६ करोडमा निर्मित तातोपानी स्नान गृह सर्वसाधारणका लागि खुला
सिन्धुपाल्चोक : नेपाल–चीन सीमा क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ मा रहेको तातोपानी धाराका स्नान गृह सर्वसाधारणको लागि खुला गरिएको छ। गाउँपालिकाले ६ करोड लागतमा निर्माण गरेको स्नान गृहलाई नेपाल सरकारका परराष्ट्र मन्त्री आरजु राणा देउवाले शुक्रबार उद्घाटन गरेसँगै सर्वसाधारणको लागि खुला गरिएको हो।
स्नान गृहको उद्घाटन गर्दै मन्त्री राणाले नेपालको तर्फबाट तातोपानी नाकाको विकास लागि धेरै प्रयत्न गर्नुपर्ने देखिएको औल्याउँदै नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकारको ध्यानाकर्षण गराइन्। उनले दुई देशको व्यापारिक नाकालाई व्यवस्थित गर्न सके मात्र राजश्व संकलन बढ्न सक्ने धारणा व्यक्त गरिन्।
तातोपानीमा स्नान गर्न आउने पर्यटकलाई व्यवस्थित स्नान गृहको निर्माण गरेकोमा गाउँपालिकालाई बधाई व्यक्त गर्दै उनले धारालाई व्यवस्थित गर्दा आम्दानीमा समेत वृद्धि हुने जनाइन्। राणाले नेपाल–चीन सीमा क्षेत्रको निरीक्षणसमेत गरिन्। उनलाई खासास्थित चिनियाँ अधिकारीले स्वागत गरेका थिए।
फरक प्रसंगमा बोल्दै मन्त्री राणाले राजनीतिक फेरबदलको खेल खेल्नु भन्दा विकास र समृद्धितिर ध्यान दिनुपर्नेमा जोड दिइन्। ‘अहिलेको समय भनेको सरकार फेरबदलको खेलमा रुमलिएको देखिन्छ’, उनले भनिन्, ‘तर नकारात्मकतातिर ध्यान दिनु भन्दा विकास निर्माणमा जोड दिनु आवश्यक छ।’
तातोपानीमा बाहिर देखिने गरी पुरानो सातवटा धारा छन्। हाल बनेका नयाँ भवनमा ४७ वटा बाथटब निर्माण गरिएको छ। तातोपानी धारा व्यवस्थित भएपछि पर्यटक र भक्तजनलाई स्नान गर्न सहज हुने तातोपानी गाउँपालिका-२ का अध्यक्ष कुमार श्रेष्ठले बताए।
प्राकृतिक रूपमै तातोपानीको मूल भएको सो स्थानमा परापूर्वकालदेखि नै आन्तरिक तथा बाह्य पर्यटक स्नानका लागि तातोपानी धारा आउँछन्। तातोपानीमा नुहाउँदा छाला तथा हड्डीसम्बन्धी बिरामी निको हुने विश्वास गरिन्छ।
प्रतिक्रिया दिनुहोस !