नदिनु आश्चर्यको विषय भएको स्थानीयको भनाइ छ। प्रतिबन्ध लगाउँदै सरकारले नेपालबाट नदीजन्य पदार्थ भारत लैजान रोक लगाएको छ। तर, दैनिक दर्जनौं ट्याक्टरको प्रयोग गरेर खुलेआम बालुवा र गिट्टी भारत पुर्याइन्छ।
स्थलगत रिपोर्टिङमा दरैया पुग्दा अचम्मको दृश्य देखियो। सीमा क्षेत्रको दशगजानजिकै बालुवा र गिट्टी भण्डारण गरेर राखिएको छ। रुखले छेक्ने ठाउँमा थुपारेर राखिएको बालुवा र गिट्टी ४–५ जनाले धमाधम बेल्चाले ट्याक्टरमा भर्ने काम गरिरहेका थिए। ३ वटा ट्याक्टर लाइनमा थिए। बालुवा भरिसकेपछि एउटा ट्याक्टर त्यसलाई टिकुलिया पुर्याएर केहीबेरमै फर्कियो। पुनः बालुवा भरेर उतैतिर लाग्यो। बालुवा र गिट्टी ‘लोड’ गरेर दरैया–टिकुलिया गर्न एउटा ट्याक्टरलाई १ घण्टा पनि समय लागेन।
पछिल्लो समय दरैया बालुवा र गिट्टी तस्करीको ‘ट्रान्जिट’ बनिरहेको छ। सशस्त्र प्रहरीसँग ‘सेटिङ’ मिलाएरै रातदिन बालुवा र गिट्टी तस्करी हुने गरेको विभिन्न तथ्यहरुबाट पुष्टि हुन्छ। यदि ‘सेटिङ’ नभएको भए आँखै अगाडिबाट तस्करी हुँदा सशस्त्रले रोक्ने थियो। बरु उल्टै स्थलगत रिपोर्टिङमा पुगेकाको निगरानीमा सशस्त्र सक्रिय भयो।
तस्करी रोक्नुपर्ने सशस्त्र उल्टै सीमा क्षेत्र पुगेका नयाँ व्यक्तिको निगरानीमा चैं सक्रिय हुने गरेको पाइयो। स्थलगत ‘रिपोर्टिङ’मा पुग्दा पनि सशस्त्रले त्यही भूमिका निर्वाह गर्यो। बालुवा र गिट्टी तस्करी नियन्त्रणमा ध्यान नै छैन। तस्करीमा संलग्नहरु पनि नयाँ व्यक्ति देख्नसाथ सोधीखोजी गर्न थालिहाल्छन्। हप्कीदप्की नै गर्छन्। नेपाल ‘आफ्नै मात्र हो’ भनेजस्तो व्यवहार देखाउँछन्। फोटो र भिडियो खिच्न दिँदैनन्।
स्थानीयका अनुसार दरैयाबाट नरेश यादवको समूहले बालुवा र गिट्टीको व्यापक धन्दा चलाइरहेको हो। विभिन्न क्रसरबाट खरिद गरिएको नदीजन्य पदार्थ सीमा क्षेत्रमा भण्डारण गरेर टिकुलिया कटाउने धन्दामा उनको समूह विगत लामो समयदेखि सक्रिय छ। स्थानीयका अनुसार यादवकै समूहले सीमा क्षेत्रमा ट्याक्टर कुदाउन सहज हुने गरी बाटो बनाएको हो। यादवले भने आफूले बाटो बनाएको अस्वीकार गरे। ‘यहाँ पहिलेदेखि नै बाटो बनाइएको थियो। मैले हैन। वारपार गर्ने बाटो त चाहियो नि। अलिअलि काम गरौं भन्दा पारिपट्टी एसएसबी (भारतीय सीमा सुरक्षा बल)ले अवरोध गर्छ। नेपालमा पनि धेरैलाई मिलाउनुपर्ने हुन्छ। अहिले काम राम्रो चलेको छैन,’ उनले भने।
उनले नेपाल र भारत दुवैतर्फ ‘सेटिङ’ मिलाएपछि मात्रै काम सहज हुने बताए। यादवको समूहले अहिले मात्रै नभएर लामै समयदेखि बालुवा र गिट्टीको तस्करी गरिरहेको छ। क्रसर उद्योगमा उत्पादित बालुवा र गिट्टी सीमा क्षेत्रमा भण्डारण गरेर भारत लैजाने गरिएको यादव स्वीकार गर्छन्। दरैयामा बालुवा र गिट्टी तस्करीकै लागि बनाइएको बाटो केही वर्षअघि प्रहरीले डोजर लगाएर भत्काएको थियो। प्रहरीले भत्काए पनि पुनः बाटो बनाएर धन्दा सञ्चालन गरियो।
नेपालको बालुवा र गिट्टीको भारतमा माग अत्यधिक हुन्छ। भारतको भन्दा गुणस्तरीय हुने हुँदा महँगो मूल्यमा बिक्री हुने सुरक्षा स्रोतले बतायो। ‘नेपालको नदीजन्य पदार्थ गुणस्तरीय हुने हुँदा भारतमा अत्यधिक माग छ। मूल्य पनि दोब्बर पाइन्छ। नेपालमा ४ हजार प्रतिट्याक्टरमा खरिद गरिने बालुवा भारत पुर्याउँदा ५ हजार भारु (नेपाली ८ हजार) दिइहाल्छन्। त्यही भएर ‘सेटिङ’मा तस्करी हुने गरेको हो,’ स्रोतले भन्यो।
स्थानीयका अनुसार निर्वाध रुपमा भइरहेको बालुवा र गिट्टी तस्करीमा सुरक्षा निकायदेखि सरोकारवालाकै सहयोग छ। गिरोहले तस्करीका लागि राम्रै रकम खर्च गरिरहेको उनीहरुको बुझाइ छ। सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजेश घिमिरेले बालुवा र गिट्टी तस्करी रोक्न लगाइसकिएको बताए। ‘तस्करी हुने गरेको थाहा पाएँ। त्यसपछि काम रोक्न लगाएको छु। अझै पनि तस्करी भइरहेको पाइयो भने सीमा क्षेत्रमा खटिने सशस्त्रमाथि कारबाही हुन्छ। तस्करको समूहसँग कुनै सम्झौता हुँदैन,’ घिमिरेले भने। तर, घिमिरेले भनेजस्तो तस्करी रोकिएको छैन।
विराटनगर–१६ का वडाध्यक्ष उद्धवकुमार भुजेल खुला सीमाको फाइदा उठाएर तस्करी हुने गरेको स्वीकार गर्छन्। वडाध्यक्षकै संयोजकत्वमा सीमा निगरानी समिति बनाइएको छ। समितिमा सुरक्षा निकाय, जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि हुन्छन्। समितिले नियमित रूपमा अनुगमन गर्दै सीमा क्षेत्रको वस्तुस्थितिका बारेमा जानकारी राख्नुपर्ने हुन्छ। अनुगमन गर्दै दशगजा अतिक्रमण, चोरी–तस्करीलगायतका अवैध गतिविधि, हातहतियार एवं लागुऔषधको ओसारपसार र कारोबार नियन्त्रणमा भूमिका खेल्नुपर्ने जिम्मेवारी समितिको हो। तर, नदीजन्य पदार्थको व्यापक तस्करी भइरहँदा समितिले नियन्त्रणका लागि कुनै भूमिका खेलेको पाइँदैन। त्यसमा पनि ‘सेटिङ’ रहेको स्थानीयको बुझाइ छ।
वडाध्यक्ष भुजेलले बेलाबखत सीमाको अनुगमन हुने बताए। बाटो नै बनाएर खुलेआम तस्करी हुँदा नियन्त्रणका लागि समितिले किन भूमिका नखेलेको ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘खुला सीमाको फाइदा उठाए होलान्। हामी पनि सीमामा बिहान–बेलुका घुम्छौं। आँखाको अगाडि गर्दैनन्। जतिबेला पनि वडाध्यक्ष सीमा रुँगेर बस्ने कुरा भएन।’ सानोतिनो चोरी–तस्करी रोक्न सम्भव नहुने भुजेलको भनाइ छ। ‘हामी जनप्रतिनिधि आफ्नै काममा हुन्छौं। सीमा क्षेत्रमा जतिबेला पनि सुरक्षाकर्मी हुन्छन्। तस्करी रोक्नुपर्ने दायित्व उनीहरुको हो। चोरी–पैठारी नहोस् भनेर नै रातको समयमा बल्ने गरी बिजुली बत्ती जडान गरिदिएका छौं,’ उनले भने।
वडाध्यक्ष भुजेलले बाटो नै बनाएर बालुवा गिट्टी तस्करी भइरहेको विषयमा भने अनभिज्ञता प्रकट गरे। स्थानीय स्तरमा रोक्न सम्भव नभएपछि चोरी तस्करी भइरहेको कुरा माथिल्लो तहसम्म पुर्याइएको उनको भनाइ छ। ‘सम्बन्धित ठाउँमा जानकारी गराइसकेका छौं। रोकिन्छ भन्ने आश गरौं,’ भुजेलले भने। बालुवा र गिट्टी तस्करी हुने गरेको जानकारी आएपछि रोक्नका लागि सुरक्षाकर्मी परिचालन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनले विराटनगरको बाटो हुँदै बालुवा र गिट्टी तस्करी हुने गरेको पहिलोपटक आफूले थाहा पाएको बताए।
प्रतिक्रिया दिनुहोस !