फिदिममा सोमबारदेखि प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
फिदिम । पाँचथर सदरमुकाम फिदिममा सोमबारदेखि “कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८१” सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्ला समन्वय समिति पाँचथरको कबर्डहलमा तीन दिनसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक जिल्ला खेलकुद विकास समिति पाँचथरले जनाएको छ ।
उक्त अवसरमा खुल्ला भेट्रान्स, सुपर भेट्रान्स, जनप्रतिनिधि र कर्मचारीको जोडीकोसमेत प्रतियोगिता सञ्चालन गरिने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । प्रदेश स्तरीय प्रतियोगितामा कोशीका १४ वटै जिल्लाका खेलाडीहरुले भाग लिने भएका छन् । यो प्रतियोगितातर्फ मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स डबल र मिक्स डबल गरी चार विधाका ५८ खेलाडीहरू सहभागी हुने निश्चित भएको छ । खुल्ला मेन्स डबल र मिक्स डबल बाहेक खुल्ला भेट्रान्स, सुपर भेट्रान्स, जनप्रतिनिधि र कर्मचारीको जोडीतर्फ देश भरीका खेलाडीले सहभागी हुन पाउने व्यवस्था गरिएको खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए ।
मेन्स सिंगल र वुमेन्स सिंगतर्फ प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै भेट्रान्स डबल र सुपर भेट्रान्सका विजेताले ३० हजार, उपविजेताले २० हजार र तृतीय हुनेले पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
मेन्स डबल्स र मिक्स डबल्सतर्फ प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले पाँच हजारसहति ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै जनप्रतिनिधि र कर्मचारीको जोडीतर्फ प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्
प्रतियोगिता सम्पन्न गर्न १८ लाख आवश्यक पर्ने आयोजकको अनुमान छ । प्रतियोगिता सञ्चालनका लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले १० लाख र फिदिम नगरपालिकासहित पाँचथरका स्थानीय तहहरूले आठ लाख रुपैयाँ सहयोग गर्ने मोक्तानले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !