यस्तो बनोस् वर्ष २०८२

यस्तो बनोस् वर्ष २०८२

निकट भविष्यमै अति कम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदै छौं । यो खबर ८२ सालमै सुन्न पाइयोस् ।

नेपाल राष्ट्र बैंकले चालु आवको पहिलो आठ महिनाको अर्थतन्त्रको स्थिति सार्वजनिक गरेको छ । जसअनुसार औसत् मूल्यवृद्धि दर ३.७५ प्रतिशत छ । निकासी ५७.२ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ३१० अर्बले घनात्मक छ । विदेशी मुद्राको सञ्चिति १७ अर्ब अमेरिकी डलर छ । २०८२ सालमा यी सूचकहरूमा अझै बढोत्तरीको अपेक्षा गर्दछु ।

तर, नेपाल राष्ट्र बैंकका अनुसार हाम्रो राजस्व असुलीको वृद्धिदर, रेमिट्यान्स प्राप्तिको दर, आयातको वृद्धि, बैंकमा निक्षेप वृद्धिको प्रगति अपेक्षाकृत छैन । साथै, पुँजीगत खर्चको अवस्था नाजुक छ । आर्थिक क्रियाकलापमा सुधार आएको छैन । सरकारप्रतिको विश्वसनीयता खस्किँदो छ । यी कुरामा २०८२ सालमा आधारभूतरूपमै सकारात्मक सुधारको अपेक्षा गर्दछु ।

फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे लिस्ट’मा राखेको छ । यस्मा जिम्मेवार पदाधिकारीहरूले सम्पत्ति शुद्धीकरण र अन्तर्राष्ट्रिय आतंकवादका विरुद्धमा प्रचलित कानुनबमोजिम कडाइ गरून् । नेपालले गरेको प्रतिबद्धतामा ती मन, वचन र कर्मले कार्यान्वयनमा खरो उत्रिइऊन् । यसैगरी, करप्सन परसेप्सन इन्डिकेटरमा पनि नेपालले एक सय पूर्णाकमा ३४ अंकमात्रै हासिल गरेको छ । सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति घोषणा गरेको छ । यस्मा भनाइ र गराइबीच खाडल नहोस् । अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई आकलन गरिने अन्य सबै प्रकारका सूचकमा नेपालले सुधार गरी नेपाल र नेपालीको प्रतिष्ठा उच्चो गर्न तत् जिम्मेवार पदाधिकारीहरूलाई ८२ सालमा शत्बुद्धि जागृत हुने अपेक्षा गरेको छु ।

हाल मुलुकमा आर्थिक वृद्धि दरमा सुस्तता देखा परेको छ । बेरोजगारी समस्या चुलिँदो छ । मूल्यवृद्धि तथ्यांकमा कम देखिए पनि आम जनताको भान्छा महँगो हुँदै गएको छ । राजस्वले चालू खर्च थेग्न हम्मेहम्मे परेको छ । पुँजीगत खर्च नहुने दीर्घरोगले मुलुक आक्रान्त छ । लगानीको वातावरण संकुचन हँुदै गएको आभास हुन्छ । बिचौलियाको हालिमुहाली बढेको छ । आम जनतामा निराशा बढ्दो छ । यी सबै नकारात्मक पक्षहरू ८१ सालले आफ्नै साथमा राखोस् । ८२ साल यी सबै कमी कमजोरीबाट माथि उठी उत्साह र उल्लास पैदा गर्न सफल होस् भन्ने कामना छ ।

क्यालेन्डरको पाना होइन, जसरी नयाँ क्यालेन्डर नै ८२ सालबाट आरम्भ हुन्छ, सोही रीतले ८२ ले आम नेपालीको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन कोशेढुंगाको काम गरोस् भन्ने अपेक्षा गरिएको कुरा ८२ सालसँग सार्वजनिक रूपमा अपिल गर्दछु ।

आगामी आर्थिक वर्षमा झन्डै २० खर्ब आकारको बजेट बन्दैछ । यस्तो बजेटले आम जनतामा राहतको आभास दिँदै हरेक लगानीको प्रतिफल मापन गर्न सकिने होस् । नेताको कोटको खल्तीबाट निस्कने चिर्कटोमा लेखिएको योजना होइन, राष्ट्रिय योजना आयोगले तयार गरेको आयोजना बैंकबाट कार्यक्रमहरू छनोट हुन सकून् । खुद्रे योजनामा होइन राष्ट्रिय गौरवको योजना र रूपान्तरणकारी आयोजनामा विनियोजन परून् । राज्य प्रणालीसँग आशा गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा रहेका नागरिकको सेवासुविधा वृद्धि होस् । 

अर्थतन्त्रको संवाहक मानिएको निजी क्षेत्रमा उत्साह छाओस् । सहकारीमा बचत गरी रकम डुबेकाहरूको रकम फिर्ता होस् । आगामी दिनमा सहकारी संस्थामा हुन सक्ने कमीकमजोरीमा राज्य प्रणाली समयमै सजग होस् । आम युवा विदेश पलायन भै रेमिट्यान्स पठाएर देश चलाउनु पर्ने स्थितिमा सुधार भई आम युवा मुलुकमै बसी नेपाल आमाको सेवा गरी देशको विकास गर्न ८२ साल नेपालीका लागि शुभ होस् भन्ने कामना छ ।

वर्तमान अवस्थामा मुलुकमा चौतर्फी क्षेत्रमा राजनीति हाबी छ । ८२ सालमा अनावश्यक राजनीतिक हस्तक्षेप घटोस् । मिलिजुली सरकार सञ्चालन गर्ने र राजनीतिक दलबीच मुलुकका खासखास मुद्दामा समान धारणा निर्माण गर्ने राजनीतिक परिपक्वता ८२ सालमा वृद्धि होस् । 

करिब ४० प्रतिशतको हाराहारीमा रहेको अनौपचारिक अर्थतन्त्र ८२ सालमा निस्तेज होस् । अनावश्यक रूपमा बाहिरबाट पैसा ल्याएर नेपालीबीच नै वैमनश्यता खडा गर्ने गैससहरू ८२ सालमा बन्द हुन् । आपसी सद्भाव बिथोल्ने, गलत सूचना प्रवाह गर्ने, मुल्ुकमा भाँडभैलो मच्चाउन खोज्नेहरू ८२ सालमा थला परुन् । अति नै नकारात्मक चिन्तनबाट ग्रसितहरूलाई ८२ सालमा उपचार गरी लाभ पुर्‍याउन सकियोस् । पुँजी पलायन रोकियोस् । गैरकानुनी काम गर्नेहरू ८२ सालमा पक्राउ परुन् । सधैं व्यापारमा रमाउँदै आएको नेपालको निजी क्षेत्रलाई उद्योगमा लगानी गर्ने सोच पलाओस् । व्यापार घाटाबाट मुलुक सन्तुलनमा आउन निकासी बढोस् । यसका लागि आन्तरिक उत्पादन वृद्धि होस् भनी ८२ सालसँग निबेदन गर्न चाहन्छु ।

हामी निकट भविष्यमै अति कम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हँुदैछौ । यो खबर ८२ सालमै सुन्न पाइयोस् । नेपालका वायुसेवाहरूलाई युरोप उडानमा लागेको प्रतिबन्ध ८२ मा हटोस् । नेपालीहरूले विश्व भ्रमण गर्दा अनएराइभरल भिसा पाउने मुलुकहरूको संख्या ८२ मा दोब्बर होस् । बर्सेनि करिब १० लाख पर्यटक नेपाल आइरहेकोमा ८२ मा यस्को संख्या दोब्बर होइन, तेब्बर होस् । नेपालमा वित्तीय संघीयताले ८२ सालमा सास फेरोस् । हालको जस्तो प्रदेश र स्थानीय सरकार माथिको संघीय सरकारको दादागिरी घटोस् । संघीय र प्रदेश सरकारले निचोरेर स्थानीय सरकारलाई अनुदान दिने प्रणालीले ८२ मा विश्राम पावोस् । आर्थिक क्षेत्रलाई सबलीकरण गर्ने नियामक निकायहरूमा ज्युँदा मानिस नियुक्ति होऊन् । उनीहरूले नियामक निकायकै आभास दिने गरी काम गरून् । आम जनतामा आशा र भरोसा जागृत गर्न तिनीहरू सफल होऊन् । खुल्ला सिमानामा तस्करी गर्ने, न्यून विकीकरण गर्ने, हुन्डीको कारोबार गर्ने, सूचना लुकाउने, राष्ट्रको सम्पत्तिमा गिद्धे नजर लगाउनेहरू ८२ सालमा साढेसातको दशामा परुन् । ती उठ्नै नसक्ने गरी कुना परुन्, ८२ सालसँग यही अपेक्षा छ ।

८२ सालमा नेपालीको जीवनस्तरमा आधारभूत परिवर्तन आउन सकोस् । हाल मध्यम तहको मानव विकास सूचकांक भएको यो मुलुक उच्चमध्यम तहमा स्तरोन्नति हुन सकोस् । हालको ७६ प्रतिशतको साक्षरता दर ८२ सालमा कम्तीमा असी प्लस होस् । हाल मुलुकभित्र स्थापना भएका ७ हजार ८ सय ८५ वटा स्वास्थ्य संस्था ८२ सालमा कम्तीमा १० हजारमा विस्तारित हुन र तिनले गुणस्तरीय सेवा प्रवाह गरुन् । हालको एक लाखमा रहेको प्रसूतिका बखतको मातृमुत्यु दर १५१ लाई ५७ मा झार्न ८२ साल सार्थक वर्ष बन्न सकोस् । 

अझै पनि एक हजार जीवित जन्ममा रहेको १६ वटा मृत्युदरलाई शून्यमा ल्याउन ८२ साल संवाहक वर्ष बन्न सकोस् । हालको ३४ हजार २ सय ७२ किमिको सडक ८२ सालमा कम्तीमा ४० हजार किमिमा विस्तार होस् । ८२ सालमा काठमाडौं पोखरा, नारायणघाट भैरहवा खण्डको सडकको स्तरोन्नतिको काम सकियोस् । भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानहरू दैनिक आउन थालुन् । काठमाडौं–तराई फास्ट ट्र्याक र निर्माणाधीन सुरुङ मार्गहरू पनि यो वर्ष पूरा होऊन् । तराई हुलाकी सडक र रेलमार्ग सम्पन्न होस् । मध्यपहाडी लोकमार्गका बन्न बाँकी सडक पूरा हुन् । सिमीकोटसम्म पुग्ने राष्ट्रिय राजमार्गका सबै बाँकी काम पूरा हुन् । ८२ सालले आफूलाई पूर्वाधार निर्माण वर्ष कहलिन सफलता पाओस्, ८२ सँग यही अपेक्षा छ ।

अन्त्यमा, नेपालमा के छैन ? युरेनियम छ । यस्को निकासी सम्भव पार्न ८२ वर्ष शुभ रहोस् । नवलपरासीको धौबदीमा आरम्भ गरिएको फलाम खानीबाट ८२ सालमा निकासी गर्न सकियोस् । नेपालको रत्न पत्थर कटिंग गरी विश्व बजारमा निकासी गर्न ८२ साल सक्षम होस् । दैलेखमा उत्खनन भइरहेको स्थानमा पेट्रोलियम पदार्थको ठूलो भण्डार रहेको समाचार ८२ मा पढ्न र सुन्न पाइयोस् । नेपालका झरनाका पानी बोटलमा सिलप्याक भई विश्व बजारमा पुग्न सकुन् । 

नेपालको यार्सागुम्बालगायतको जडीबुटीको निकासीबाट हाम्रो विदेशी मुद्राको सञ्चिति बढोस् । नेपालमा विद्यमान करिब ३५ लाख हेक्टर खेतीयोग्य जमिनमा हालको प्रतिहेक्टर ३.५ मेट्रिकटन उत्पादनलाई दोब्बर तुल्याउन २० वर्षे एग्रिकल्चर डेभलपमेन्ट स्ट्राट्रेजी (एडीएस)को प्रभावकारी कार्यान्वयन होस् । क्यालेन्डरको पाना होइन, जसरी नयाँ क्यालेन्डर नै ८२ सालबाट आरम्भ हुन्छ, सोही रीतले ८२ ले आम नेपालीको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन कोशेढुंगाको काम गरोस् भन्ने अपेक्षा गरिएको कुरा ८२ सालसँग सार्वजनिक रूपमा अपिल गर्दछु ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.