अन्नपूर्ण मिडिया नेटवर्कको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक आज २४ औं वर्षमा प्रवेश गरेको छ । करिब साढे दुई दशक देश, समाज र नागरिकका विविध मुहार, अभिव्यक्ति र अपेक्षालाई समेट्दै अघि बढेको यो यात्रामा, यस वर्ष ‘देश बन्दैछ’ विशेषांक यहाँहरूलाई उपहारस्वरूप प्रदान गर्न पाउँदा हामी हर्षविभोर छौं । यो विशेषांक सांकेतिक औपचारिकता मात्र होइन, हाम्रो प्रतिबद्धताको घोषणापत्र हो ।
नेपालको दुई दशक कालखण्ड राजनीतिक रूपान्तरण, आशा र असमञ्जसले भरिएको छ । संविधान निर्माणदेखि संघीय संरचनासम्म, प्रतिनिधित्वको लहरदेखि पुनः सन्तुलन खोज्ने प्रयाससम्म– हामी निरन्तर गतिशील रह्यौं । यस्ता संक्रान्तिकालीन परिस्थितिमा स्वतन्त्र, निर्भीक र उत्तरदायी पत्रकारिताको भूमिका झन् महत्त्वपूर्ण हुन्छ । अन्नपूर्ण मिडिया नेटवर्क, विशेषतः अन्नपूर्ण पोस्ट् दैनिक, सधैं सत्य खोज्ने, सत्ता निगरानी गर्ने र जनअपेक्षा प्रतिबिम्बित गर्ने निष्पक्ष माध्यम बन्ने प्रयासमा समर्पित रह्यो । रहिरहने छ ।
खोज पत्रकारिता होस् वा जनताका अनुश्रवणीय आवाज; नीतिगत बहस होस् वा मौन गराइएका मुद्दाहरूको उजागर– हामीले नेपाली मिडियामा भिन्न पहिचान बनायौं । अन्नपूर्ण पोस्ट्मात्र होइन, अन्नपूर्ण एक्सप्रेस (अंग्रेजी दैनिक), अन्नपूर्णपोस्ट् डट कम, द अन्नपूर्ण एक्सप्रेस डट कम, रेडियो अन्नपूर्ण ९४.० मेगाहर्ज र एपीवान एचडी टीभी— यी सबै मञ्चहरू मिलेर आज अन्नपूर्ण मिडिया नेटवर्क मुलुककै एक सशक्त, बहुआयामिक र विश्वसनीय मिडिया समूहका रूपमा उभिएको छ ।
आजको यथार्थ सरल छैन । आर्थिक पुनरुत्थान चुनौतीपूर्ण छ । भ्रष्टाचार राज्यसंरचनामा गहिरो गरी जरा गाडिरहेको छ । नागरिकको आत्मविश्वास, श्रम र आकांक्षामा दोधार देखिन्छ । तर, यति हुँदाहुँदै पनि ‘देश बन्दैछ’– केवल भौतिक संरचनाले होइन, मानव चेतना, सिर्जना र सम्भावनाको जगबाट । यतिबेला निराशा बेच्ने होइन, आशा बाँड्ने समय हो ।
हामीले यो विशेषांकमा त्यसै आशाका कथा खोजेका छौं— हिमालपारिका गाउँदेखि काठमाडौंका स्टार्टअपसम्म, विदेशमा नेपालको नाम झुल्काउने युवादेखि देशभित्रै नवप्रवर्तन गर्ने हातहरूसम्म । प्रश्नहरू छन्, चुनौतीहरू छन्— तर सम्भावनाहरू पनि कम छैनन् ।
अन्नपूर्ण मिडिया नेटवर्कले सधैं समयसँगै रूपान्तरण गर्ने, प्रविधिका नवीनतम पक्ष आत्मसात् गर्ने र पत्रकारितालाई युगानुकूल बनाउने संकल्प लिएको छ । डिजिटल विस्तारका माध्यमबाट हामीले अमेरिका हुँदै विश्वभर नेपालीहरूसम्म हाम्रो समाचार, विचार र दृष्टिकोण पुर्याउन थालेका छौं । अबको लक्ष्य हो– गुणस्तर, पहुँच र प्रभावका दृष्टिले अझ सशक्त र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल मिडिया प्रणाली निर्माण गर्नु । त्यसमा हामी कटिबद्ध छौं ।
हाम्रो यात्रामा साथ दिनुहुने पाठक, श्रोता, विज्ञ, विज्ञापनदाता, सहकर्मी र शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
२४औं वर्षको यो मोडमा हामी अडिग छौं– निष्पक्षता, सत्य र आशाका पक्षमा ।
‘देश बन्दैछ’— हो, हाम्रा हरेक प्रश्नका उत्तर त्यसमै खोज्न सकिनेछ ।
क्याप्टेन रामेश्वर थापा
अध्यक्ष
अन्नपूर्ण मिडिया नेटवर्क
प्रतिक्रिया दिनुहोस !