माेरङमा तनावग्रस्त, हवाई फायर र अश्रुग्यास प्रहार

माेरङमा तनावग्रस्त, हवाई फायर र अश्रुग्यास प्रहार

विराटनगर : टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मोरङको सुन्दरहरैँचा नगरपालिका-१ स्थित हरैँचा बजार शुक्रबार करिब ३ घण्टा तनावग्रस्त बन्न पुग्यो।

दुर्घटनालगत्तै जम्मा भएको भिडको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार विराटनगर–विराटचोक सडक खण्डअन्तर्गतको हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १-०२-०५३ प ७०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीको दुहबी नगरपालिका-९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको हो। 

दुर्घटना शुक्रबार बिहान १०ः५० बजेतिर भएको हो। विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको टिपरले सोही दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए। दुर्घटनालगत्तै भिड जम्मा भएर विराटनगर–विराटचोक सडक खण्ड अवरुद्ध बनाउँदै प्रदर्शन र ढुंगामुढा गर्दा स्थिति तनावग्रस्त बन्न पुगेको उनको भनाइ छ। 

अवस्था नियन्त्रण बाहिर जान नदिन मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशी र अर्का डीएसपी मदन केशीको नेतृत्वमा ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो । विभिन्न युनिटबाट थप मद्धतका लागि प्रहरी लगियो। ठूलो संख्यामा सशस्त्र प्रहरीसमेत परिचालन गरिएको थियो।

एसपी चिमरियाका अनुसार आक्रामक र उत्तेजित बनेको भिडले ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर र ८ सेल अश्रुग्यास प्रहार गरिएको छ। वरपरका करिब ४-५ सय जनाको भिडले घटनास्थलमा रहेको टिपर हटाउने क्रममा ढुंगामुढा गरेको उनले बताए। 

मृतकको शवलाई सडकबाट उठाउन अवरोध गर्दै भिडले प्रदर्शन र ढुंगामुढा गर्न थालेपछि अवस्था निक्कै बेरसम्म तनावपूर्ण बनेको हो। प्रदर्शनमा उत्रिएका स्थानीयले शव सडकमै राखेर प्रदर्शन गर्दै टिपरमा आगजनीको प्रयास गरेका थिए। निरन्तर ढुंगामुढा गरेका थिए। ढुंगा प्रहारबाट डीएसपी जोशी घाइते भएका छन्। अनुहारमा ढुंगाले लागेका उनको अवस्था सामान्य रहेको छ। उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ।

एसपी चिमरियाका अनुसार अवस्था नियन्त्रण बाहिर जान नदिन सामान्य बल प्रयोग गरेर हवाई फायर र अश्रुग्यास प्रहार गर्नु पर्ने अवस्था आएको हो। सम्झाइ बुझाइ गर्दा पार नलागेपछि स्थिति भड्किन नदिन बल प्रयोग गरिएको उनको भनाइ छ। 

प्रहरीले बल प्रयोग गरेपछि भिड तितरबितर भएको थियो। त्यसपछि प्रहरीले समन्वय गरेर मृतकको शवलाई घटनास्थलबाट उठाउँदै पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ। दिउँसो २ बजेपछि हरैँचा बजारको अवस्था सामान्य बनेको जानकारी एसपी चिमरियाले दिए। 

उनका अनुसार प्रदर्शनकारीले सडक अवरुद्ध गरेका कारण करिब ३ घण्टा सवारीसाधन ‘डाइभर्ट’ गर्नु परेको थियो। सवारीसाधन ‘डाइभर्ट’ गर्न ट्राफिक प्रहरी परिचालन गरिएको थियो । मोटरसाइकललाई ठक्कर दिने टिपरलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको छ। 

सडकबाट शव उठाउन अवरोध गर्दै प्रदर्शनमा उत्रिएको भिडले टिपरको तीव्र गतिका कारण दुर्घटना भएको आरोप लगाएको छ। स्थानीयले सडकमा टिपरको दादागिरी बढेको गुनासो गरेका छन्। टिपरको दादागिरी बन्द गर्नुपर्ने, उक्त सडकमा टिपर सञ्चालनमा रोक लगाउनुपर्ने, मृतकलाई क्षतिपूर्ति हुनुपर्ने, चालकमाथि कारबाही गर्नुपर्नेलगायतका माग राखेर प्रदर्शन भएको प्रहरीको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.