गाँजा खेतीको सम्भाव्यता
औषधीय प्रयोग, मनोरञ्जन र अन्य कामका लागि विश्वमा शताब्दीऔं अघिदेखि गाँजा खेती प्रयोगमा ल्याइएको बोध हुन्छ। पछि यसलाई नशालु पदार्थको रूपमा अंगीकार गरी केही देशहरूमा प्रतिबन्ध लगाइयो। गाँजाको पात, फूल र रेसाबाट धेरै आर्थिक लाभ प्राप्त गर्न सकिन्छ।
हाल पनि नेपालबाट हेम्पबाट बनेका सामान निर्यात गरिन्छ। यी सामानहरू तयार गर्ने दर्जनौं संस्थाहरू यहाँ रहेका छन्। तर, यहाँ गाँजा खेती गर्नु अवैधानिक भएकोले यी संस्थाहरूले कच्चा पदार्थको लागि चीन तथा अन्य देशहरू माथि भर पर्नु परेकोले बेलाबेलामा समस्या भोग्नु परेको छ।
वस्तुतः गाँजाको रेशाबाट बनाइएको कपडा अन्य कपडाभन्दा महँगो हुन्छ। परन्तु, यो कपडा धेरै टिक्ने हुनाले मागअनुरूप वितरण गर्न सकिएको छैन। केही विकसित देशहरूको अनुभवबाट गाँजा खेतीबाट प्रशस्त आम्दानी गर्न सकिने कुरा प्रस्ट भएको छ। तसर्थ, नेपाल सरकारले पनि आवश्यक कानुनी व्यवस्था मिलाई उक्त खेतीमा लगाएको प्रतिबन्ध फुकाउने भएको छ। परन्तु, यससम्बन्धी काम अझसम्म पनि अगाडि बढाउन सकिएको छैन।
संसदीय समितिले गाँजा खेतीसम्बन्धी ऐन बनाउने भनिए पनि सरकारले हालसम्म पनि यसको मस्यौदा बनाउने काम तीव्र रूपले अगाडि बढाउन सकेको छैन। यद्यपि, संसद्मा गैरसरकारी विधेयकको दर्ता गरिएको छ। वास्तवमा उक्त खेतीबाट यथाशीघ्र फाइदा प्राप्त गर्न वर्तमान सरकारको विशेष चासोको खाँचो छ। नेपालमा गाँजाको प्रतिबन्ध लगाउनु अघि यहाँको आर्थिक लाभको लागि यसको प्रयोग गरिन्थ्यो। हाल पनि यहाँका ग्रामीण क्षेत्रमा यसबाट कपडा, झोलालगायत अन्य वस्तुहरू उत्पादन गरी आयआर्जन गरिन्छ। वस्तुतः गाजाका विभिन्न प्रजातिहरू हुन्छन्। जसमध्ये केही मात्र नशालु हुन्छन्। विशेषतः आयुर्वेदिक औषधिहरूमा यसको प्रयोग प्रचुर मात्रामा गरिन्छ। नेपालमा पनि आयुर्वेदिक औषधिहरूमा यसको प्रयोग गरिन्छ।
गाँजाबाट तेल उत्पादन गरिन्छ। जुन महँगो हुन्छ। यो हाड जोर्नी दुखेको बेला प्रयोग गरिन्छ। गाँजा खेतीबाट धेरै आर्थिक लाभ प्राप्त गर्न सकिन्छ। तसर्थ, आजकल विश्वका धेरै देशहरूमा यसको खेती गर्न प्रश्रय दिन थालिएको छ। कुनै समय गाँजा खेतीको प्रतिबन्ध लगाउन अग्रसर संयुक्त राज्य अमेरिका हाल यसको प्रतिबन्ध हटाई आर्थिक लाभ गर्न सफल भएको छ। यसैगरी, क्यानडाले पनि यसको खेतीबाट केही आम्दानी गर्न थालेको छ।
नेपालमा गाँजा खेतीसम्बन्धी मनन् गर्दा यहाँ धेरै वर्ष अघिदेखि गाँजा खेती गरेको बोध हुन्छ। त्यसैबेलादेखि नै काठमाडौंस्थित सिंहदरबार बैद्यखानामा उत्पादित आयुर्वेदिक औषधिहरूमा प्रयोग गरिएको पाइन्छ। यतिमात्र नभई काठमाडौंको ठमेल र झोछेंमा अवस्थित होटल, गेस्ट हाउस, लज र रेस्टुराहरूमा गाँजाका विभिन्न परिकारहरू तयार गरी विदेशी पर्यटकहरू आकृष्ट गरिन्थ्यो। यसको केही वर्षपछि मात्र यहाँ गाँजाको खेती एवं प्रयोग गर्न गैरकानुनी मान्न थालियो। वास्तवमा लागुऔषधसम्बन्धी विश्वव्यापी सन्धिलाई नेपालले समर्थन गरेपछि यहाँका ग्रामीण क्षेत्रमा गरिँदै आएको गाँजा खेतीलाई गैरकानुनी मान्न थालियो।
नेपालमा गाँजालाई लागुपदार्थको रूपमा वर्गीकरण गरिएकोले यहाँ खेती गर्न निषेध गरिएको हो। यद्यपि, यहाँका केही ग्रामीण क्षेत्रमा हालसम्म पनि यसको खेती लुकिछिपी गरिन्छ। जुन कुरा प्रहरीहरूले उक्त क्षेत्रमा उक्त बाली बेलाबेलामा नष्ट गरेको खबरबाट प्रष्ट हुन्छ। वस्तुतः लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४(१) अनुसार नेपालको पश्चिमी पहाडी भेगमा प्राकृतिक रूपमा आफैं उम्रने गाँजाको बोटबाट तोकिएको अवधिसम्मको लागि चरेस उत्पादन, संकलन, सञ्चित गर्ने र खरिद बिक्री गर्ने सम्बन्धमा नेपाल सरकारले नियम बनाई उपयुक्त व्यवस्था गर्न सक्नेछ। जसअनुसार अनुमति प्राप्त गरी कसैले कुनै काम गर्दा उक्त दफाअन्तर्गत अपराध गरेको मानिने छैन। यसबाट गाँजासम्बन्धी अनुसन्धानमा सघाउ पुग्नेछ।
यसैलाई आधार मानी हालसालै गृह मन्त्रालयले तत्काल अध्ययन अनुसन्धानका लागि मन्त्रिपरिषद्बाट निर्णय गरी गाँजा खेतीसम्बन्धी नियम बनाउने भएको छ। जसलाई आधार मानेर उक्त खेतीसम्बन्धी अनुसन्धान कार्य गर्ने भएको छ। गाँजाको औषधिजन्य प्रयोगको लागि गर्नुपर्ने अनुसन्धानका लागि नियम तथा नियमावली बनाई अगाडि बढ्न गृह मन्त्रालयले अवरोध गर्ने छैन। यसबाट पनि गाँजाको औषधीय प्रयोगसम्बन्धी अनुसन्धानमा टेवा पुग्नेछ।
यथार्थतः ४० देखि ८ हजार ८ सय ४८ मिटर उचाइमा अवस्थित नेपालमा विद्यमान हावापानीमा विभिन्न किसिमका खेती गर्न सकिन्छ। यहाँ उपयुक्त कानुनी व्यवस्था गरी गाँजा खेती गरिएमा भष्यिमा निकै नै आर्थिक लाभ प्राप्त गर्न सकिनेछ। वर्तमानमा नेपालका धेरै व्यक्तिहरूले गाँजा खेतीलाई वैधानिकता प्रदान गर्न माग गरेका छन् भने थोरैले मात्र यसको विरोध गरेका छन्। परन्तु, यहाँको नीति अनुसन्धान प्रतिष्ठानले उक्त खेतीलाई नियन्त्रित वैधता दिन सरकारलाई सिफारिस गरेको छ। जुन निःसन्देह स्वागतयोग्य छ। गाँजा खेतीबाट हानिभन्दा लाभ बढी हुने भएकोले यसको खेतीमा प्रतिबन्ध हटाई औषधिय प्रयोगको लागि बाटो खुलाउन आवश्यक भएकोले उक्त प्रतिष्ठानले वर्तमान सरकारलाई सकारात्मक सुझाव दिएको छ। अतः यसलाई यथाशीघ्र व्यवहारमा उतार्न जरुरी भएकोले सम्बन्धित पक्षको ध्यानाकृष्ट हुनुपरेको छ।
नेपालमा प्रत्येक वर्ष झन्डै पाँच लाख युवाहरू श्रम बजारका लागि तयार हुन्छन्। तर, यिनीहरूमध्ये थोरैले मात्र यहाँ रोजगारी पाउँछन्। बाँकी सबै रोजगारीका लागि विदेश जान बाध्य छन्। वस्तुतः यहाँ रोजगारीको मुख्य क्षेत्र कृषि हो। परन्तु, हालसम्म पनि यस क्षेत्रमा आवश्यक रोजगारीको व्यवस्था गर्न सकिएको छैन। बरु उपयुक्त समयमा मलजलको कमी, बढ्दो दैवी प्रकोप आदिको कारण यस क्षेत्रमा युवाहरूको आकर्षण घट्दो क्रममा छ।
धेरै वर्ष अघिदेखि यहाँका केही जिल्लाहरूमा घरेलु तथा साना उद्योगहरू सञ्चालनमा आए पनि बेलाबेलामा कच्चा पदार्थ तथा बजारको अभावको कारण सुचारु गर्न कठिन भएकोले यहाँका युवाहरूको ध्यानाकृष्ट हुन सकेको छैन। तत्कालीन सरकारले यहाँका २० लाख युवाहरूलाई स्वदेशमै रोजगारी दिन श्रम बैंकको अवधारणामा सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा जम्मा १ लाख ८० हजार युवालाई रोजगारी दिइएको कुरा प्रकाशमा आए पनि उनीहरूले औसतमा साढे बाह्र दिन मात्र रोजगारी पाएका थिए।
वास्तवमा गाँजा खेती जस्तोसुकै जग्गामा पनि गर्न सकिन्छ। त्यसकारण, यहाँका झन्डै सात प्रतिशत जग्गा बाँझो रहेकोले उक्त जग्गामा गाँजा खेती गरिएमा भविष्यमा एकातर्फ यहाँको केही युवाहरूलाई स्वदेशमै रोजगारी प्रदान गर्न सकिन्छ भने अर्कोतर्फ उक्त खेतीबाट यहाँको अर्थतन्त्रमा पनि केही योगदान पुग्नेछ। परन्तु, यसको लागि सम्बन्धित पक्षको प्रतिबद्धताको आवश्कयता छ। केही वर्षयता रुस–युक्रेन र मध्यपूर्वमा जारी युद्ध र केही मुलुकहरूले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धको कारण विशेषतः इन्धन र खाद्यवस्तुहरूको मूल्यमा उतारचढाव आइरहेको छ। यसको फलस्वरूप पेट्रोलियम, औद्योगिक कच्चा पदार्थ र खाद्यवस्तुहरूको मूल्यमा वृद्धि भई विश्वकै व्यापार गतिविधि एवं पुँजी प्रवाह प्रभावित भएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२४ मा विश्वको अर्थतन्त्रको वृद्धिदर ३ दशमलब २ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। सन् २०२३ मा विकसित देशहरूको आर्थिक वृद्धिदर १ दशमलव ६ प्रतिशतले वृद्धि भएको थियो भने सन् २०२८ १ दशमलब ७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। यसैगरी, सन् २०२३ मा ४ दशमलव ३ प्रतिशतले वृद्धि भएको उदीयमान तथा विकासशील देशहरूको अर्थतन्त्र सन् २०२४ मा ४ दशमलब २ प्रतिशतले वृद्धि हुने उक्त कोषको प्रक्षेपण छ।
विश्व अर्थतन्त्रमा विद्यमान परिवर्तनको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पनि प्रभाव परेको छ। भविष्यमा यहाँको आर्थिक सुधारको लागि गाँजा खेतीले महŒवपूर्ण भूमिका खेल्न सक्छ। काँडा नभएको गुलाफ हुँदैन भने जस्तै जुनसुकै खेतीको पनि केही न केही गुण तथा अवगुण दुवै हुन्छ। यसै गरी, गाँजा खेतीको पनि गुण तथा अवगुण दुवै हुन्छ। तर, उक्त खेतीको सदुपयोग गर्न सके कुनै पनि देशको अर्थतन्त्र सबलीकरणका लागि केही योगदान प्राप्त हुने कुरा केही विकसित देशहरूको अनुभवबाट ज्ञात भएको छ। नेपालमा आजसम्म पनि उक्त खेतीलाई वैध मान्ने वा नमान्ने भन्ने बारेमा निष्कर्षमा पुग्न सकिएको छैन।
वास्तवमा यहाँ उक्त खेतीलाई वैध मानी इच्छुक किसानहरूलाई खेती गर्न प्रोत्साहित गरेमा एकतर्फ यहाँ रोजगारीका अवसरहरू प्राप्त हुनेछन् भने अर्कोतर्फ यहाँको अर्थतन्त्र सुदृढीकरणका लागि पनि केही सघाउ पुग्नेछ। त्यसैले यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यान यथाशीघ्र आकृष्ट हुनु परेको छ।
प्रतिक्रिया दिनुहोस !