मर्स्याङ्दी जलविद्युत केन्द्रबाट ४० प्रतिशत मात्र उत्पादन
गोरखा : ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत केन्द्रबाट अहिले कूल क्षमताको ४० प्रतिशत मात्र विद्युत उत्पादन हुन थालेको छ। सुख्खायामका कारण पानीको बहाव घटेकाले ५० प्रतिशतभन्दा कम विद्युत उत्पादन भएको केन्द्रका सहायक प्रबन्धक शेरमहम्मद हुसेनले जानकारी दिए।
‘यस केन्द्रको कूल क्षमता १६५६ मेगावाट आवर हो। तर अहिले ७०० मेगावाट आवर उत्पादन भइरहकेको छ’, सहायक प्रवन्धक हुसेनले भने, ‘अर्को तरिकाले भन्नुपर्दा यस केन्द्रको क्षमता ६९ मेगावाट हो तर अहिले ३१ मेगावाट आवर मात्र उत्पादन भइरहेको छ।’
यो आयोजना पिकिङ रन अफ रिभर सिस्टमको हो। त्यसैले कुनैबेला कम र कुनै बेला पूर्ण क्षमतामा टर्बाइन चलाउने गरिएको हुसेनले बताए। ‘साँझ चारघण्टा र बिहान एकघण्टाचाहिँ पूर्ण क्षमतामा टर्बाइन चल्छ’, उनले भने, ‘अरु बेलामाचाहिँ कहिले ५० मेगावाट, कहिले ४० मेगावाट पनि उत्पादन हुन्छ।’
विद्युत प्राधिकरणबाट सञ्चालन भएको सो आयोजना प्राधिकरणको केन्द्रको निर्देशनअनुसार सञ्चालन हुने बताइएको छ। ‘पिक आवरमा यति क्षमतामा सञ्चालन गर भनेर माथिबाट जे आदेश आउँछ, त्यही गर्ने हो’, हुसेनले भने, ‘वर्षा भयो अथवा हिउँ पग्लिएर मर्स्याङ्दीमा पानीको बहाव बढ्यो भने उत्पादनको क्षमता पनि बढ्नेछ।’
प्रतिक्रिया दिनुहोस !