कोशीमा लगानी सम्मेलनको तयारी पूरा,७१ परियोजनामार्फत् पौने २ खर्ब भित्राउने लक्ष्य

कोशीमा लगानी सम्मेलनको तयारी पूरा,७१ परियोजनामार्फत् पौने २ खर्ब भित्राउने लक्ष्य
लगानी सम्मेलनको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर  : कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक हुन लागेको लगानी सम्मेलनको तयारी पूरा भएको छ । वैशाख १८ र १९ गते सम्मेलनको आयोजना हुँदैछ ।  उक्त सम्मेलनमार्फत् प्रदेश सरकारले करिब पौने २ खर्ब भित्राउने लक्ष्य राखेको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने विराटनगरमा बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । 

प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले लगानीको सम्भावना प्रचुर रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि सम्मेलन ऐतिहासिक एवं उपलब्धिमूलक हुने अपेक्षा गरिएको बताए । प्रदेश सरकारले लगानी सम्मेलनको आयोजना गर्नु आफैंमा महत्वपूर्ण भएको उनको भनाइ छ । सम्मेलनका लागि १० करोडमाथिका ७१ वटा परियोजनाहरू ‘सोकेसिङ’को तयारी गरिएको छ । विभिन्न ८ वटा क्षेत्रका परियोजनाहरू ‘सोकेसिङ’ गरिएको कोइरालाले बताए । उनका अनुसार परियोजनाहरुको कूल अनुमानित लागत करिब १ खर्ब ७३ अर्ब ४९ करोड रूपैयाँ रहेको छ । 

पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आईटी सेवालगायतका क्षेत्रमा महत्वपूर्ण परियोजनाहरू तयार गरिएको कोइरालाको भनाइ छ । प्रदेश सरकारले परियोजनाहरूलाई सफल बनाउनका लागि ८ वटा कानुन अध्यादेशमार्फत संशोधन गरेको छ । 

वैशाख १६ गते कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ प्रदेश प्रमुख पर्शुराम खापुङले जारी गरेका छन् । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले अध्यादेशमार्फत सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन, २०७६, प्रदेश सहकारी ऐन, २०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६, प्रदेश भवन ऐन, २०७६ , प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६, प्रदेश पर्यटन ऐन, २०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्टेशन ऐन, २०७७ र प्रदेश वन ऐन २०७७ का केही दफा संशोधन गरिएको जानकारी दिए ।

कानुन संशोधनसँगै प्रदेशमा लगानी गर्दा आइपर्ने सम्पूर्ण झन्झटहरू अन्त्य हुने अपेक्षा गरिएको उनको भनाइ छ । उनका अनुसार लगानी सम्मेलनमा आएका परियोजनाहरूलाई सम्पन्न गर्नका लागि प्रदेश सरकारले संघीय सरकारसँग पनि समन्वय गरेको । संघीय सरकारले पनि कतिपय कानुनहरू संशोधन गरिसकेको भण्डारीको भनाइ छ । प्रदेश सरकारको तर्फबाट थप कानुनहरू संशोधन गर्न केन्द्रीय सरकारसँग पहल र समन्वय भइरहेको उनले बताए । 

डा. कोइरालाका अनुसार लगानी सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपाली तथा स्वदेशका प्रतिष्ठित उद्योगपतिहरू सहभागी हुने छन् । सम्मेलनमा विभिन्न ६ वटा विषयगत छलफल सञ्चालन हुने उनको भनाइ छ । 

कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर तथा सम्भावना विषयक छलफल हुने उनको भनाइ छ । सम्मेलनको पहिलो दिन कोशी प्रदेशका हकमा लगानीमैत्री वातावरण र ३ तहका सरकारबीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरू र जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुने उनले बताए । 

सम्मेलनलाई थप सार्थक बनाउन तथा नतिजामुखी अभ्यासका लागि लगानी सम्मेलनपूर्व ‘प्री मिट’ र सम्मेलनपछि आवधिक रूपमा ‘फलोअप मिटिङ’ गरी परियोजनाकर्तालाई परेका अपठ्यारा खुलाउँदै लैजाने नीति प्रदेश सरकारले लिएको छ । डा. कोइरालाका अनुसार सम्मेलनमार्फत २ दर्जन परियोजना अघि बढाउने सम्झौताको तयारी छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.