स्ववियु निर्वाचन : दार्चुला बहुमुखीमा नेविसंघ र गोकुलेश्वरमा अनेरास्ववियु विजयी
दार्चुला: सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत पर्ने जिल्ला सदरमुकाम खलङ्गामा रहेको दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा गठबन्धनका साझा उम्मेदवार नेपाल विद्यार्थी सङ्घका प्रकाश बडू र गोकुलेश्वर बहुमुखी क्याम्पसको सभापतिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवार सुनिल डाँगा विजयी भएका छन्।
दार्चुला बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ खसेको कुल मत ४४९ मध्ये गठबन्धनका साझा उम्मेदवार नेविसंघका प्रकाश बडूले २२२ मत प्राप्त गरी विजयी भएका हुन्। अनेरास्ववियुका खडकसिंह ठगुन्नालाई ३१ मतले पराजित गर्दै नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनबाट नेविसंघका प्रकाश बडू प्यानलसहित विजयी भएका सहायक क्याम्पस प्रमुख एवं निर्वाचन अधिकृत करन सिंह साउँदले बताए ।
बडूका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका खडकसिंह ठगुन्नाले १९१ मत प्राप्त गरेका थिए भने सभापतिमा स्वतन्त्र उम्मेदवार अनिलचन्द्र जोशीले २० मत मात्रै प्राप्त गरेका छन्।
गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सुनिल डाँगा विजयी
यस्तै जिल्लाको अर्को क्याम्पस गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सुनिल डाँगा विजयी भएका छन्। उनी प्रत्यक्षतर्फ खसेको कुल २३० मतमध्ये १०५ मत प्राप्त गर्दै विजयी भएका निर्वाचन अधिकृत रमेशचन्द्र जोशीले जानकारी दिए। गोकुलेश्वरमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनका साझा उम्मेदवार नेविसंघका नरेश विष्टले १०२ मत प्राप्त गरेका छन्। ३ मतले नेविसंघले हार बेहर्नु परेको हो।
जिल्ला सदरमुकाम खलङ्गामा रहेको दार्चुला बहुमुखी क्याम्पसमा ४८५ मतदाता छन् भने गोकुलेश्वर बहुमुखी क्याम्पसमा २६४ मतदाता छन्।
मतदान निकै शान्त र मर्यादित ढंगले सम्पन्न भएको क्याम्पस प्रमुख नरेन्द्रराज अवस्थीले बताए ।
प्रतिक्रिया दिनुहोस !