ट्याक्टर दुर्घटनामा युवकको मृत्यु, चालकसहित ४ जना घाइते
विराटनगर : मोरङको मिक्लाजुङमा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ। मिक्लाजुङ गाउँपालिका–९ आठसरेस्थित मधुमल्ला–उर्लाबारी सडक खण्डमा दुर्घटना हुँदा ट्याक्टरका चालकसहित ४ जना घाइते भएका छन्।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको मे २ त ८३५६ नम्बरको खाली ट्याक्टर आफैं अनियन्त्रित भएर दिउँसो १२:३५ बजेतिर दुर्घटनामा परेको जानकारी दिए। दुर्घटनामा परेर ट्याक्टरमा सवार मोरङको उर्लाबारी नगरपालिका–४ का अन्दाजी २० वर्षीय निशान भनिने लाजेहाङ लिम्बूको मृत्यु भएको उनले बताए।
लिम्बूलाई निक्कै बेर ट्याक्टरले किचेको थियो। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको इन्स्पेक्टर रन्जनकुमार बराल नेतृत्वको टोलीले जेसीबीको सहयोग लिई उद्धार गरेर उपचारका लागि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठायो। ट्याक्टरले किचेर गम्भीर घाइते भएका लिम्बूलाई अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर ट्याक्टर चालक उर्लाबारी–५ का २९ वर्षीय दिलबहादुर धिमाल, १८ वर्षीय, निर्जल विक, २० वर्षीय सुरज बर्देवा र १६ वर्षीय अमिर सुनुवार घाइते भएका छन्। प्रहरीका अनुसार उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेका घाइतेको अवस्था सामान्य छ।
दुर्घटनालगत्तै फरार भएका ट्याक्टर चालक धिमाल प्रहरीले खोजतलास गरेर फेला पार्दा घाइते अवस्थामा भेटिएका हुन्। ट्याक्टरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। इन्स्पेक्टर रन्जनकुमार बराल नेतृत्वकै टोलीले घटनाको थप अनुसन्धान सुरु गरेको छ।
प्रतिक्रिया दिनुहोस !