विराटनगरको एउटा मोबाइल पसल, जहाँ भइरहेको बारम्बार चोरी

विराटनगरको एउटा मोबाइल पसल, जहाँ भइरहेको बारम्बार चोरी
सुन्नुहोस्

विराटनगर : विराटनगर महानगरपालिका–९ महेन्द्र चोकमा रहेको सनराइज इन्टरप्राइजेज नामक मोबाइल पसल छ। महेन्द्र चोकबाट पूर्वतर्फ रहेको उक्त पसलमा बारम्बार चोरी भएको छ। शुक्रबार राति तेस्रोपटक चोरी भयो। यसअघि २ पटक चोरी भइसकेको छ। एउटै पसललाई लक्षित गरेर बारम्बार चोरी भइरहे पनि प्रहरीले घटनामा संलग्नको पहिचान गर्न नसकेको पसलका सञ्चालक मधु राईले बताए। 

राईले सामाजिक सञ्जालमा आफ्नो पसल चोरी भएको र प्रहरी प्रशासनबाट कुनै सहयोग नपाएको गुनासो पोखेका छन्। यसअघिको घटनामा सहयोग नपाएकै कारण पछिल्लो चोरीको जानकारी प्रहरी प्रशासनलाई नदिएको उनले बताए। 

प्रत्येक दिन राति ८:३० बजेतिर पसल बन्द गरेर घर जाने गरेको बताउँदै राईले भने, ‘शुक्रबार राति पनि सोही समयमा बन्द गरेर गएको थिएँ। तर, बिहान ९ बजेतिर पसल खोल्न आउँदा पसलभित्र सामान छरपस्ट थियो। पसलको माथिपट्टि रहेको सानो ‘भेन्टिलेसन’ फुटाएर चोर भित्र छिरेको पसेको रहेछ। यसबाहेक अन्यत्र ठाउँ नै छैन पसलभित्र पस्नका लागि। त्यही ‘भेन्टिलेसन’ भत्काएर पसेको चोरले सामान चोरेपछि त्यहीँबाट बाहिर निस्किएको हुनुपर्छ।’

विगतजस्तो धेरै मूल्यको सामान यसपटक चोरी नभएको उनले बताए। शुक्रबार राति चोरले करिब २०–२५ हजार जतिको मोबाइल चोरी गरेर लगेको उनको भनाइ छ। थोरै मूल्यको सामान चोरी भयो भन्दा पनि चोर पल्कियो भन्ने चिन्ता लागेको बताउँदै राईले भने, ‘मेरो पसलमा अहिलेसम्म तेस्रोपटक चोरी भइसकेको छ। 

२०७७, २०७८ र अहिले २०८१ गरेर ३ पटक चोरी भइसक्यो। यसअघि २ पटक चोरी हुँदा लाखौं रुपैयाँको विभिन्न ब्राण्डका मोबाइल, ट्याब, स्मार्ट घडी चोरी भएको थियो। त्यसपछि मैले महँगा मोबाइल पसलमा राख्न छाडे। घर जाँदा सुरक्षित ठाउँमा राख्ने गरेको छु। यसपटक सस्तो मोबाइल र घडी चोरी भएको छ।’

राईका अनुसार यसअघि चोरीका मोबाइल फेला परेनन्। चोर पनि प्रहरीले पत्ता लगाएन। मोबाइल पसलबाट यसअघि २ पटक लाखौं रुपैयाँ बराबरको नयाँ र पुरानो मोबाइल चोरी भएको र हालसम्म पनि चोरी गर्ने समूह प्रहरीले पत्ता लगाउन नसकेको पीडा उनले सुनाए। राईले भने, ‘प्रहरीले यसअघिकै घटना टुंगोमा पुर्याउन सकेन। त्यही भएर पनि यसपटक खबर गरिन। उनीहरुलाई खबर गर्यो भने आउने र सोधपुछ मात्रै गर्ने गर्छन्। अनुसन्धान प्रभावकारी नहुने भएकाले खबर गर्न उचित ठानिन।’

उनले राम्रोसँग अनुसन्धान गर्ने भएको भए यसअघि २ पटक पसल चोरी गर्नेलाई किन प्रहरीले पक्राउ गरेन ? भनेर प्रश्न गरेका छन्। ‘मेरो मात्रै होइन, भर्खरै मोरङको उर्लाबारीको मुख्य बजारमै रहेको मोबाइल पसलबाट करोडौं मूल्य बराबरका विभिन्न ब्राण्डका मोबाइल चोरी भए खै त त्यहाँको चोरी गर्ने गिरोहलाई पक्राउ गरेको,’ राईले भने। 

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले विराटनगरमा मोबाइल पसल चोरी भएको खबर प्रहरीलाई प्राप्त नभएको बताए। ‘घटनाको जानकारी आउनु पर्यो नि प्रहरी कहाँ। त्यहाँ चोरी भएको हो वा होइन भन्ने अहिले केही भन्न मिल्दैन। हाम्रो टोलीले सम्बन्धित ठाउँमा पुगेर प्रारम्भिक अनुसन्धान गर्न पाएकै छैन। त्यो मोबाइल पसल चोरी भएको भए पसल धनीले किन प्रहरीलाई खबर नगरेको ? उहाँले घटनाको जानकारी गराएपछि सहयोग नगरेको भए भन्न मिल्छ।’

पसल धनी राईसँग बुझ्दा थोरै रकमको भएकाले प्रहरीलाई खबर नगरेको बताए। उर्लाबारीको पसलबाट चोरी भएका धेरै मोबाइलहरु भारतीय प्रहरीको सहयोगमा त्यहाँबाट ल्याएर सम्बन्धित पसल धनीलाई बुझाएको एसपी चिमरियाले बताए। पछिल्लो समय विराटनगर महानगरपालिका क्षेत्रमा चोरीका घटना बढेका छन्। घरका साथै मोटरसाइकल चोरी व्यापक हुन थालेपछि प्रहरीले सक्रियता बढाएको छ। 

चोरी भएका केही मोटरसाइकल फेला पर्नुका साथै चोरीमा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको एसपी चिमरियाले बताए। प्रहरीको तथ्यांकअनुसार साउनदेखि हालसम्म विराटनगर क्षेत्रभित्रबाट ६० वटाभन्दा बढी मोटरसाइकल चोरी भइसकेको छ। चोरी भएका केही मोटरसाइकल प्रहरीले फेला पार्नुका साथै चोरीमा संलग्नलाई पनि पक्राउ गरेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.