माओवादी केन्द्र विराटनगरमा जनार्दन समूहको प्यानलै विजयी

माओवादी केन्द्र विराटनगरमा जनार्दन समूहको प्यानलै विजयी
सुन्नुहोस्

विराटनगर : नेकपा (माओवादी केन्द्र) विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनबाट पार्टीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ समूहको उदय भएको छ। 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाखा लगाउँदै महानगर अधिवेशनबाट प्रभाकर समूहको प्यानलै विजयी भएको हो। पार्टीको महानगर अध्यक्षमा प्रभाकर समूहका दिनेशकुमार राजवंशी (देव) निर्वाचित भएका छन्। 

शनिबार सम्पन्न निर्वाचनबाट उनले ४६ मत प्राप्त गर्दा प्रतिस्पर्धी नमिता न्यौपानेले ३५ मत ल्याइन्। राजवंशी यसअघि पार्टीको महानगर उपाध्यक्ष थिए। प्रतिस्पर्धामा उत्रिएकी न्यौपाने पूर्वसचिव हुन्। उपाध्यक्ष रहेका राजवंशी नेतृत्वमा पुग्दा न्यौपाने अध्यक्षको दौडबाट पराजित भइन्। 

माओवादीको महानगर उपाध्यक्षमा धर्मलाल राजवंशी ५८, सनोजकुमार यादव ४४ र चन्द्रबहादुर वन ३६ मत ल्याएर विजयी भएका छन्। उपाध्यक्षका प्रतिस्पर्धीहरु केमुना ओडारी (शारदा) ३३,  शिवराज थन्दार ३३ र सरस्वती ओझाले २१ मत पाएका छन्। 

सचिवमा सोनु केवट ४२ ल्याएर निर्वाचिन हुँदा प्रतिस्पर्धी मोहमद अजामले ३६ मत पाउन सके। सहसचिवमा दिनेशकुमार कामत ३९ मत ल्याएर निर्वाचित भएका छन् भने सहसचिवका उम्मेदवारहरु भरत गिरी (गोसाइ)ले ३२ र चम्पा खत्रीले ७ मत पाएका थिए। 

कोषाध्यक्षमा मनिष सोनी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। माओवादी केन्द्रको विधानमा कार्यसमिति सदस्यहरूले मतदानमार्फत अध्यक्षसहितका पदाधिकारी चयन गर्ने व्यवस्था छ। अधिवेशनमा ३ सय ५६ प्रतिनिधि सहभागी भएकोमा उनीहरु मध्येबाटै यसअघि ८१ सदस्यीय कार्यसमिति चयन गरिएको थियो। ८१ जना कार्यसमिति सदस्यहरूले मतदान गरेर ६ जना पदाधिकारीको टुंगो लगाएका हुन्। 

महानगरका ७ जना पदाधिकारीमा कोषाध्यक्ष सर्वसम्मत भएका थिए। ९९ सदस्यीय कार्यसमितिमा १८ जना पछि मनोनयन गरिने माओवादीका महानगर इन्चार्ज भोगेन्द्र यादवले बताए। 

निर्वाचनमा प्रचण्ड र प्रभाकर गुटबीच प्रतिस्पर्धा भएको थियो। दुवै पक्ष प्यानलै घोषणा गरेर चुनावी मैदानमा उत्रिएका थिए। गत आइतबार सुरु भएको अधिवेशन सोमबार सम्पन्न गर्ने तयारी थियो। पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व चयन सर्वसम्मत गर्न निर्देशन दिए पनि त्यो सम्भव भएन। 

नेतृत्व सर्वसम्मत हुन नसकेपछि सहमतिका लागि भनेर अधिवेशन नै एक साताका लागि स्थगित गरिएको थियो। माओवादी महानगरको नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदा माओवादीभित्र भिन्दै गुट चलाउन खोजिरहेका प्रभाकरको समूहले बाजी मारेको छ। महानगर अधिवेशनमा प्राप्त नतिजाबाट विराटनगरमा प्रभाकर समूह मजबुत बनेको विश्लेषण गर्न थालिएको छ। 

मोरङमा पार्टीका जिल्ला इन्चार्ज कुलप्रसाद साम्बा लिम्बूले प्रचण्ड समूहको नेतृत्व गरिरहँदा पूर्वमन्त्री एवं पार्टी केन्द्रीय सदस्य शिवकुमार मण्डलले प्रभाकरको गुट चलाइरहेका छन्। विराटनगर अधिवेशनमा लिम्बूले न्यौपाने र मण्डलले राजवंशीलाई अघि सारेर प्यानल घोषणा गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.