नयाँ वर्षमा बिस्केट जात्राको रौनक
नयाँ वर्ष २०८२ को आरम्भसँगै भक्तपुरमा बिस्का जात्रा सुरु भइरहेको छ, यसलाई बिस्केट जात्रा भनिन्छ । साँखुको बज्रयोगिनी, माई झार्ने जात्रा, बालाजुमा बाइसधारा स्नान, टोखामा सपना तीर्थ मेला, हनुमान जयन्ती सोही दिन, वैशाख स्नान पनि सुरु, बैतडीमा कोटी होम मेला चलिरहेका छन् ।
यस्तै, बौद्धमा तेमाल जात्रा, लमजुङमा यलुँग पोखरीमेला, विशालनगरमा वैष्णवी जात्रा, ललितपुरमा मत्स्येन्द्रनाथको स्नान, भक्तपुरमा विश्वध्वजोत्थान भनौं, देशैभरि कतै न कतै जात्रा नमनाइएका दिन नै हुन्नन् वैशाखैभरि । चैत्रशुक्ल प्रतिपदादेखि नै संवत्सर परिवर्तन भएको छ, अब कालयुक्त नामको साल परिवर्तन भई सिद्धार्थी सुरु भइसकेको छ । नयाँ वर्ष २०८२ को सुरु भने हाम्रो बहुल संस्कृतिअनुसार फरकफरक ढंगले सुरु हुने गरेको छ । वि.सं.को नववर्ष प्रवेशसँगै काठमाडौं उपत्यकामा प्रमुख तीन चाडहरू प्रसिद्ध छन् । भक्तपुरको बिस्केट, ठिमी जात्रा र काठमाडौंको सपनतीर्थ मेला ।
बिस्केट जात्रा भने यही चैत्र २७ देखि सुरु भएको हो र वर्षारम्भको एक हप्ताअघिदेखि नै भैरवको रथ तानेर सुरु गरियो । चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिंगो उठाउने र वैशाख १ गते लिंगो जात्रा गरी बेलुकी यसलाई ढालेर भव्यताका साथ जात्रा मनाइने गरिन्छ । वैदिक र तान्त्रिक दुवै मंगलसूचक वीरताको प्रतीक हुन् । वृषकेतु, विश्वध्वजा नामले परिचित हरिया एवं लामा ध्वजा फहराई भक्तपुरका विभिन्न क्षेत्रलगायत ठिमी, बोडे र काठमाडौंको भद्रकाली, हाँडीगाउँ, टोखा एवं अन्य क्षेत्रका नेवार जातिका लागि विशेष प्रसिद्धि पाएको बिस्केट जात्राको रमाइलो हरेक वर्ष चैत्रमसान्तदेखि वैशाख १ गतेसम्म बढी नै रहन्छ । यसको आफ्नै मौलिक इतिहास र विशेषता छ ।
भक्तपुर क्षेत्रमा बिस्केटजात्रा, काठमाडौंको इन्द्रजात्रा र ललितपुरको मत्यस्येन्द्रनाथ जात्रा झैं लिंगो ठड्याउने र ढाल्ने काम गरिन्छ । विशेष तन्त्रविद्यामा आधारित बिस्केट जात्राले पुरानो वर्षको अन्त्य र नयाँ उत्साहित एवं ऊर्जाशील वर्ष र जीवनको संकेत दिन्छ । वि.सं. नयाँ प्रवेशसँगै लिंगो उठाउने परम्परा कहिलेदेखि आरम्भ भएको यकिन गर्न नसकिए पनि वि.सं. ६६१ ताका शिवदेव एवं मानदेवको समयदेखि आरम्भ भएको अनुमान छ । कारण त्यतिबेला यससम्बन्धी गुठीको व्यवस्था भएको चर्चा इतिहासमा भेटिन्छ । झन्डै ५५ हात अग्लो लिंगो सालको काठको हुने गर्छ । चैत्र मसान्तमा उठाइन्छ र वैशाख १ गते ढालेर उत्साहपूर्वक जात्रा मान्ने चलन सदियौं पुरानो भइसकेको छ ।
प्राचीन समयमा विजय उत्सवको रूपमा मान्ने चलन चलेको बिस्केट जात्राका विषयमा विभिन्न किंवदन्ती छन् । काठमाडौंको शिवपुरी क्षेत्रमा रहेकी बज्रयोगिनीको आशीर्वादसमेत रहेको भनिने बिस्केटजात्रा भक्तपुरको मौलिक र ऐतिहासिक सांस्कृतिक धरोहर हो । भक्तपुरको यो पर्व विस्केट ठिमीजात्रासँग पनि जोडिन्छ । त्यसो त बालकुमारी, महालक्ष्मी, हरिसिद्धिलगायत भक्तपुरकै गणेश, बाराही आदि देवताहरूलाई भिन्न भिन्न खटमा राखेर एकसाथ परिक्रमा गराउने ऐतिहासिक परम्पराले पनि बिस्केट जात्रासँग सरोकार राख्छ ।
वर्षको अन्त्य चैत्रमसान्तदेखि आरम्भ भई तीन दिनसम्म चल्ने सो जात्रा वैशाख २ सम्म सञ्चालन हुन्छ । ठिमीको यो जात्राको मूल पक्ष भने २ र ३ गते दुई दिन अझ बढी हुने गर्छ । घरघरमा भोज गर्दै सम्पूर्ण देवदेवीहरूलाई मन्दिरबाट बाहिर निकाली पूजाआजा गरिन्छ । वैशाख १ गते मन्दिरबाहिर पूजा, दर्शन, प्रसाद वितरण गरी भोलिपल्ट २ गते बिहानै सम्पूर्ण देवदेवीहरूलाई पंक्तिबद्ध गरी राखिन्छ । अगाडिपट्टि बालकुमारीको खट र सवैभन्दा पछाडि गणेशको खट राखिन्छ । संख्यामा देवदेवी ३२ हुने र स्थान भ्रमण गराइन्छ । बालकुमारीस्थानबाट सुरु भएको यो जात्रा लावालस्करसहित दूधपोखरी नजिक दरबारमा देवदेवीलाई थन्क्याएपछि जात्राले विश्राम लिन्छ ।
पछि भक्तपुर ठिमीक्षेत्रमा अझ लामोजात्रा सुरु हुन्छ, त्यो हो जिभ्रो छेड्ने जात्रा ! यो भक्तपुरको बोडेमा हुन्छ । बोेडेमा सुरु हुने जिभ्रो छेड्ने जात्राभन्दा चार दिन पहिले नै जिभ्रो छेडाउन चाहनेले सात्विक भावमा रहनुपर्छ । जिभ्रो छेडाउनेले वीरताको संकेत प्रदर्शन गर्छ भने आफूलाई दैवीशक्ति प्राप्त गरी अगाध पुण्य प्राप्त हुने विश्वास राख्छ । सुइरोद्वारा जिभ्रो छेडिएपछि खटमा राखी उसलाई ठिमी बजारको परिक्रमा गराइन्छ । पहिले धेरै समयअघि असुरहरूले ठिमीवासीलाई दुःख दिँदा तान्त्रिक बालकुमारीले सपनामा दर्शन दिँदै मानिसलाई जिभ्रो छेड्ने पराक्रम प्रदर्शन गरेमा दैत्य, असुरहरूले दुःख नदिने र आफ्नो पुरुषार्थको पहिचान पनि हुने भनेकाले यस्तो परम्परा सुरु भएको हो ।
सुरुमा यस्तो पर्व वैशाख २ गते परेकाले त्यो परम्परा अझै कायम छ । ठिमीमा जात्रा सकेर महालक्ष्मी मन्दिरमा गई जिभ्रोको सुइरो झिकेर जात्रालाई पूर्णता दिइन्छ । यसो गर्दा शरीरमा खासै कष्ट नहुने, जिभ्रो छेड्ने व्यक्ति बोडेको नेवार समुदायको हुनु पर्ने, नाइकेलाई चारदाम चढाएपछि जिभ्रो छेडाउन पाइने, जिभ्रो छेड्न ६ इन्च लामो फलामे सुइरो प्रयोग गरिने र एक महिना अघिदेखि त्यो सुइरोलाई तेलमा डुबाएर राखिने हुँदा जिभ्रो छेडिने व्यक्तिलाई साह्रै कष्ट नहुने र घाउ पनि छिटो निको हुने विश्वास छ । भक्तपुर क्षेत्रको ठिमीको यो परम्पराले मुलुककै इतिहासको पुष्टि गर्छ । यसो गर्दा मुलुुकभरि दूर्भिक्ष नहुने, महामारी जस्ता घातक रोगहरू नहुने विश्वास छ ।
प्रसिद्ध, पावन वागमती, विष्णुमती, रुद्रमती, इक्षुमतीजस्ता काठमाडौं उपत्यकाका नदीहरूका उद्गमस्थल वाग्द्वार हो र शिवपुरी क्षेत्रले काठमाडौंलाई पूरै हराभरा बनाएको छ । विक्रम संवत्को आरम्भ, नयाँ वर्षको स्वागत सँगै शिवपुरी क्षेत्रको टोखा र सूर्य मेष राशिमा सरेकोे पावन बिहानीमा यसै क्षेत्रमा रहेको सपनतीर्थ स्नानको आफ्नै महत्त्व छ । वैशाख महिनाभरि जीवनका सञ्चालक देवताका रूपमा मानिने श्रीविष्णु यसै क्षेत्रमा रहेका बूढानीलकण्ठ नारायणको दर्शन एवं पूजाआजा गर्नेहरू पनि काठमाडौंमा धेरै छन् । शिवपुरीको काखमा रहेको टोखा नजिकैको खहरे खोलाको संगममा स्नान गरी मनोकामना पूरा गर्नेहरू पनि हामीकहाँ धेरै छन् ।
खासगरी सामान्यदेखि ठूला असाध्य रोगहरू पनि यहाँको स्नानबाट दूर हुन्छन् भन्ने जनविश्वास छ । सपना देखेकाले सपनतीर्थ मेला आरम्भ भएको किंवदन्ती पनि छ ।
प्रतिक्रिया दिनुहोस !