विक्रमसंवत्को सान्दर्भिकता
विक्रमसंवत् नेपालको ऐतिहासिक, सांस्कृतिक र वैज्ञानिक पक्षलाई समेट्ने संवत् पनि हो । यसको प्रयोगले नेपाली समाजलाई एकताबद्ध राख्न मद्दत गरेको छ ।
विक्रमसंवत् नेपालको मौलिकताको धरोहर पनि हो । यो केवल समय मापन गर्ने यन्त्र होइन, हाम्रो इतिहास, धर्म, परम्परा, कृषि, शिक्षा, प्रशासन र सांस्कृतिक चेतनासँग जोडिएको जीवन पद्धति पनि हो । यसलाई भन्ने नै हो भने आधुनिकताको प्रभावका बाबजुद, हामीले हाम्रो मौलिकतालाई जोगाउने प्रयत्न गर्नुपर्छ । तबमात्र विक्रमसंवत्को संरक्षण र प्रवद्र्धन गर्नु भनेको नेपाली अस्मिताको रक्षा गर्नु पनि हो । आजको दिनमा हामीले यस संवत्को प्रयोगलाई गर्वका साथ अपनाउने हो भने मात्र यसमा भावी पुस्ताले आफ्नो मौलिक पहिचान जोगाउन सक्नेछ ।
जुन विक्रमसंवत् नेपाल र भारतीय उपमहाद्वीपको प्रमुख पारम्परिक पञ्चांग (क्यालेन्डर) हो । जसले ऐतिहासिक, धार्मिक र सांस्कृतिक अभ्यासहरूमा गहिरो प्रभाव पारेको छ । यो चन्द्र–सौर्य पद्धतिमा आधारित छ र नेपालमा आधिकारिक रूपमा प्रचलित छ । यसको नाम राजा विक्रमादित्यको नामबाट राखिएको मानिन्छ । जसले ५७ ईशापूर्वमा उज्जैन (वर्तमान भारत) मा यो संवत् स्थापना गरेको विश्वास गरिन्छ । तर, नेपालको सन्दर्भमा भने नेपालमा विक्रमसंवत्को प्रयोग १९०३ ईस्वीमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले साका संवत् (भारतीय शक संवत्) लाई प्रतिस्थापन गरेपछि बढ्यो । तसर्थ हाम्रो देशमा नयाँ वर्ष चैत्र शुक्ल प्रतिपदा (मार्च–अप्रिल) मा सुरु हुन्छ ।
तर नेपालमा वैशाख १ (अप्रिल १३–१५) लाई ‘नयाँ वर्ष’को रूपमा मनाइन्छ । फलत : आधुनिक नेपालमा विक्रमसंवत् (वि.सं.) र ग्रेगोरियन क्यालेन्डर (ई.सं.) दुवै प्रयोग हुन्छन् । यसरी सरकारी कागजात, शिक्षा र व्यापारमा दुवैलाई मान्यता छ । यस अर्थमा, विक्रमसंवत् जगेर्ना हाम्रो साझा कर्तव्य पनि हो र नेपाली हुनुको परिचयसहित सारा कुरालाई यसले उजागर गर्ने गर्छ । फलत : विक्रम् संवत् नेपालको मौलिक संवत् हो । जसले देशको सांस्कृतिक, ऐतिहासिक र धार्मिक पहिचानलाई झल्काउँछ । यसको इतिहास र महत्त्वलाई बुझ्न विभिन्न पक्षलाई समेट्न आवश्यक छ । यहाँ विक्रमसंवत्को ऐतिहासिक पृष्ठभूमि, यसको प्रारम्भ, विकास र नेपालमा यसको प्रभावबारे विस्तृत जानकारी प्रस्तुत गरिएको छ ।
विक्रमसंवत्को प्रारम्भ : विक्रमसंवत् राजा विक्रमादित्यको शासनकालसँग सम्बन्धित छ । यो संवत् भारतको उज्जैनबाट सुरु भएको मानिन्छ । यसमा राजा विक्रमादित्यले आफ्नो विजयको स्मरणमा विक्रमसंवत् प्रारम्भ गरेका थिए । यो संवत् इस्वी संवत्भन्दा ५७ वर्षअगाडि सुरु भएको थियो । यसमा नेपालमा विक्रमसंवत्को प्रयोग लिच्छविकालदेखि नै भएको प्रमाण पाइन्छ । जबकि लिच्छवी राजाहरूले यस संवत्लाई प्रशासनिक कार्यहरूमा प्रयोग गरेका थिए ।
सम्राट विक्रमादित्य र उनका योगदान : विक्रमादित्य नामका शासक विभिन्न समयमा विभिन्न क्षेत्रमा भएका भए पनि, विक्रमसंवत् प्रचलनमा ल्याउने विक्रमादित्यको उल्लेख प्राय : उज्जयिनीका राजा श्री विक्रमादित्यसँग गरिन्छ । उनलाई एक आदर्श राजा, पराक्रमी योद्धा र विद्वान्हरूको संरक्षकका रूपमा चित्रण गरिन्छ । उनकै दरबारमा नवरत्नहरू थिए, जसमा कालीदास, वराहमिहिर, धन्वन्तरी, अमरसिंह, वररुचि, शंख, घण्टकर्ण, गतिकर र शुक शास्त्रीजस्ता महान् विद्वान् थिए । विक्रमादित्यको योगदान केवल राजनीतिक मात्र नभई सांस्कृतिक पुनर्जागरणमा समेत महत्त्वपूर्ण थियो । उनले संस्कृत भाषाको प्रवद्र्धन, ज्योतिष, साहित्य र धर्मको संरक्षणमा विशेष ध्यान दिएका थिए ।
विक्रमसंवत् र समय गणना प्रणाली : विक्रमसंवत् सौर र चन्द्र–दुवै प्रणालीको संयोजनमा आधारित पात्रो हो । यसको महिनाहरू चन्द्रमासका आधारमा गणना गरिन्छ । तर वर्ष सौर चालमा निर्धारण गरिन्छ । यस प्रणालीले ऋतु अनुकूलतालाई ध्यानमा राख्दछ । जसले गर्दा धार्मिक पर्वहरू सटिक समयमा मनाउन सकिन्छ । यसर्थ विक्रमसंवत्को पहिलो महिना चैत्र हो । जसको सुरुआत वसन्त ऋतुमा हुन्छ । प्रत्येक वर्षमा १२ महिना हुन्छन् । यसरी चैत्र, वैशाख, जेठ, असार, साउन, भदौ, असोज, कात्तिक, मंसिर, पुस, माघ, फागुन हुन्छ । यसैगरी, तिथिहरू कृष्णपक्ष र शुक्लपक्षमा विभाजित छन् । जसले गर्दा पर्व, व्रत र पूजाहरूको निर्धारण गर्न सघाउँछ ।
नेपालमा विक्रमसंवत्को प्रचलन : नेपालमा विक्रमसंवत् संवैधानिक र प्रशासनिक रूपमा मान्य पात्रो हो । नेपाली सरकारले सबै सरकारी कागजात, पत्राचार, शैक्षिक सत्र, सार्वजनिक बिदा, राष्ट्रिय कार्यक्रम आदिमा विक्रमसंवत्को प्रयोग गर्छ । विशेषत : जनजीवनमा यसको प्रयोग अत्यन्त व्यापक छ । नेपाली नयाँ वर्ष चैत्र महिनाको अन्त्यमा सुरु हुने वैशाख १ गतेबाट सुरु हुन्छ । जुन राष्ट्रिय रूपमा उत्सवका रूपमा मनाइन्छ । यसरी देशमा भने राणाशासन कालदेखि नै सरकारी कागजातमा विक्रमसंवत्को प्रयोग सुरु गरिएको थियो । हाल जन्मदर्ता, नागरिकता, पासपोर्ट, शैक्षिक प्रमाणपत्र आदिमा विक्रमसंवत्को मिति प्रमुख रूपमा प्रयोग गरिन्छ ।
धार्मिक र सांस्कृतिक महत्त्व : विक्रमसंवत्को सबैभन्दा ठूलो महत्त्व यसको धार्मिक र सांस्कृतिक पक्षमा देखिन्छ । हिन्दु धर्मका सबै चाडपर्व, व्रत, पूजा, यज्ञ, विवाह संस्कार आदिको तिथि निर्धारण विक्रमसंवत्को आधारमा गरिन्छ । दसैं, तिहार, तीज, छठ, जनैपूर्णिमा, एकादशी, महाशिवरात्रि, रामनवमी, कृष्ण जन्माष्टमी आदि सबै पर्व विक्रमसंवत्का तिथिअनुसार मनाइन्छन् । यस प्रणालीले धर्मशास्त्रमा उल्लिखित ऋतु, नक्षत्र, योग, करण आदि पक्षलाई आधार मानेको हुँदा यसले धार्मिक विधिहरूको
शुद्धता सुनिश्चित गर्छ ।
विक्रमसंवत् र ग्रेगोरियन पात्रोबीचको अन्तर : विक्रमसंवत् र ग्रेगोरियन पात्रो (अर्थात् ईस्वी संवत्) बीचमा लगभग ५७ वर्षको फरक हुन्छ । जस्तै, विक्रमसंवत् २०८२ चलिरहेको बेलामा ईस्वी २०२५ चलिरहेको हुन्छ । ग्रेगोरियन पात्रो केवल सौर प्रणालीमा आधारित छ । जसले धार्मिक पर्वहरूको निर्धारण गर्न असहज बनाउँछ । जबकि विक्रमसंवत्ले चन्द्र सौर दुवै प्रणाली प्रयोग गर्दा धार्मिक कार्यहरू मिल्न सजिलो बनाउँछ । यद्यपि, विश्वव्यापी मान्यता प्राप्त पात्रो ग्रेगोरियन भएको कारण, अन्तर्राष्ट्रिय स्तरमा कार्य गर्दा ईस्वीको प्रयोग पनि अपरिहार्य हुन्छ ।
नेपालमा विक्रमसंवत्को विकास : नेपालमा विक्रमसंवत्को प्रयोग विभिन्न कालखण्डमा फरकफरक रूपमा भएको छ । लिच्छवि, मल्ल र शाह वंशका राजाहरूले यस संवत्लाई आधिकारिक रूपमा प्रयोग गरेका थिए । मूलत : चन्द्रशमशेरको पालामा विक्रमसंवत्लाई सरकारी कागजातहरूमा प्रयोग गर्न थालिएको थियो । यसले नेपालमा विक्रमसंवत्को महत्त्वलाई अझ बढायो ।
विक्रम संवत्को सांस्कृतिक महत्त्व : विक्रमसंवत् नेपालका विभिन्न सांस्कृतिक पर्वहरू र चाडपर्वहरूको आधार हो । यसमा पनि बिस्केटजात्रा, माघेसंक्रान्ति, ल्होसार र अन्य थुप्रै पर्वहरू विक्रमसंवत्कै आधारमा मनाइन्छन् । यसले नेपाली समाजलाई एकताबद्ध राख्न महत्त्वपूर्ण भूमिका खेल्छ ।
वैज्ञानिक पक्ष : विक्रमसंवत् प्रकृतिसँग पनि सम्बन्धित छ । यो संवत् सूर्यको गति र राशि परिवर्तनको आधारमा गणना गरिन्छ । जुन ज्योतिषीय हिसाबले विक्रमसंवत् वैज्ञानिक मानिन्छ । यसले दिन, महिना र वर्षको सही गणना गर्न मद्दत गर्छ ।
विक्रमसंवत्को वर्तमान प्रयोग : आज नेपालमा विक्रमसंवत् राष्ट्रिय पात्रोको रूपमा प्रयोग गरिन्छ । यसलाई सरकारी कागजात, शैक्षिक संस्थाहरू र दैनिक जीवनमा विक्रमसंवत्को प्रयोग व्यापक छ । यसले नेपाली पहिचानलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।
विक्रमसंवत् र राष्ट्रिय पहिचान : विक्रमसंवत् नेपालको राष्ट्रिय पहिचानको अभिन्न अंग हो । यो केवल एक पात्रो प्रणाली नभई, इतिहास, धर्म, संस्कृति र परम्पराको प्रतिनिधि हो । विक्रमसंवत्को प्रयोगले हाम्रो मौलिकता झल्काउँछ । जुन वैश्वीकरणको लहरमा अझै मजबुत बनाउन आवश्यक छ । विक्रमसंवत्को जगेर्ना र प्रचारले राष्ट्रिय आत्मसम्मान बढाउँछ र भविष्यको पुस्तालाई हाम्रो गौरवपूर्ण परम्परासँग परिचित गराउँछ ।
निष्कर्षमा भन्नुपर्दा, विक्रमसंवत् एक समृद्ध सांस्कृतिक धरोहर हो । जसले हजारौं वर्षदेखि हाम्रो समय गणनाको पद्धति, धार्मिक विधि, सामाजिक संरचना र राष्ट्रिय पहिचानलाई निरन्तरता दिँदै आएको छ । यसको ऐतिहासिक पृष्ठभूमि सम्राट् विक्रमादित्यको पराक्रम र सांस्कृतिक योगदानसँग जोडिएको छ । यसर्थ मुलुकमा यसको प्रयोग व्यापक र संस्थागत छ । जसले हाम्रो परम्परालाई अझै जीवित राख्न सहयोग पुर्याइरहेको छ । हामी सबैको कर्तव्य छ कि विक्रमसंवत्को प्रयोग, प्रचार र संरक्षणमा योगदान दिऔं, ताकि भविष्यका पुस्ताहरूले पनि यो गौरवशाली परम्परालाई सम्मानपूर्वक आत्मसात् गर्न सकून् ।
मूलत : विक्रमसंवत् नेपालको ऐतिहासिक, सांस्कृतिक र वैज्ञानिक पक्षलाई समेट्ने संवत् पनि हो । यसको प्रयोगले नेपाली समाजलाई एकताबद्ध राख्न मद्दत गरेको छ । यसरी विक्रमसंवत् केवल समय गणनाको साधन मात्र होइन, यो नेपाल र भारतको सांस्कृतिक एकताको प्रतीक पनि हो । यसको ऐतिहासिक यात्रा, धार्मिक महत्त्व र सामाजिक प्रासंगीकताले यसलाई हिमालय क्षेत्रको अमूल्य सम्पदा बनाएको छ । अत : विक्रमसंवत्को महत्त्वलाई अझ बढाउन यसको अध्ययन र प्रचारप्रसार आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस !