नयाँ वर्षमा बिस्केट जात्राको रौनक

नयाँ वर्षमा बिस्केट जात्राको रौनक
फाइल तस्बिर।

नयाँ वर्ष २०८२ को आरम्भसँगै भक्तपुरमा बिस्का जात्रा सुरु भइरहेको छ, यसलाई बिस्केट जात्रा भनिन्छ । साँखुको बज्रयोगिनी, माई झार्ने जात्रा, बालाजुमा बाइसधारा स्नान, टोखामा सपना तीर्थ मेला, हनुमान जयन्ती सोही दिन, वैशाख स्नान पनि सुरु, बैतडीमा कोटी होम मेला चलिरहेका छन् ।

यस्तै, बौद्धमा तेमाल जात्रा, लमजुङमा यलुँग पोखरीमेला, विशालनगरमा वैष्णवी जात्रा, ललितपुरमा मत्स्येन्द्रनाथको स्नान, भक्तपुरमा विश्वध्वजोत्थान भनौं, देशैभरि कतै न कतै जात्रा नमनाइएका दिन नै हुन्नन् वैशाखैभरि । चैत्रशुक्ल प्रतिपदादेखि नै संवत्सर परिवर्तन भएको छ, अब कालयुक्त नामको साल परिवर्तन भई सिद्धार्थी सुरु भइसकेको छ । नयाँ वर्ष २०८२ को सुरु भने हाम्रो बहुल संस्कृतिअनुसार फरकफरक ढंगले सुरु हुने गरेको छ । वि.सं.को नववर्ष प्रवेशसँगै काठमाडौं उपत्यकामा प्रमुख तीन चाडहरू प्रसिद्ध छन् । भक्तपुरको बिस्केट, ठिमी जात्रा र काठमाडौंको सपनतीर्थ मेला ।

बिस्केट जात्रा भने यही चैत्र २७ देखि सुरु भएको हो र वर्षारम्भको एक हप्ताअघिदेखि नै भैरवको रथ तानेर सुरु गरियो । चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिंगो उठाउने र वैशाख १ गते लिंगो जात्रा गरी बेलुकी यसलाई ढालेर भव्यताका साथ जात्रा मनाइने गरिन्छ । वैदिक र तान्त्रिक दुवै मंगलसूचक वीरताको प्रतीक हुन् । वृषकेतु, विश्वध्वजा नामले परिचित हरिया एवं लामा ध्वजा फहराई भक्तपुरका विभिन्न क्षेत्रलगायत ठिमी, बोडे र काठमाडौंको भद्रकाली, हाँडीगाउँ, टोखा एवं अन्य क्षेत्रका नेवार जातिका लागि विशेष प्रसिद्धि पाएको बिस्केट जात्राको रमाइलो हरेक वर्ष चैत्रमसान्तदेखि वैशाख १ गतेसम्म बढी नै रहन्छ । यसको आफ्नै मौलिक इतिहास र विशेषता छ ।

भक्तपुर क्षेत्रमा बिस्केटजात्रा, काठमाडौंको इन्द्रजात्रा र ललितपुरको मत्यस्येन्द्रनाथ जात्रा झैं लिंगो ठड्याउने र ढाल्ने काम गरिन्छ । विशेष तन्त्रविद्यामा आधारित बिस्केट जात्राले पुरानो वर्षको अन्त्य र नयाँ उत्साहित एवं ऊर्जाशील वर्ष र जीवनको संकेत दिन्छ । वि.सं. नयाँ प्रवेशसँगै लिंगो उठाउने परम्परा कहिलेदेखि आरम्भ भएको यकिन गर्न नसकिए पनि वि.सं. ६६१ ताका शिवदेव एवं मानदेवको समयदेखि आरम्भ भएको अनुमान छ । कारण त्यतिबेला यससम्बन्धी गुठीको व्यवस्था भएको चर्चा इतिहासमा भेटिन्छ । झन्डै ५५ हात अग्लो लिंगो सालको काठको हुने गर्छ । चैत्र मसान्तमा उठाइन्छ र वैशाख १ गते ढालेर उत्साहपूर्वक जात्रा मान्ने चलन सदियौं पुरानो भइसकेको छ ।

प्राचीन समयमा विजय उत्सवको रूपमा मान्ने चलन चलेको बिस्केट जात्राका विषयमा विभिन्न किंवदन्ती छन् । काठमाडौंको शिवपुरी क्षेत्रमा रहेकी बज्रयोगिनीको आशीर्वादसमेत रहेको भनिने बिस्केटजात्रा भक्तपुरको मौलिक र ऐतिहासिक सांस्कृतिक धरोहर हो । भक्तपुरको यो पर्व विस्केट ठिमीजात्रासँग पनि जोडिन्छ । त्यसो त बालकुमारी, महालक्ष्मी, हरिसिद्धिलगायत भक्तपुरकै गणेश, बाराही आदि देवताहरूलाई भिन्न भिन्न खटमा राखेर एकसाथ परिक्रमा गराउने ऐतिहासिक परम्पराले पनि बिस्केट जात्रासँग सरोकार राख्छ ।

वर्षको अन्त्य चैत्रमसान्तदेखि आरम्भ भई तीन दिनसम्म चल्ने सो जात्रा वैशाख २ सम्म सञ्चालन हुन्छ । ठिमीको यो जात्राको मूल पक्ष भने २ र ३ गते दुई दिन अझ बढी हुने गर्छ । घरघरमा भोज गर्दै सम्पूर्ण देवदेवीहरूलाई मन्दिरबाट बाहिर निकाली पूजाआजा गरिन्छ । वैशाख १ गते मन्दिरबाहिर पूजा, दर्शन, प्रसाद वितरण गरी भोलिपल्ट २ गते बिहानै सम्पूर्ण देवदेवीहरूलाई पंक्तिबद्ध गरी राखिन्छ । अगाडिपट्टि बालकुमारीको खट र सवैभन्दा पछाडि गणेशको खट राखिन्छ । संख्यामा देवदेवी ३२ हुने र स्थान भ्रमण गराइन्छ । बालकुमारीस्थानबाट सुरु भएको यो जात्रा लावालस्करसहित दूधपोखरी नजिक दरबारमा देवदेवीलाई थन्क्याएपछि जात्राले विश्राम लिन्छ । 

पछि भक्तपुर ठिमीक्षेत्रमा अझ लामोजात्रा सुरु हुन्छ, त्यो हो जिभ्रो छेड्ने जात्रा ! यो भक्तपुरको बोडेमा हुन्छ । बोेडेमा सुरु हुने जिभ्रो छेड्ने जात्राभन्दा चार दिन पहिले नै जिभ्रो छेडाउन चाहनेले सात्विक भावमा रहनुपर्छ । जिभ्रो छेडाउनेले वीरताको संकेत प्रदर्शन गर्छ भने आफूलाई दैवीशक्ति प्राप्त गरी अगाध पुण्य प्राप्त हुने विश्वास राख्छ । सुइरोद्वारा जिभ्रो छेडिएपछि खटमा राखी उसलाई ठिमी बजारको परिक्रमा गराइन्छ । पहिले धेरै समयअघि असुरहरूले ठिमीवासीलाई दुःख दिँदा तान्त्रिक बालकुमारीले सपनामा दर्शन दिँदै मानिसलाई जिभ्रो छेड्ने पराक्रम प्रदर्शन गरेमा दैत्य, असुरहरूले दुःख नदिने र आफ्नो पुरुषार्थको पहिचान पनि हुने भनेकाले यस्तो परम्परा सुरु भएको हो ।

सुरुमा यस्तो पर्व वैशाख २ गते परेकाले त्यो परम्परा अझै कायम छ । ठिमीमा जात्रा सकेर महालक्ष्मी मन्दिरमा गई जिभ्रोको सुइरो झिकेर जात्रालाई पूर्णता दिइन्छ । यसो गर्दा शरीरमा खासै कष्ट नहुने, जिभ्रो छेड्ने व्यक्ति बोडेको नेवार समुदायको हुनु पर्ने, नाइकेलाई चारदाम चढाएपछि जिभ्रो छेडाउन पाइने, जिभ्रो छेड्न ६ इन्च लामो फलामे सुइरो प्रयोग गरिने र एक महिना अघिदेखि त्यो सुइरोलाई तेलमा डुबाएर राखिने हुँदा जिभ्रो छेडिने व्यक्तिलाई साह्रै कष्ट नहुने र घाउ पनि छिटो निको हुने विश्वास छ । भक्तपुर क्षेत्रको ठिमीको यो परम्पराले मुलुककै इतिहासको पुष्टि गर्छ । यसो गर्दा मुलुुकभरि दूर्भिक्ष नहुने, महामारी जस्ता घातक रोगहरू नहुने विश्वास छ ।

प्रसिद्ध, पावन वागमती, विष्णुमती, रुद्रमती, इक्षुमतीजस्ता काठमाडौं उपत्यकाका नदीहरूका उद्गमस्थल वाग्द्वार हो र शिवपुरी क्षेत्रले काठमाडौंलाई पूरै हराभरा बनाएको छ । विक्रम संवत्को आरम्भ, नयाँ वर्षको स्वागत सँगै शिवपुरी क्षेत्रको टोखा र सूर्य मेष राशिमा सरेकोे पावन बिहानीमा यसै क्षेत्रमा रहेको सपनतीर्थ स्नानको आफ्नै महत्त्व छ । वैशाख महिनाभरि जीवनका सञ्चालक देवताका रूपमा मानिने श्रीविष्णु यसै क्षेत्रमा रहेका बूढानीलकण्ठ नारायणको दर्शन एवं पूजाआजा गर्नेहरू पनि काठमाडौंमा धेरै छन् । शिवपुरीको काखमा रहेको टोखा नजिकैको खहरे खोलाको संगममा स्नान गरी मनोकामना पूरा गर्नेहरू पनि हामीकहाँ धेरै छन् ।

खासगरी सामान्यदेखि ठूला असाध्य रोगहरू पनि यहाँको स्नानबाट दूर हुन्छन् भन्ने जनविश्वास छ । सपना देखेकाले सपनतीर्थ मेला आरम्भ भएको किंवदन्ती पनि छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.