२५ करोड प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दायर
काठमाडौं : २५ करोड बराबरको विदेशी मुद्रा प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दायर गरिएको छ। राजस्व अनुसन्धान विभागले आरोपी कुसाङ लामा र नारायण पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३.४५ र ९ को कसूरमा मुद्दा दायर गरिएको हो।
उनीहरूसँग २५ करोड, ३४ लाख, ७८ हजार ८४२ रुपैयाँ बिगो मागसमेत गरिएको छ। बरामद भएको विदेशी मुद्राको गत चैत ४ गतेको नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमय दरअनुसार उक्त रकम बिगो माग गरिएको हो।
चोरी पैठारी मुद्दामा सजाय भोगिसकेका लामाले सजाय भुक्तान गरेको पाँच वर्षभित्र पुनः कसूर गरेकाले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४४ (२) बमोजिम थप सजाय हुने भएको छ। त्यस्तै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ को उपदफा (१) बमोजिम बरामदित उक्त विदेशी मुद्राहरू जफत गर्न, उक्त वारदातमा प्रयोग भएको ना ७ ख १६५२ नम्बरको कन्टेनर (ट्रक) कसूरजन्य सम्पत्ति तथा साधन ( रोका, नियन्त्रण र जफत ) ऐन, २०७४ को दफा ११ बमोजिम जफतको माग दाबी लिई मुद्दा दायर गरिएको छ।
लामाले चलाएको ट्रकबाट ५००,२००,१०० र ५० दरका १३ लाख ७५ हजार १५० युरो र १०० र ५० दरका ३ लाख २० हजार ८५० अमेरिकी डलर बरामद गरिएको थियो। लामा प्रहरी हिरासतमा रहे पनि अर्का प्रतिवादी नारायण पौडेल फरार छन्।
प्रतिक्रिया दिनुहोस !