सिन्दूर हालेर मनाइयो सदियौं पुरानो ‘सिन्दुरे जात्रा’
भैरवीस्थान, नुवाकोट : पाँचसय वर्षभन्दा पुरानो नुवाकोटको ऐतिहासिक तथा धार्मिक स्थान भैरवी मन्दिर परिसरमा सञ्चालित नुवाकोटकै विशेष सिन्दुरे जात्रा मनाइएको छ । लामो अवधिको यस जात्रा नुवाकोटमा विशेष रूपमा मनाइने गरिएको छ ।
नुवाकोटका साथै नेपालकै लामो दूरीको रथ यात्रा गरिने सिन्दुरे जात्रा डेढ महिनासम्म नुवाकोटको भैरवी र जालपादेवी मन्दिरमा भव्य रूपमा लाग्ने गरेको छ । नेपाल सरकारको प्रतिनिधि द्वारेले भैरवी मन्दिरका पूजारी धामीधमिनीलाई विजयको प्रतीक स्वरूप सिन्दूर हालेर सोमबार वैशाख शुक्ल द्वितीयाको दिन २०८२ सालको सिन्दुरे जात्रा गरिएको हो ।
प्रसिद्ध देवीघाटको जालपा देवी मन्दिर र नुवाकोटको भैरवी मन्दिरमा भगवान्को दर्शन गर्न तथा धामीधमिनी हेर्न र दर्शन गर्न नुवाकोटको विभिन्न स्थानसहित रसुवा, धादिङ, काठमाडौं, चितवनलगायतका जिल्लाका हजारौं भक्तजनहरू तथा जात्रालुहरूको सहभागिता रहेको थियो । नुवाकोटको मुख्य तथा ऐतिहासिक वैशाख पूर्णिमा जात्राको विशेष मेलाको रौनक सिन्दूर ग्रहण गरेर सोमबार विशेष रूपमा मनाइएको हो ।
प्रसिद्ध साततले दरबार राष्ट्रिय संग्रहालय क्षेत्रमा रहेको भैरवी मन्दिरमा पाँच सय वर्ष पुरानो प्रसिद्ध सिन्दुरे जात्रा सोमबार भैरवी मन्दिर परिसरमा हजारौं जात्रालुहरूको घुइँचो लागेको थियो । नुवाकोटको सबैभन्दा ठूलो यस मेला वैशाख शुक्ल द्वितीयाका दिन लागेको सिन्दुरे जात्राको मेलामा भैरवी मन्दिर र गुहृय पाटीअगाडि दुई स्थानमा सल्लाको लिंगो ठड्याएपछि सुरु हुन्छ र लिंगो ढालेपछि सकिन्छ ।
द्वितीयाको दिन भैरवी मन्दिरमा सिन्दूर जात्रा र राति धामीले बली पनि लिने गर्छन् । पाँच सय वर्षभन्दा पुरानो र महत्त्वपूर्ण यस जात्राको मुख्य आकर्षण भैरवी मन्दिरमा धामीधमिनी, सरकारी कर्मचारी, नेपाली सेना र सर्वसाधारणले सिन्दूर जात्रा गरेर मनाइएको हो ।
यसअघि, वैशाख शुक्ल पूर्णिमाको दिन नै साततले दरबार राष्ट्रिय संग्रहालयसँगै रहेको भैरवी मन्दिरमा दुई दिनपछि द्वितीयाको दिनमा भएको सिन्दुरे जात्राको निम्तो स्वरूप बहिनी भैरवीले दिदी जालापादेवीलाई निम्तो (बोलाउन) गएको भन्ने किंवदन्ती रहेको छ । किंवदन्तीअनुसार जालपादेवीसहित भैरवी मन्दिरमा आएपछि दिदी आएका अवसरमा सिन्दुरे जात्रा गरी हर्षबढाइँ गरिएको हो ।
जालपादेवीबाट फर्किएका धामीधमिनीको जोडी स्थानीय धरमपानीको पाटीबाट बाजागाजासहित भैरवी मन्दिर प्रांगणमा पुगेपछि सिन्दुरे जात्रा गरिन्छ । भैरवीको मन्दिरबाट बाजागाजा र सैनिक टुकडीसहित सिन्दूर जात्रा गर्दै तलेजु भवानीको मन्दिरमा रथ भित्र्याइएको भैरवी मन्दिरका द्वारे महेन्द्रकुमार शाहीको भनाइ छ ।
यसअघि, देवीघाटस्थित जालपा देवी मन्दिरमा पुगेका धामीधमिनीसहित भैरवी मन्दिरको रथ नुवाकोट भैरवी मन्दिर परिसरमा पु¥याएपछि सिन्दूर हालेर सिन्दुरे जात्रा मनाइएको हो । द्वारे महेन्द्रकुमार शाहीले भैरवी मन्दिरका पुजारी धामी हरिमानसिह डंगोललाई विजयको प्रतीक सिन्दूर हालिदिए लगत्तै धामीले सरकारी कर्मचारी तथा सर्वसाधारणलाई सिन्दूर प्रदान गर्ने परम्परा रहेको छ ।
देवीघाटबाट नुवाकोटका लागि प्रस्थान गरिएको धामीधमिनी तथा रथयात्रा पूजा परम्पराअनुसार नुवाकोट भैरवी मन्दिर परिसरमा पु¥याइएको हो । नुवाकोट भैरवी मन्दिरभन्दा केही तल रहेको धरमपानीमा सोमबार बिहान पुगेका धामी, धमिनी र भैरवी मन्दिरको रथ पूजा विधि प्रक्रिया पूरा गरी नुवाकोटतर्फ प्रस्थान गराइएको स्थानीय युवा सामाजिक अगुवा महेन्द्रलाल श्रेष्ठले बताए ।
भैरवी मन्दिरको रथ अपराह्न साढे ४ बजे लामो समयदेखि रथ बोक्दै आएका लच्याङका ५० जनाभन्दा बढीले भैरवी मन्दिर परिसरमा पुर्याएका थिए । भैरवी मन्दिरको रथलाई उकाल्न लच्याङवासी युवाहरूको समूहलाई मन्दिर परिसरको उकालोमा करिब आधा घण्टा समय लागेको थियो ।
भैरवी मन्दिरको रथ उकाल्दा जात्रामा सहभागी भएकाहरूले भैरवी मन्दिरको जय-जयकार गाएका थिए । रथ पुगेको केही समय पछाडि धामी–धमिनी, कुमार र गणेशलाई झल्लरी छाता ओढाएर विशेष सम्मानका साथ नुवाकोट भैरवी मन्दिरमा पुर्याइएको थियो ।
धामी, धमिनीलाई धरमपानीबाट नुवाकोट भैरवी मन्दिर प्रस्थान गराउँदा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलगायत सरकारी अधिकारीका साथ नेपाली सेनाको बहादुर शेर गणका सेनाहरू तथा नुवाकोटका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
धामीधमिनी, कुमार र गणेशलाई धरमपानीबाट भैरवी मन्दिरतर्फ प्रस्थान गराउँदा बहादुर शेर गण बट्टार ब्यारेकका सेनाको टोलीले सलामी अर्पणसहित भैरवी मन्दिरको निसाना झण्डा पहराउँदै बाजागाजासहितले सम्मान गरेको थियो । भैरवी मन्दिरमा धामीधमिनीसहितको टोली पुगेपछि २०८२ सालको सिन्दुरे जात्रा विशेष सिन्दूर हालेर मनाइएको थियो ।
सरकारका प्रतिनिधि (द्वारे) महेन्द्रकुमार शाहीले धामी, धमिनीलाई पूजा विधिमार्फत भैरवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिर अगाडि सिन्दूर हालेर यस वर्षको सिन्दुरे जात्रा मनाइएको हो । सिन्दुर हालिसकेपछि धामीधमिनी, रथसहितको टोली तलेजु भवानीको मन्दिरमा पुगेर सिन्दुरे जात्राको समापनका अवसरमा आयोजित भोजमा सरिक भएका थिए ।
तलेजु मन्दिरमा आयोजित भोजमा धामीधमिनीसगै भैरवी मन्दिरको रथ पनि सरिक गराइएको थियो । भोज सम्पन्न भएपछि धामीधमिनीसहित भैरवी मन्दिरको रथ भैरवी मन्दिर अगाडि रहेको महेश मर्दिन मन्दिरसँगै राखिएको थियो ।
पूजाविधि अनुसार मन्दिर परिसरमा नै रहेका धामीले देवीघाटको जालपा देवी मन्दिरमा जस्तै भैरवी मन्दिरमा पनि राँगा बोकाको भोग खाएर यस वर्षको सिन्दुरे जात्रामा धामीको तर्फबाट पु¥याउनुपर्ने सम्पूर्ण संकल्प पूरा गरेका थिए । बूढी देवी र भैरवी मन्दिर परिसरमा पाँच दिन अगाडि लिंगो ठड्याएर सुरु भएको २०८२ सालको जात्रा भैरवी भगवान्को रथसहित धामीधमिनी नुवाकोटबाट प्रस्थान गरी देवीघाटस्थित जालपा मन्दिरमा पुगेका थिए ।
औपचारिक रूपमा सिन्दुरे जात्राको रौनक तथा पूजाविधि र औपचारिक समापन भने एक सातापछि गरिने सरकारका प्रतिनिधि द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिए । विशेषगरी फागु पूर्णिमाको दिनदेखि सुरु हुने सिन्दुरे जात्रा डेढ महिनासम्म जारी रहने शाहीको भनाइ छ ।
बूढी भैरवी र भैरवी मन्दिर परिसरमा ठड्याइएको लिंगो ढालेर सिन्दुरे जात्रा सम्पन्न हुने छ । सिन्दुरे जात्रामा धामीधमिनी हेर्न र दर्शन गर्न नुवाकोटको विभिन्न स्थानसहित रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाडौंलगायत स्थानबाट १० हजारभन्दा बढी भक्तजनहरू तथा जात्रालुहरूको सहभागिता रहेको थियो ।
धार्मिक तथा सांस्कृतिक परम्परासहित नुवाकोटमै ठूलो पर्वका रूपमा मनाइने सिन्दुरे जात्रा गत फागुपूर्णिमाको दिन १२ भाइले भैरवीदेवीको मन्दिरबाट जल ग्रहण गरेर शुद्ध भएसँगै सुरु भएको हो । जात्राको विशेष रौनक सोमबार रातिसम्म चल्नेछ ।
यसअघि नै स्थानीयवासी, तीर्थालु, धर्मावलम्बीबाट ४२ हात लामो सल्लोका लिंगो बूढी भैरवीदेवता मन्दिर र त्यसपश्चात् भैरवी देवी मन्दिर परिसरमा उठाइएको थियो । भैरवी वर्ष बन्धनको सिन्दुरे जात्राअन्तर्गत लिंगो उठाएसँगै भैरवीदेवी मन्दिरको रथसहित धामी, धमिनीलगायतको लावालस्कर देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिरमा लगेर सोमबार मध्यराति फर्काइएको हो ।
सिन्दुरे जात्राका लागि लच्याङका ३२ नोले, ६० डोकेको नेतृत्वमा स्थानीय, जात्रालु, तीर्थालु तथा सुरक्षाकर्मीसहितले जालपादेवी मन्दिर देवीघाटमा पुर्याइएको देवीदेवतासहितको भैरवी देवीको रथ ‘फिर्ती सवार’ गराएर धरमपानीमा पु¥याइएको थियो । त्यहीबाट सिन्दूर जात्राको विशेष रौनक सुरु हुन्छ ।
जालपादेवी मन्दिर शुक्रबार राति पुगेका धामीसहितको लावालस्कर पनि आइतबार मध्यरातमा देवीघाटबाट नुवाकोटतर्फ फर्काइएको थियो । देवीघाटबाट मध्यरातमा लामीबगैंचा, वाणाचौतारो, इनारपाटी, बट्टारको पुरानोपाटी, बट्टारबजार चोक, नुवाकोटको वन हुँदै धरमपानीमा पुगेर विश्राम गरेर पुनः सिन्दुरे जात्रा सुरु भएको हो ।
जालपादेवी मन्दिरमा पु¥याइएको भैरवीदेवी, अष्टमात्रिकासहितको रथयात्राको स्थानीयवासीसहित तीर्थालु, जात्रालुले आइतबार राति जालपादेवी र भैरवीदेवीको जय–जयकार गरी देवीघाटबाट बिदाइ गरेका थिए । धामीधमिनीसहितको लावलस्कर भने मध्यरातको संकटासन्न समयमा जालपादेवी मन्दिरबाट नुवाकोट भैरवीतर्फ फर्काइएको हो ।
फागु पूर्णिमादेखि सुरु भएर वैशाख शुक्ल दशमीसम्म विभिन्न धार्मिक परम्पराको साथ मनाइने जात्रा नुवाकोटकै सबैभन्दा लामो जात्रा हो’, भैरवीका द्वारे महेन्द्रकुमार शाहीले भने । ‘लिंगो उठाउने, भैरवीदेवीको रथयात्रा, जीवित भगवान्् धामीधमिनीको जालपादेवी मन्दिर प्रस्थान, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, सामाजिक संघसंस्थाको प्रतिनिधिको उपस्थितिमा द्वारेबाट धामीधमिनीको माथमा सिन्दूर हालेर सिन्दूरे जात्रा मनाइने गरिन्छ ।’
भैरवी मन्दिरका पुजारी ८७ वर्षीय धामी हरिमानसिंह डंगोल, उनकी जीवनसंगिनी अर्थात् धमिनी ज्ञानुमायाँ डंगोललाई पूजाआजासमेत यसै जात्रामा गरिन्छ । सिन्दुरे जात्रा नुवाकोटको पहिचान र मौलिक संस्कृति रहेको हुँदा यसको विशेष रूपमा संरक्षण र संवद्र्धनमा विदुर नपा क्रियाशील भएको विदुर नपाका मेयर राजन श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !