नेपाली खेलकुद : गुनासो, दुःख र असहमतिले भरिएको वर्ष

नेपाली खेलकुद : गुनासो, दुःख र असहमतिले भरिएको वर्ष

काठमाडौं : नेपाली खेलकुदमा २०८१ केही मीठो सम्झना र केही खास भए। वर्षहरू फेरिए पनि राजनीतिले गाँजेको नेपाली खेलकुद खासै माथि भने जान सकेन। नेपाली खेलकुदले यो वर्ष केही उपलब्धि भने पक्कै हासिल गर्‍यो। १० वर्षपछि राष्ट्रिय क्रिकेट टिमले विश्वकप खेल्नु नेपालको लागि सबैभन्दा ठूलो उपलब्धि रह्यो।

२०८१ लाई फर्केर हेर्दा फुटबलमा भने महिला फुटबललाई नेपाली दर्शकले सम्झनेछन्। घरेलु मैदानमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको त्यो नाटकीय ‘थ्रिलर’ले भरिपूर्ण खेल सम्झनामा रहनेछ। 

एरिका गुरुङले यो वर्ष पनि विभिन्न अन्तर्राष्ट्रिय खेलमा पदक जितिन्। तर, कराँते संघ भने विवादमा तानियो। विप्लव लाल श्रेष्ठले संघका अध्यक्ष युवराज लामाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै अन्तर्राष्ट्रिय करिअरबाट सन्यास लिए। 

नेपाली भलिबलमा नेपाली महिला राष्ट्रिय टिमले पुनः घरेलु मैदानमा फाइनलमा भारतसँग पराजित हुँदै उपाधि गुमाउनु पर्‍यो। केही नाम चलेका खेलाडी विदेश पलायन भए। राष्ट्रिय टिमका कप्तान मान बहादुर श्रेष्ठ, टेकराज अवस्थी, विजय थापासहित आधा दर्जन खेलाडी विदेशिए। नेपाली महिला टिमकी पहिलो रोजइमा खेलिरहेकी स्पाइकर सरस्वती चौधरी एपीएफको जागिर नै छाडेर विदेशिइन्। प्रतिभा माली राष्ट्रिय टिममा फर्कने आसका बीच विदेश गइन्।

नेपाली खेलकुदको २०८१ मा थोरै खुसीका पल आए भने धेरै गुनासो, दुःख र असहमतिले नै चर्चा कमाइरह्यो।

फुटबलमा महिला टिमको चर्चा, एन्फाको किचलो
नेपाली राष्ट्रिय फुटबल टिमले केही सफलताको स्वाद चाख्यो। फुटबलमा पुरुष टिमले चैत ८ मा ३६ वर्षपछि सिंगापुरलाई हराउनु एक स्वर्णिम क्षण रह्यो। जिलेस्पी जंग कार्की उक्त क्षणको नायक बने। पछिल्लो २ वर्षयता खेलाडी पलायनले थिलथिलो परेको नेपाली पुरुष फुटबल टिमले केही सकारात्मक नतिजा ल्याउँदै झिनो आशा नेपाली फुटबल समर्थकलाई दिए। 

महिला फुटबलमा यो वर्ष पनि रजत वर्ष रह्यो। नेपाली महिला टिमले साफमा रजत पदक जित्यो। बंगलादेशसँग २-१ ले पराजित हुँदै घरेलु भूमिमा पुनः रजतमा सीमित बन्यो। नेपाली महिला टिमले यो वर्ष दोस्रो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा म्यानमारसँग २-० गोलको हार व्यहोर्दै पुनः गह्रुँगो रजत भिर्‍यो। 

नेपाली महिला फुटबलमा महिला लिग सञ्चालन भयो। उपाधिमा एपीएफले बाजी मार्‍यो। नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफले महिला लिगको उपाधि जित्यो। २ वर्षपछि भएको महिला लिगले नेपाली महिला फुटबललाई केही नयाँ अनुहारहरू पनि दिलायो।

त्यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) भने सधैंको जस्तै, विवाद र किचलोकै खेतीमा व्यस्त रह्यो। यो वर्ष एन्फामा बी डिभिजन क्लबको किचलो, ए डिभिजन लिग गर्न नसक्ने संघको दाग लाग्यो। वर्षको अन्तिममा आएर ए डिभिजन क्लबहरूबीच नकआउट प्रतियोगिता गर्ने निर्णय गर्‍यो। पदाधिकारीबीच आरोपप्रत्यारोप जारी नै रह्यो। महिला लिग गर्ने नगर्नेदेखि एन्फाको प्रायः निर्णय विवादित रह्यो। 

यस वर्ष अर्को एउटा विवाद २०८१ सकिँदा पनि सकिएन। पूर्वाध्यक्षः गणेश थापाले एन्फा महासचिव किरण राईलाई मुद्दा हाल्न भ्याए। करिब डेढ महिनासम्म चुप बसेको एन्फाले पनि उनको विरुद्ध विभिन्न संघहरूमा छानबिनको प्रक्रिया अगाडि बढाउनेतर्फ यो घटना मोडिएको छ। यही किचलोले मैदान र खेलाडीतर्फ एन्फाले खासै ध्यान पुर्‍याउन पाएन। यो वर्ष पनि पञ्चायत कालमा बनेको दशरथ रंगशालाले कतिपटक अन्तर्राष्ट्रिय मान्यता गुमाउँदै पुनः टालटुल गर्दै गणतन्त्र नेपालको इज्जत धानिरह्यो। एनएसएलको तेस्रो सिजन हालः यही मैदानमा भइरहेको छ। 

फुटबलमा केपी ओली कपको फाइनलमा जियानलुइजी बुफोन नेपाल आए। उनले पनि नेपाली फुटबलको विकासका लागि पूर्वाधारको खाँचो औंल्याए। तर, यसमा सरकार र सम्बन्धित पक्ष एन्फाले यस वर्ष पनि कानमा तेल हालेर बसिरहेका छन्।

सबैभन्दा व्यस्त : नेपाली क्रिकेट टिम
२०८१ मा नेपाली खेलकुदमा सबैभन्दा व्यस्त रहेको नेपाली क्रिकेट हो। क्यालेन्डर बनाइ सार्वजनिक रूपमा नेपाल क्रिकेट संघ(क्यान)ले काम गर्न सुरू गर्‍यो। नेपाली पुरुष राष्ट्रिय टिमले टी-२० विश्वकप खेल्यो। नेपालले दक्षिण अफ्रिकाजस्तो बलियो प्रतिस्पर्धीसँग १ रनले हार्‍यो। नेपालले समूह  ‘डी’ मा रहेर दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याड्ससँग खेलेको थियो। १० वर्षपछि विश्वकप खेल्दा रोहित विश्वकपमा कान्छा कप्तानको रूपमा खेले। आइसीसी टी-२० विश्वकप, जेठ १९ देखि असार १५ सम्म अमेरिका र वेस्ट इन्डिजमा भएको थियो। प्रतियोगितामा नेपालले ३ हारको नतिजा निकाल्दा १ खेल वर्षाका कारण रद्द भएको थियो। 

नेपालले नेदरल्यान्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकासँग १ र बंगलादेशसँग २१ रनको हार व्यहोर्दा श्रीलंकासँगको खेल भने वर्षाका कारण हुन सकेन। यस वर्ष नेपाली क्रिकेट टिम लिग २ को खेलमा नै बढी व्यस्त रह्यो। क्यानडा सिरिज र अमेरिका सिरिजले नेपाली क्रिकेट व्यस्त रह्यो। लेगस्पिनर सन्दीप लामिछाने उनलाई लागेको सम्पूर्ण आरोपबाट मुक्त भएर राष्ट्रिय टिममा फर्किए। 

क्यानले पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) सफल रूपमा सम्पन्न गर्‍यो। जनकपुर बोल्ट्सले उपाधि जित्यो। यो प्रतियोगितामा शिखर धवन, मार्टिन गप्टिलजस्ता खेलाडी आए। उनीहरूसँग नेपाली खेलाडीले अनुभव साट्ने मौका पाए। यो प्रतियोगिताबाट विपिन शर्मा उदीयमान भएर आए। उनी हालः यु-१९ टिमको मुख्य खेलाडीको रूपमा रहेका छन्।  

यो वर्ष पुरुष टिमको प्रधानमन्त्री कप पूरै काठमाडौं बाहिर नै सकियो। १० टिमले सहभागिता जनाएको प्रधानमन्त्री कपमा किरण ठगुन्नाले दोहोरो शतक बनाए। इशान पाण्डे, तितृराज दास र अर्जुन कुमालले पनि १-१ शतकीय पारी खेले। तितृराज दास यो प्रतियोगिताको उदीयमान खेलाडी भए। किरणले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा मौका बनाए। अष्ट्रेलियामा बसेर व्यवसायिक क्रिकेट खेलिरहेका किशोर महतो र नन्दन यादव नेपालमा सम्भावना देखेर स्वदेश फर्किएर प्रधानमन्त्री कप खेले।

यो वर्षको अन्तिम प्रतियोगिताको रूपमा राष्ट्रिय टिमले हङकङ सिरिज खेलेको थियो। जसमा नेपाल फाइनलमा कुवेतसँग ३ रनले पराजित हुँदै उपाधिबाट वञ्चित रह्यो। यो सिरिजबाट टिमले नयाँ तीव्र गतिका बलरका रूपमा नन्दन यादवलाई पायो। बसिर अहमदले राष्ट्रिय टिममा कमब्याक गरे। उनको कमब्याकमा राम्रो छवि बन्यो। फाइनलमा नेपालका लागि नन्दन यादवले आफू राम्रो बलरमात्रै नभई ब्याटिङमा पनि राम्रो दखल राख्ने खेलाडीको रूपमा आफूलाई स्थापित गरे। साहब आलमले पनि राष्ट्रिय टिममा कमब्याक गरे।

नेपाली महिला टिमको भने कुनै पनि खेलमा प्रशंसनीय प्रदर्शन रहेन। वर्ष फेरिँदा पनि महिला टिमको स्तर भने फेरिएन। ब्याटिङमा समस्या यथावत् नै रह्यो। चैतमा आएर नेपाल क्रिकेट संघ क्यानले सहायक प्रशिक्षकको रूपमा भारतबाट मनिष कुमार झालाई झिकायो। विश्वकप छनोटका लागि क्यानले सहायक प्रशिक्षकसहित मनोज कटुवालको प्रशिक्षणमा टिमलाई १ महिनाभन्दा लामो प्रशिक्षणमा राखेको छ। युगान्डा सिरिज अगाडि फिटनेस र स्ट्रेन्थ प्रशिक्षकको रूपमा भारतकी मोनिका नेपाली महिला क्रिकेट टिमसँग जोडिइन्। नेपाली महिला टिम हालः विश्वकप छनोटको तयारीमा जुटिरहेको छ।

नेपालको युवा टिमले पहिलो पटक घरेलु मैदानमा विश्वकप छनोट खेल्नु अघि अफगानिस्तानसँग खेल्ने मौका पायो। सिरिज नेपालले २–१ ले गुमाए पनि नेपाली युवा टिमका लागि यो ठूलो प्रतियोगिता अघि राम्रो अभ्यास खेल रह्यो। विश्वकप छनोटको लागि एसिया क्षेत्र छनोट खेलिरहेको छ। २०८१ को अन्तिम दिन नेपाली यु-१९ टिमले यूएईविरुद्ध ५ रनको जित निकाल्दै २०८१ लाई बिदा गरेका छन्। 

राखेप र ओलम्पिकको टसल, १०औं खेलकुद यो वर्ष पनि भएन
संघ र सरकारको मध्यस्तकर्ताको रूपमा रहेको राष्ट्रिय खेलकुद परिषद(राखेप) पनि यो वर्ष चर्चामा रह्यो। राखेप र संघहरूको टसलले वर्षको सुरुमा नै चर्चा कमायो। टेबल टेनिस संघको चुनावले ध्यानाकर्षण गर्‍यो। निकै विवादका बीच टेबल टेनिस संघको चुनाव भयो। तेजुलाल चौधरी खेलकुद मन्त्री भएर आएपछि खेलकुदमा राजनीतिको पराकाष्ठा भयो। पदाधिकारी बढुवामा राजनीतिक हस्तक्षेप भएको भन्दै ओलम्पियन संगीना वैद्यले राजीनामा दिइन्। त्यो घटना सेलाउन नपाउँदै मन्त्री चौधरीले राखेपमा सदस्य नियुक्त गर्दा आफ्नै स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानलाई नियुक्त गर्दा अर्को चर्चाको विषय बन्यो।

वर्षको अन्तिमतिर राखेप र ओलम्पिक कमिटीको टसलले पनि राम्रै चर्चा कमायो। राखेपले ओलम्पिक हामी मातहतको संघ भएकाले नेपालको नियम र राखेपको विधान मान्नुपर्छ भन्ने र ओलम्पिक हामी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मातहत र उसैको बडापत्रमा चल्ने स्वत्तः संस्था हौं भन्ने विवाद वर्ष सकिँदासमेत सकिएन। 

वर्षको अन्त्यमा नेपाली खेलकुदलाई नै तरंगित बनाउने गरी एक निर्णय भयो। निर्णय थियो, १०औं राष्ट्रिय खेलकुद तोकिएको समयमा नहुने। २०८१ मंसिर २ मा हुनुपर्ने १०औं राष्ट्रिय खेलकुद सर्दै सर्दै २०८२ को जेठसम्म पुग्दा पनि पुनः नहुने भन्दै निर्णय सुनाइयो। चैत २९ गतेको बसेको राखेप बोर्ड बैठकले उक्त निर्णय लियो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राखेप उपाध्यक्ष ध्रुव आचार्यबीच छलफलको क्रममा विभिन्न विषयलाई लिएर नतिजा निस्कन नसक्दा १०औं राष्ट्रिय खेलकुद २०८१ सकिँदा अन्योलमै रह्यो।

केही अनुत्तरित प्रश्नसहित मिसन २०२६ मा दोहोरो अंकको स्वर्ण लक्ष्य लिई एसीयन गेम्सको तयारी भइरहेको छ। नेपाली खेलकुद २०८२ मा टेक्दै गर्दा केही लामा पाइला चाल्न सकोस्। राजनीतिले गर्दा नेपाली खेलाडी र नेपाली खेलकुद पछि धकेलिनु नपरोस्। नेपाली खेलाडीले देशमै बसेर खेल्ने वातावरण आगामी वर्षमा बनोस् भन्ने चाहना नेपाली खेलकुद क्षेत्रले राख्नेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.