जागौं युवा

जागौं युवा

नेपाली जनताको संघर्ष, बलिदान र एकताको बलमा नेपालमा लोकतन्त्र आएको हो। लोकतन्त्रको स्थायित्व र समृद्धि निम्ति युवाहरूको सक्रिय र सकारात्मक भूमिका अनिवार्य छ।

राजनीतिक उपलब्धिका हिसाबले वैशाख ११ गते नेपालको इतिहासमा अभुतपूर्व, असाधारण र अविस्मरणीय दिन हो । २०६२÷६३ को जनआन्दोलन अघि नेपाली समाजलाई एक प्रकारले घोकाइएको थियो, एक प्रकारले अभ्यास गराइएको थियो । यहाँसम्म हुन्थ्यो पाठशालामा पढ्न जाँदा अ र क नसिक्दै बाल मस्तिष्कले जहाँ सिंगो नेपाल हुन्छ, त्यहाँ राजारानी हुन्छ, भन्ने गीत कण्ठस्थ पार्नुपर्ने बाध्यता थियो । देश र जनताका कुरा होइन राजारानी र राजसंस्थाका तथाकथित गाथा सुगा रटाइ गर्नुपथ्र्यो । राजारानी बिनाको देश सम्भवै हुँदैन र छैन भन्ने भाष्यले तत्कालीन समाजमा पूरै संक्रमित थियो ।

व्यक्ति, जहान र परिवारको हुकुमी शासनका विरुद्ध दशकौंदेखिको संघर्षले २०६३ वैशाख ११ गते सफलता प्राप्त गरेको हो । सात राजनीतिक दलहरूको गठबन्धन र माओवादीको विद्रोहको दबाबमा तत्कालीन राजा ज्ञानेन्द्रले एक सन्देशमार्फत प्रतिनिधिसभा पुनःस्थापना गर्न बाध्य भएका थिए । वास्तवमा वैशाख ११ गते प्रतिनिधिसभा पुनःस्थापना मात्र भएको थिएन, बेलाबेला दरबारको अपहरणमा परिरहने लोकतन्त्र सदाका निम्ति अपहरण मुक्त भएको थियो ।

प्रतिनिधिसभा पुनःस्थापना र लोकतन्त्र पुनःस्थापनाले सदियौं देखिको निरंकुश राज्यसत्ताको अन्त्य गरेको थियो । नेपाली जनताको संघर्ष, बलिदान र एकताको बलमा नेपालमा लोकतन्त्र आएको हो । विधिको शासन, स्वतन्त्रता, समानता, प्रेस स्वतन्त्रता र सामाजिक न्यायका निम्ति धेरै विरहरूले ज्यानको आहुति दिएका छन् । ती महान वीरहरूको बलिदानी र त्यागको जगमा लोकतन्त्र उभिएकोे छ । लोकतन्त्रलाई अझ परिपूर्ण लोकतन्त्रमा परिणत गरी दिवंगत सहिदहरूलाई न्याय दिनुपर्ने आजको आवश्यक्ता हो । 

लोकतन्त्र, युवा र राजनीतिक जागरण
लोकतन्त्रको स्थायित्व र समृद्धिका निम्ति युवाहरूको सक्रिय र सकारात्मक भूमिका अनिवार्य छ । राजनीतिक चेत सहितका सक्रिय र सकारात्मक युवाशक्तिले मात्र लोकतन्त्रको रक्षा गर्न सक्छन् । युवाहरू देशको भूगोलका मात्र भविष्य होइन, देशभित्रको राजनीतिक प्रणालीका पनि भविष्य हुन् । अझै लोकतान्त्रिक व्यवस्थाका त युवाहरू साझेदार पनि हुन । किनकि लोकतन्त्र मात्र यस्तो प्रणाली हो जहाँ सबै प्राणीको प्राणसंग जोडिएको हुन्छ ।

लोकतन्त्रको स्थायित्व र समृद्धिका निम्ति लोकतान्त्रिक गतिविधिमा युवाशक्तिलाई जोड्न सक्दा मात्र लोकतन्त्र बलियो हुने हो । युवा भनेको जोस् हो, जागर हो, बल हो र उत्प्रेरित समय हो । यो अवस्था र समयको उचित सदुपयोग र व्यवस्थापन गर्न सक्ने राज्य व्यवस्था चाहिन्छ । 

समयको मागअनुसार प्रकट हुने युवा चाहनालाई राज्यले सम्बोधन गर्नसक्दा मात्र युवाशक्तिको उत्पादनशील क्षमतालाई सही–सही ठाउँमा प्रयोग गर्न सकिन्छ । युवाशक्तिको सहभागिता बेगर देश निर्माणको अभियान अपुरो र अधुरो रहन जान्छ । युवाहरू देशका मेरुदण्ड हुन भनिरहँदा समकालीन समाजमा युवाहरू देशको कुन तहमा कस्तो भूमिकामा छन् ? यो महत्वपूर्ण विषय हो ।

अहिलेका युवाहरूको जोस्, जागर र उत्पादनशील क्षमता राज्यले सकारात्मक दोहन गर्न सकेको छ कि छैन ? गरेको छ भने  राज्यका कुन–कुन ठाउँमा ४० मुनिका युवाहरूको सहभागिता कति छ ? युवाहरूको सुनिश्चित सहभागिताका निम्ति राज्यको नीति कस्तो छ ? यस्ता विषयको निरुपणका निम्ति बलियो संगठन र राजनीतिक चेत युवामा हुन जरुरी छ । युवाशक्तिको ऊर्जालाई उज्यालोमा परिणत गर्ने बलियो संगठन चाहिन्छ र संगठन निर्माण गर्ने कुरा लोकतन्त्रमा मात्र सम्भव हुन्छ । लोकतन्त्र भनेकै व्यक्तिका मत अभिमतलाई उमार्ने, हुर्काउने र फुलाउने, फलाउने बगैंचा हो । 

सकारात्मक परिवर्तन र युवा नेतृत्व 

युवाहरू परिवर्तनका संवाहक हुन भने लोकतन्त्रमा युवा नेतृत्वको विकास अत्यावश्यक छ । किनभने युवा वर्ग देशको सबैभन्दा ऊर्जाशील र रचनात्मक शक्ति हो । उनीहरूमा नवीन सोच, ऊर्जा र परिवर्तन ल्याउने क्षमता हुन्छ । नेपालमा प्रजातन्त्रका खातिर प्रथम सहिद लखन थापा मगरदेखि महान सहिद दशरथ चन्द, गंगालाल    श्रेष्ठ, शुक्रराज शास्त्री र धर्मभक्त माथेमा जस्ता विर योद्धाहरू राणा विरोधि अभियानमा लागेकै कारण युवाअवस्थामै मृत्यु वरण गर्नुपरेको थियो ।

त्यसैगरी आजभन्दा ७/८ दशकअघि कलकलाउँदो युवावस्थामै कमरेड पुष्पलाल श्रेष्ठ, बीपी कोइराला, गणेशमान श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, जननेता मदनकुमार भण्डारी, महिला नेत्री साहना प्रधान, सैलजा आचार्य जस्ता नेताहरू लोकतन्त्रका निम्ति युवा हुँदै भूमिगत भएर गाउँगाउँमा राजनीतिक जागरणका अभियान चलाएका थिए । किशोरावस्थामै हुँदा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका निम्ति आन्दोलन गर्दापछि चौध वर्ष जेल बस्नु परेको थियो । 

नेकपा एमालेले वैशाख ११ गते काठमाडौंमा युवा सेलिब्रेसन उत्सवको आयोजना गर्दै छ । जुन सेलिब्रेसनले सिंगो युवापंक्तिलाई लोकतन्त्रसँग जोड्ने मात्र होइन एउटा नयाँ आशा र विश्वासको सकारात्मक सन्देश देशमा प्रवाह गर्ने छ ।

त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका अहिलेका शीर्ष नेताहरू कलिलो उमेरमै लोकतन्त्र, प्रजातन्त्र र अधिकार प्राप्तिका आन्दोलनमा होमिएका थिए । माथि उल्लेखित नेताहरूको पंक्तिले परिवर्तनका निम्ति धेरै दुःख गरेको छ । यो पंक्तिले आफ्नो युवाकाल लोकतन्त्र र प्रजातन्त्रका निम्ति खर्चेकाले नेपालमा लोकतन्त्र सम्भव भएको हो  धेरै नेताहरूको अनवरत संघर्षको परिणाम नेपालमा लोकतन्त्र आएको हो । निश्चय नै अहिलेको लोकतन्त्र धेरै युवाहरूको बलिदान, योगदान र त्यागका कारण प्राप्त भएको हो । युवा नेतृत्व विकास भनेको वर्तमानको लगानी हो,जसको प्रतिफल समृद्ध, समावेशी र न्यापूर्ण भविष्यको रूप लिन्छ ।

युवालाई नेतृत्वमा स्थापित गर्नु भनेको उनीहरूको जोस, सोच र सक्रियता समाजका सबै तहमा प्रतिबिम्बित गराउनु हो । लोकतन्त्रलाइ दिगो र परिवर्तनलाई स्थायी बनाउने हो भने युवालाई नेतृत्वमा स्थापित गराउनै पर्ने हुन्छ । सकारात्मक परिवर्तनका निम्ति क्षमतावान संगसंगै धैर्यवान जनशक्ति चाहिन्छ । धैर्यता सहितको क्षमतावान युवाले मात्र परिवर्तनका अभियानमा निरन्तरता दिन सक्छ ।

अपेक्षा र चाहना 
अहिलेको युवापंक्ति आफैंमा स्मार्ट छ, बिहानको चिया कप संगै संसारसँग साक्षात्कार गरी भ्याउँछ । विज्ञान, प्रविधि र आधुनिकताले यो पुस्तालाई झाँगेको छ । आफूलाई उठाउने र डुबाउने स्मार्ट फोन हातमा बोकेर हिड्छ । पौरखभन्दा गफमा विश्वास गर्छ । नेचुरलभन्दा मेकअपमा विश्वास गर्छ । संसार बुभ्न,डुल्न र घुम्न चाहन्छ । नजीकका अवसर भन्दा टाढाका चुनौतीहरूसँग साक्षात्कार गर्न चाहन्छ । अवसर पाए गर्न सक्ने दृढ संकल्प बोकेको आजको युवापंक्ति उचित अवसरको खोजीमा रुमल्लिएको छ । अपेक्षा, चाहना र उचित क्षमता हुँदाहुँदै जीविकोपार्जनका निम्ति भौतारिनु परेको छ । 

युवा बेरोजगारी दर देशमा ठूलै भए पनि नेपालमा केही छैन, केही गर्न सकिँदैन भन्ने भाष्य पूर्णतया गलत हो । नेपालमै बसेर धेरै गर्न सकिन्छ किनभने नेपाल जल, जमिन, जंगल र पर्याप्त युवा जनशक्ति भएको देश हो । युवाहरूलाई देशसँग जोड्ने राजनीतिक व्यवस्था लोकतन्त्र भएको देश हो । लोकतन्त्रले दिएको राजनीतिक र आर्थिक स्वतन्त्रता स्वदेशमै प्रयोग गरी देश बनाउने युवाशक्ति आज चाहिएको छ । युवाशक्तिलाई देशसँग जोड्ने राजनीतिक व्यवस्था भनेकै लोकतन्त्र हो ।

लोकतन्त्रको स्थायित्वका निम्ति ऊर्जावान युवाशक्तिलाई लोकतन्त्रसंग जोड्नुपर्ने हुन्छ । खुला राजनीतिक चेतनासहितको स्वाभिमानी युवाशक्तिले मात्र देश, परिवार र समाजको सेवा गर्न सक्छ । हामी युवा, जागौं युवा भन्ने मान्यतालाई सर्वव्यापी बनाउन राजनीतिक दलले युवालाई प्राथमिकताको पंक्तिमा राख्नै पर्ने देखिन्छ । यही उद्देश्यलाई जीवन्त बनाउन नेकपा एमालेले वैशाख ११ गते काठमाडौंमा युवा सेलिब्रेसन उत्सवको आयोजना गर्दै छ । जुन सेलिब्रेसनले सिंगो युवापंक्तिलाई लोकतन्त्रसँग जोड्ने मात्र होइन एउटा नयाँ आशा र विश्वासको सकारात्मक सन्देश देशमा प्रवाह गर्ने छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.