भारततर्फ लैजाँदै गरेका करिब ६ हजार कुखुराका चल्ला बरामद
नवलपरासी : नेपालबाट भारततर्फ अवैधरुपमा लगिरहेको अवस्थामा प्रहरीले झण्डै ६ हजार बोइलर कुखुराका चल्ला बरामद गरेको छ । नवलपरासीको सीमावर्ती क्षेत्र पाल्हीनन्दन गाउँपालिका–५ को गेर्मीस्थित चमनटोला नाकाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ५ हजार ४ सय चल्ला बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बीरदत्त पन्तले जानकारी दिए ।
यसअघि भारतबाट नेपालतर्फ अवैधरुपमा कुखुराका चल्ला आउने गरेपनि अहिले भने नेपालबाट भारततर्फ जानेक्रममा पहिलो पटक बरामद भएको प्रहरीले जनाएको छ । सीमा नाकाको दसगजा क्षेत्रबाट बाँसको भारमा बोकेर लैजाँदै गरेको अवस्थामा ९० कार्टुन चल्ला बरामद भएको डिएसपी विष्टले बताए । ओसारपसारमा संलग्न व्यक्तिहरू भने फरार रहेको प्रहरीले जनाएको छ ।
डिएसपी विष्टका अनुसार बरामद गरिएका चल्ला नष्ट गरिने छ ।
दुवै देशतर्फ कुखुरा र चल्लाको ओसारपसारमा प्रतिबन्ध रहेकाले भन्सार नहुने महेशपुर भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले बताए । चालु आर्थिक वर्षको चैतमसान्तसम्म भारतबाट नवलपरासी भित्रिँदै गरेका १२ लाख १६ हजार बराबरको करिब १२ हजार चल्ला बरामद गरी नष्ट गरिएको महेशपुर पशु क्वारेन्टाइन चेक पोष्टका क्वारेन्टाइन अधिकृत डा. मनोज अधिकारीले जानकारी दिए । भारतबाट नेपालतर्फ कुखुरा र चल्ला आउने गरेपनि नेपालबाट भारततर्फ चल्ला गएको आफूले पहिलो पटक पाएको अधिकारीले बताए ।
पछिल्लो समय नेपालभन्दा भारतमा कुखुरा र चल्लाको मूल्य बढेकाले भारततर्फ नेपाली बोइलर कुखुरा र चल्लाको अवैध ओसार पसार हुन थालेको पोल्ट्री व्यवसायीहरूले बताएका छन् । व्यवसायीहरूका अनुसार अहिले भारतमा एउटा चल्लाको ९० देखि ९५ नेपाली रुपैयाँ रहेको छ । जुन नेपालमा ३० देखि ३५ रुपैयाँमा खरिद बिक्री भइरहेको व्यवसायीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !