अध्यक्ष कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि चापाकोटलाई
नुवाकोट : म्यागङ गाउँपालिकाको आयोजनामा सञ्चालित तेस्रो अध्यक्ष कप राष्ट्रिय भलिबल प्रतियोगितामा स्याङ्जाको चापाकोट नगरपालिकाले उपाधि जितेको छ। चापाकोटले सोझो सेटमा आफ्नै गृहजिल्लाको वालिङ नगरपालिकालाई पराजित गरी उपाधि चुमेको हो।
प्रतियोगिताको फाइनल खेलमा चापाकोटले वालिङलाई २५–१६, २५–१२ र २५–१८ को सोझो सेटमा पराजित गरी उपाधि उचालेको हो। यही वैशाख ७ गते आइतबारदेखि सञ्चालित सो प्रतियोगितामा विभिन्न जिल्लाका १५ स्थानीय तहका खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगिताको विजेता तथा उपविजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले पुरस्कृत गरे।
प्रतियोगितामा प्रथम भएको चापाकोट नगरपालिकाले नगद ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार थापेको छ। द्वितीय भएको वालिङ नगरपालिकाले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँ र तृतीय भएको ओखलढुंगाको चम्पादेवीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगितामा विजेता चापाकोट नपाका सन्जोग परियारले उत्कृष्ट खेलाडी, तृतीय स्थान जितेको चम्पादेवीका शसिस मगरले उत्कृष्ट स्पाइकर, उपविजेता भएको वालिङका भुपेन गुरुङले बेस्ट सर्भर, चापाकोटका राजन दर्लामीमगरले बेस्ट लिवेरो, वालिङका सुदीप रानामगरले बेस्ट लिफ्टर, सोही नपाका विप्सन शाही ठकुरीले बेस्ट ब्लकर र चापाकोटका अमृत केसीले उत्कृष्ट कोचको पुरस्कार थापे।
प्रतिक्रिया दिनुहोस !