बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रको मुआब्जा निर्धारण

बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रको मुआब्जा निर्धारण
सुन्नुहोस्

गोरखा :चुमनुब्री र धार्चे गाउँपालिकाको सीमा क्षेत्रमा निर्माण गर्ने ३४१ मेगाबाटको बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित हुनेहरूका लागि मुआब्जा निर्धारण गरिएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी साहस ऊर्जा, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीको भेलाले सर्वसम्मतिमा मुआब्जा निर्धारण गरिएको हो ।

चुमनुब्री गाउँपालिका—३ स्थित सल्लेरी बस्ती क्षेत्रका लागि प्रतिआना तीन लाख रुपैयाँका दरले मुआव्जा निर्धारण गरिएको साहस ऊर्जाका प्रवन्ध निर्देशक हिम पाठकले जानकारी दिए । ‘गत चैतको २९ गते को सरोकारवालाहरूको भेलाबाट सल्लेरीको जग्गाका लागि प्रतिआना तीन लाख रुपैयाँका दरले दिनेगरी मुआब्जा निर्धारण भएको छ । यदि कसैको जग्गा चार आनाभन्दा कम रहेछ भने उनीहरूलाई थप एक लाख अथवा चार लाख प्रतिआनाका दरले दिने निर्णय भएको छ’, पाठकले भने, ‘सल्लेरीबाहिरको जग्गाको प्रतिआना डेढलाख प्रतिआनाका दरले दिने निर्णय भएको छ । सबै गरेर ७० देखि ८० रोपनीसम्म जग्गा छन् भन्ने हाम्रो प्रारम्भिक अनुमान छ ।’

घरको मूल्यांकन पनि गाउँपालिकाका प्राविधिक टोलीले छिट्टै गर्ने र मुआब्जा निर्धारण गर्ने निर्णय भएको छ ।’ चार आनाभन्दा कम जग्गा भएका घरधुरी १० भन्दा कम रहेको उनले बताए । सल्लेरीमा हाल २३ घर रहेका छन् । आयोजनाको बाँधका कारण ती सबै डुबानमा पर्ने हुँदा विस्थापित हुने भएका छन् । तिनको मुआब्जा निर्धारणका लागि पनि प्रारम्भिक चरणको छलफल भइरहेको पाठकले बताए ।

डुबानका कारण विस्थापित हुनेहरूलाई कहाँ पुनस्र्थापना गराउने भन्नेबारे छलफल भइरहेको वडाध्यक्ष रामकुमार गुरुङले बताए । ‘जग्गाको मुआब्जा निर्धारण भयो । घरको बाँकी छ’, गुरुङ भन्छन्, ‘डुबानका कारण विस्थापित हुनेलाई कहाँ पुनस्र्थापना गर्ने भन्ने बारे छलफल भइरहेको छ, तर निष्कर्षमा पुगिसकेका छैनौं ।’ पुर्ख्यौली थातथलो छाडेर टाढा नजानेमा सबै सहमत रहेका उनको भनाइ छ । ‘सबै एकै ठाउँमा बस्ने भन्ने चाहिँ छ, तर कहाँ बस्ने भन्ने चाहिँ निचोड निस्केको छैन’, उनले भने । निर्धारण गरेअनुसारको मुआब्जा छिट्टै वितरणको प्रक्रिया सुरु गर्ने प्रवद्र्धक कम्पनीले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष निमा लामा, उपाध्यक्ष लक्ष्मी गुरुङ, वडाअध्यक्ष रामकुमार गुरुङ, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, कांग्रेस, एमाले र माओवादी पार्टीका प्रतिनिधिहरू, सल्लेरी, भालुवन, जगत, नाग्चेतका बासिन्दाहरू मुआब्जा निर्धारण गर्ने भेलामा सहभागी थिए ।

अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) प्रविधिको यो परियोजना निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो परियोजना हो । साहस ऊर्जाले सल्लेरीमा बाँध बाँधी ६.८ किलोमिटर भूमिगत सुरुङ हुँदै धार्चे—३ को तातोपानीस्थित पावर हाउसमा ३४१ मेगाबाट विद्युत् उत्पादन गर्ने भएको छ । सो विद्युत् ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको रातामाटे सवस्टेसनमा लगी केन्द्रीय प्रसारणमा जोडिनेछ ।

७० अर्ब रुपैयाँ लगानीमा साहस ऊर्जाको मुख्य लगानी र टाइम्स इनर्जीद्वारा प्रवद्र्धित सो परियोजनाका लागि बैंकबाट ५२ अर्ब ५० करोड रुपैयाँ कर्जा लिइएको छ  । यो परियोजनामा साहसको १७ अर्ब ५० करोड रुपैयाँ अर्थात् ५१ प्रतिशत लगानी हुनेछ  । कम्पनीले २०८७ सालको पुस १५ सम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको हिम पाठकले जानकारी दिए  । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.