मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
विराटनगर : मोरङको सुनवर्षीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार डाइनिया–सिक्टी सडक खण्डअन्तर्गत सुनवर्षी नगरपालिका–९ लक्ष्मी टोलमा बीआर ३९ एच २९५६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर आइतबार दिउँसो २:१५ बजेतिर दुर्घटनामा परेको हो। सडकमा गुडिरहेको मोटरसाइकल दुर्घटना हुँदा चालक सुनवर्षी–९ का अन्दाजी २० वर्षीय साहवन आलमको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ।
गम्भीर घाइते भएका आलमलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्। मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रतिक्रिया दिनुहोस !