एनएसएल : कस्ता छन् प्लेअफ पुगेका चार टिम?
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को शीर्ष चार टिमको टुंगो लागेको छ। बिहीबार लिग चरणको अन्तिम खेलमा एफसी चितवनले धनगढी एफसीलाई ३-१ पराजित गर्दै प्लेअफ पुगेपछि शीर्ष ४ को समीकरण पूरा भएको हो।
७ टिमले सहभागीता जनाएका तेस्रो संस्करणको एनएसएलमा बुटबल लुम्बिनी एफसी, झापा एफसी र काठमाडौं रेजर्स भने लिग चरणबाटै बाहिरिइसकेका छन्। शीर्ष स्थानमा रहेको साविक विजेता ललितपुर सिटी एफसीले पहिलो क्वालिफायरमा धनगढी एफसीसँग खेल्नेछ। यस खेलको विजेता टिम सिधैं फाइनल प्रवेश गर्नेछ भने हार व्यहोर्ने टिमले दोस्रो क्वालिफायर खेल्नेछ।
एलिमिनेटरमा तेस्रो स्थानमा रहेको एफसी चितवन र पोखरा थन्डर्स एलिमिनेटर खेल्नेछन्। एलिमिनेटरको विजेता टिमले पहिलो क्वालिफायरमा हार व्यहोर्ने टिमसँग दोस्रो क्वालिफायर खेल्नेछ।
ललितपुर सिटी एफसी
साविक विजेता ललितपुर सिटी एफसी आफ्नो उपाधि रक्षा गर्ने होडमा हुनेछ। राष्ट्रिय टिमका डिफेन्डर अनन्त तामाङको कप्तानी रहेको यो टिम निकै सन्तुलित देखिन्छ। साविक विजेताको रूपमा तेस्रो संस्करणको लिग चरणमा अपराजित रहँदै ललितपुरले पहिलो क्वालिफायर खेल्नेछ। पहिलो क्वालिफायरमा पुरानो प्रतिद्वन्द्वी धनगढी एफसीसँग ललितपुरले खेल्नेछ। यही संस्करणको लिग चरणमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए। ललितपुरले लिगको ६ खेलमा ३ जित र ३ बराबरीसँगै १२ अंक लिएर लिगको शीर्ष स्थानमा रहेको छ।
ललितपुरका प्रशिक्षक सिमोन ग्रेसनले लिग चरणमा अपराजित रहँदै क्लालिफायर खेल्नु खेलाडीको मेहनतको प्रतिफल रहेको बताए। उनले भने, ‘लिग चरणमा ३ जित र ३ बराबरीको नतिजा निकाल्नु खेलाडीको मेहनतले गर्दा हो।’ उनले अन्तिम खेलमा झापा एफसीसँग १-१ बराबरीमा खेल सकाएपछि पत्रकारसँग भनेका थिए।
लिग चरणको अन्तिम खेलमा कप्तानी गरेका सनिस श्रेष्ठ भन्छन्, ‘हाम्रो लागि लिगको यात्रा मिसिएको अनुभव लिएर सकियो। सुरुका खेलहरूमा मोमेन्टम बनाउन गाह्रो भएको थियो तर लिगमा अपराजित रहँदै क्वालिफायर खेल्नु राम्रो हो।’
झापा एफसीसँग खेलअघि नै ललितपुर सिटी एफसी प्लेअफ पुगिसकेको थियो। शीर्ष २ मा पक्का भइसक्दा टिमले पहिलो रोजाइका प्रायः खेलाडीलाई आराम दिएको थियो। धनगढीसँग पहिलो क्वालिफायरका लागि टिम तयार रहेको डिफेन्डर सनिस श्रेष्ठले बताए। ‘सेमिफाइनल खेल हो। जसका लागि हाम्रो टिम तयार नै छ।’ प्रशिक्षक सिमोन पनि टिम तयार रहेको बताए। ‘धनगढी राम्रो प्रतिस्पर्धी हो। जसका लागि हामी २ दिनको आरामले रिकभर भएर राम्रो खेल्नेछौं,’ उनले भने।
धनगढी एफसी
पहिलो क्वालिफायरमा धनगढी एफसीले ललितपुर सिटी एफसीसँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टिम दोस्रो संस्करणको एनएसएलमा फाइनलमा भिडेका थिए। यी दुई टिमले एकअर्कालाई राम्ररी चिनेका छन्। साविक उपविजेताको रूपमा चित्त बुझाउन परेको धनगढी यसपटक ललितपुरलाई हराउँदै फाइनल पुग्न चाहन्छ। दोस्रो सिजनका केही उत्कृष्ट खेलाडी र केही नयाँ खेलाडी थप्दै धनगढीले टिम बलियो बनाएको छ। लिग चरणका ६ खेलमा ३ जित, २ बराबरी र १ हारसहित धनगढीले ११ अंक जोड्दै शीर्ष २ मा आफूलाई उभ्याएको छ।
धनगढीका प्रशिक्षकले चितवनसँगको खेलमा आफ्नो बेन्चमा रहेका खेलाडीलाई परीक्षण गरे। चितवनसँगको खेल धनगढीका लागि भन्दा पनि चितवन र काठमाडौंका लागि महत्त्वपूर्ण थियो। लिगको अन्तिम खेलमा चितवनसँग ३-१ ले पराजित भए पनि यो नतिजाले धनगढीलाई भने अंक तालिकामा खासै फरक परेन।
धनगढीका प्रशिक्षक जौन म्यानुअल मार्टिनेजले अन्तिम खेलमा हार व्यहोरेपछि पत्रकार सम्मेलनमा भने ‘हामीले केही गल्ती गर्यौं। हामीले डिफेन्सको निर्णयमा गल्ती भयो। हामीले विपक्षीलाई आक्रमण गर्न मौका दियौं,’ अन्तिम खेलपछि उनले भने।
अन्तिम खेलसम्म उनले बेन्चमा रहेका सबै खेलाडीलाई मैदानमा उतारेका थिए। ‘कुन खेलाडीले कस्तो प्रदर्शन गर्छन् भन्ने थाहा पाउन मैले सबै युवा खेलाडीलाई मौका दिएको थिएँ,’ उनले भने। ललितपुरसँगको खेलबारे प्रशिक्षक मार्टिनेजले भने, ‘यो निकै कठिन खेल हुनेछ। हामी ९० मिनेटभित्रै नतिजा निकाल्न कोसिस गर्नेछौं।' ललितपुरसँगको खेलमा रंगशाला भरिने उनको अपेक्षा छ।
एफसी चितवन
एनएसएलको तेस्रो संस्करणमा आएर पहिलो पटक प्लेअफ पुगेको टिम हो, एफसी चितवन। युवा संस्थापकको नेतृत्वमा रहेको एफसी चितवन अन्तिम खेलमा धनगढी एफसीलाई हराउँदै प्लेअफ पक्का गरेको हो। अन्तिम खेलमा चितवन हारेको भए काठमाडौं प्लेअफ पुग्ने समीकरण थियो। चितवनले जित निकाल्दा पहिलो संस्करणको एनएसएल विजेता टिम काठमाडौं रेजर्स प्लेअफ समीकरणबाटै बाहिरिएको छ।
चितवनका लागि राष्ट्रिय टिमका खेलाडी अञ्जन विष्टले टिमको कप्तानी गरिरहेका थिए। चोटका कारण उनी अन्तिम खेलमा मैदान बाहिर रहे। अञ्जनको चोटको बारेमा प्रशिक्षक नवीन न्यौपाने भन्छन्, ‘उसको चोट माइनर इन्जुरी नै भनिएको छ। तर, उसले खेल्ने, नखेल्ने भने फिजियोले जसरी भन्नुहुन्छ त्यहीअनुसार गर्नेछौं। पछि गाह्रो हुने तरिकाले जबरजस्ती खेलाउँदैनौं।’
नवीनको लागि प्लेअफमा स्थान बनाउनु पहिलो खुड्किलो पार गरेको सरह भएको छ। नवीनले लिग चरणको अन्तिम खेलमा धनगढीलाई हराएपछि भने, ‘धनगढीसँगको खेल निकै प्रेसर थियो। चोटका कारण बाहिरिएका खेलाडी पनि टिममा फर्कने सम्भावना छ। युसुफ पनि अर्को खेलमा फर्कन्छ। अर्को खेल हामी प्रेसर बिना खेल्छौं।’
नवीनका लागि टिमलाई प्लेअफ पुर्याउनु नै ठूलो चुनौती थियो। एलिमिनेटरमा नवीनले पूर्व क्लब पोखरा थन्डर्सको सामना गर्नेछन्। ‘पोखरा मेरो पूर्व टिम हो। विदेशी खेलाडीले जति चुनौती दिनुपर्ने त्यति दिन सकेको छैन। हाम्रो टिमलाई फाइनल पुर्याउने लक्ष्य लिएर हिड्नेछौं,' उनले भने।
पोखरा थन्डर्स
पोखराले लिग चरणको अन्तिम खेलमा बुटवल लुम्बिनीलाई २-० गोलले पराजित गर्दै प्लेअफ पुगेको हो। लिग चरणको ६ खेलमा २ जित, २ हार र २ बराबरीसहित पोखराले ८ अंक जोड्दै प्लेअफ पुगेको हो।
सुरुको २ खेलमा हार व्यहोरेको पोखराले ‘बाउन्स ब्याक’ गर्दै प्लेअफमा आफ्नो नाम दर्ता गरायो। प्लेअफ पुगिसकेपछि पोखराका प्रशिक्षक सुमन श्रेष्ठ भन्छन्, ‘२ खेलपछि हाम्रो टिममा तालमेल मिल्यो। मेरो लक्ष्य नै प्लेअफ थियो, प्लेअफ पुग्यौं खुसी छु। खेलाडीहरूले निकै राम्रो खेले।’
प्रशिक्षक श्रेष्ठले पोखरा खेलाडीहरू एकै ठाउँमा प्रशिक्षण गर्न नपाएको बताए। उनले प्लेअफमा केही रणनीतिक सुधारसहित सकरात्मक सोचका साथ अगाडि बढ्ने बताए।
पोखराका स्ट्राइकर आयुष घलानले टिमको प्रमुख लक्ष्य उपाधि जित्ने रहेको बताए। ‘हाम्रो प्रशिक्षकले टिमलाई एकजुट बनाएर खेलाउन निकै महत्त्वपूर्ण भूमिका खेल्नुभयो। हामीले एकजुट भएर खेल्यौं भने उपाधि जित्न सक्छौं,’ उनले भने।
प्रतिक्रिया दिनुहोस !