विराटनगरमा प्रमुख प्रशासकीयलाई हाजिर हुन नदिने तयारी

विराटनगरमा प्रमुख प्रशासकीयलाई हाजिर हुन नदिने तयारी
विराटनगर महानगरपालिकाको कार्यालय र प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएका रामचरित्र मेहता ।
सुन्नुहोस्

विराटनगर : विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएका रामचरित्र मेहतालाई हाजिर हुन नदिने तयारी गरिएको छ ।

मेहताको सरुवालाई लिएर मेयरलगायतका जनप्रतिनिधि रुष्ट बनेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ४७ जना सहसचिवको सरुवा गर्दा विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतका रूपमा मेहताको नाम परेको थियो । मेयर नागेश कोइरालाले सल्लाह नगरी मन्त्रालयले मनखुसी प्रमुख प्रशासकीय पठाएकाले मेहतालाई स्वीकार गर्न नसकिने बताए । 

मेहता यसअघि सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा विवादमा तानिएको कोइरालाको भनाइ छ । पटक–पटक विवादमा परेको भन्दै मेयर, उपमेयरसहितका जनप्रतिनिधिले उनलाई विराटनगर हाजिर हुन नदिने तयारी गरेका हुन् । मेहताले आफूसँग सहमतिसमेत नलिइ सरुवा मागेको र कार्यशैली ठीक नदेखिएकोले स्वीकार्न नसकिने कोइरालाले बताए । मन्त्रालयले समेत प्रमुख प्रशासकीय अधिकृत पठाउँदा एकपटक पनि समन्वयन नगरेको उनको गुनासो छ । 

आफूहरुलाई काम गर्ने कर्मचारी चाहिएको बताउँदै मेयर कोइरालाले ‘सेटिङ’मा प्रमुख प्रशासकीय पठाइएकाले चुप लागेर नबस्ने अडान लिए । विगत विवादित भएकाले मेहतालाई महानगर प्रवेशमा रोक लगाइने उनले बताए । ‘प्रमुख प्रशासकीय अधिकृत पठाउँदा १ पटक हामीसँग त समन्वय गर्नु पर्छ नि । न मन्त्रालयले गर्यो । न त सचिवले नै,’ उनी भन्छन्, ‘मेयर र जनप्रतिनिधिसँग एक वचन पनि नसोध्ने ? अनि माथिबाट ‘सेटिङ’ गरेर पठाइदिएपछि हामीले स्वीकार्नु पर्ने ? हामी काम गर्ने जनप्रतिनिधिलाई सहज खालको प्रमुख प्रशासकीय आवश्यक परेको छ ।’

विशेष गरेर मेहता इटहरीमा विवादित बनेकाले पनि विराटनगरमा स्वीकार गर्न गाह्रो परेको महानगरका कर्मचारीहरुको बुझाइ छ । १ कर्मचारी भन्छन्, ‘इटहरीमा हुँदा विवाद सिर्जना गर्ने मुख्य भूमिकामा रहेका व्यक्तिलाई अहिले फेरि विराटनगरको प्रमुख प्रशासकीय बनाएर पठाउने काम भयो । मेयर र उपमेयरसहितका जनप्रतिनिधिले खुलेर विरोध गरिरहेका छन् ।’ 

जनप्रतिनिधिहरुले बरु अरुलाई नै प्रमुख प्रशासकीय बनाएर पठाउनुपर्ने माग गरेका छन् । तर, प्रमुख प्रशासकीय पठाउन लाग्दा १ पटक भएपनि सोध्नुपर्ने उनीहरुको भनाइ छ । ‘यो मान्छेलाई पठाउन लाग्यौं । काम गर्न सकिन्छ कि सकिँदैन भनेर सोध्नु पर्दैन ?,’ मेयर कोइराला भन्छन्, ‘काठमाडौंबाट जे गरे पनि हामीले ठीक भन्नुपर्ने ? त्यो कदापि हुँदैन ।’ 

मेहता युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत कार्यरत थिए । मेहताले आफूलाई हाजिर हुन नदिने कुरा सुनेर आश्चर्य लागेको बताए । ‘किन उहाँहरुले त्यस्तो कुरा गर्नु भयो ? मैले बुझन् सकेको छैन,’ उनी भन्छन्, ‘सरुवा मसँग जोडिएको विषय हैन । संघीय सरकारले गरेको हो ।’ 

संघीय सरकारले दरबन्दी मिलान गरेकाले महानगरमा हाजिर हुन नदिने भन्ने कुरा नहुने मेहताको भनाइ छ । ‘म विराटनगरकै मान्छे हुँ । आफ्नै माटो र यहीँका लागि केही गर्नुपर्छ भन्ने लागेको छ । म विराटनगर हाजिर हुँदा कसैलाई केही अप्ठेरो हुन्छ होलाजस्तो लाग्दैन,’ उनले भने । 

आफ्नो सरुवालाई विवादित बनाउन खोजिएको गुनासो उनको छ । सरकारले नियम कानुन अनुसार सरुवा गरेकाले केही दिनमा रमाना बुझेर आफू विराटनगर हाजिर हुने मेहताले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.