तकसेरा–क्यूवाङ–काँक्री सडकखण्ड आंशिक बन्द
रूकुम पूर्व : रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका अन्तर्गत पर्ने तकसेरा, क्यूवाङ र काँक्री सडकखण्ड आंशिक रूपमा बन्द भएको छ । सडक स्तरोन्नतिको काम भइरहेका कारण गाउँपालिकाले दैनिक दुई पटक सडक बन्द गर्ने तालिका सार्वजनिक गरेको हो ।
गाउँपालिकाका अनुसार सडकमा निर्माण कार्य तीव्र गतिमा भइरहेको हुँदा सवारी साधन सञ्चालनमा असहज हुने भएकाले सुरक्षित आवागमन सुनिश्चित गर्न सडक बन्द गर्नु परेको हो । तकसेरा–क्यूवाङ हुँदै काँक्री जान–आउन प्रयोग हुने सडकखण्डमा यो सूचना लागू हुने प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत विकका अनुसार बिहान ७ देखि ११ बजेसम्म र दिउँसो १ देखि साँझ ५ बजेसम्म सडक पूर्णरूपमा बन्द रहनेछ । बाँकी समय भने सवारी आवागमनका लागि खुला रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !