वीरगन्जमा सद्भाव कायम राख्न चौतर्फी अपील, अवस्था सामान्य बन्दै
वीरगन्ज : वीरगन्जमा दुई फरक धार्मिक समुदायबीच भएको विवादले गत शनिबारदेखि सिर्जित तनावलाई अन्त्य गर्दै सामाजिक र धार्मिक सद्भाव कायम राख्न चौतर्फी अपील गरिएको छ।
शनिबार हनुमान जन्मोत्सवको शोभा यात्राका क्रममा विवाद भई झडप भएपछि कर्फ्यु लगाइएकोमा अवस्था सामान्य हुँदै गएपछि स्थानीय प्रशासनले आइतबार राति १२ बजेदेखि कर्फ्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। तर, निषेधाज्ञा लगाइएकै बेला मंगलबार बेलुकीदेखि पुनः प्रदर्शन हुन थालेपछि वीरगन्जको अवस्था बिग्रिएको थियो। बुधबार बिहानैदेखि पनि चोक-चोकमा टायर बालेर प्रदर्शन हुन थालेपछि वीरगन्जमा तनावग्रस्त बन्यो।
सोमबारदेखि अवस्था सामान्य बन्दै गरेको वीरगन्ज मंगलबार बेलुकीदेखि तनावग्रस्त बन्न थालेपछि पर्साबाट संघीय सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू, जिल्लाका राजनीतिक दल, वीरगन्ज उद्योग वाणिज्य संघलगायतले बुधबार सामाजिक सञ्जालमार्फत र प्रेस विज्ञप्ति जारी गर्दै वीरगन्जमा सामाजिक र धार्मिक सद्भाव बिग्रन नदिन वीरगन्जबासी र धार्मिक संघसंगठनका अगुवाहरूसँग अपील गरेका हुन्।
बुधबार बिहान खानेपानी मन्त्री प्रदीप यादव र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सामाजिक सञ्जालमा स्टाट्स पोष्ट गर्दै वीरगन्जमा शान्ति र सद्भाव कायम राख्न अपील गरे। गत शनिबार शोभा यात्रामा झडपको घटना भएकै समयदेखि आफूहरू स्थानीय प्रहरी प्रशासन र विभिन्न धार्मिक अगुवाहरूसँग निरन्तर संवाद र छलफल गरेर वीरगन्जमा शान्ति र सद्भाव कायम गराउन प्रयासरत रहेको दुवै मन्त्रीले जनाएका छन्। उनीहरूले शनिबारको घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन पनि दिएका छन्।
त्यस्तै बुधबार वीरगन्जमा बसेको सर्वदलीय बैठकपछि राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वीरगन्जमा सामाजिक सद्भाव र शान्तिका लागि अपील गरेका छन्। समुदायमा सदियौंदेखिको भाइचारा, सामाजिक र धार्मिक सद्भावसँग मिलेर बसेको वीरगन्जमा अब उप्रान्त यसलाई खण्डित गर्ने खालका अभिव्यक्ति वा टिप्पणी कुनै पक्षबाट व्यक्त नगर्न उनीहरूले अनुरोध पनि गरेका छन्।
त्यस्तै वीरगन्ज उद्योग वाणिज्य संघले पनि शान्ति र सद्भाव कायम राख्न वीरगन्जबासीसँग अपील गरेको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संघले वीरगन्जको वर्तमानको असहज परिस्थितिलाई सबै पक्ष मिलेर समाधान गर्नेतर्फ सबैको सामूहिक भूमिका केन्द्रित हुनुपर्नेमा जोड दिएको छ।
त्यस्तै नेपाल जनता पार्टीले वीरगन्जमा धार्मिक सद्भाव बिथोलेर वीरगन्जलाई नै बदनाम गराउन खोज्ने अराजक तत्त्वहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ।
त्यस्तै विश्व हिन्दू परिषद नेपालले पनि बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै शनिबारको घटनामा संलग्न दोषीलाई कारबाही तथा वीरगन्जमा सामाजिक र धार्मिक सद्भाव कायम गराउन माग गरेको छ।
यसैबीच बुधबार नै पर्साका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूले पनि हिन्दूवादी संघसंगठनका अगुवाहरूसँग छलफल गरेका छन्। प्रमुख जिल्ला अधिकारी अर्याल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक गौतम मिश्र र सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले हिन्दूवादी संघसंगठनका अगुवाहरूसँग छलफल गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !