म्यागङमा पालिकास्तरीय भलिबल
नुवाकोट : म्यागङ गाउँपालिकाको आयोजनामा तेस्रो अध्यक्ष कप राष्ट्रिय भलिबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ।
प्रतियोगिताको पूर्वमन्त्री अर्जुननरसिंह केसीले उद्घाटन गरेका थिए। प्रतियोगितामा विभिन्न जिल्लाका स्थानीय तहका १५ टोलीको सहभागिता रहेको छ। म्यागङ गाउँपालिकाका अध्यक्ष आशाबहादुर तामाङले ऐतिहासिक स्थल सामरीको जालपा मन्दिर परिसरमा प्रतियोगिता सञ्चालन गरिएको बताउँदै खेलाडीको स्तर विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा सो मन्दिरमा पूजा गरी नुवाकोट विजय हासिल गरेको हुनाले उक्त स्थानमा तेस्रो संस्करणको राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन गरिएको हो।
प्रतियोगितामा पहिलो हुनेले तीन लाख तीन हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ। यस्तै दोस्रो र तेस्रोले क्रमशः दुई लाख दुई हजार दुई सय २२ र एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने सहआयोजक म्यागङ गाउँपालिका युवा क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !