ब्याडमिन्टन कभर्ड हल हस्तान्तरण
नुवाकोट : नुवाकोटको बट्टारमा आधुनिक कभर्ड हल निर्माण गरिएको छ। भवनको शुक्रबार हस्तान्तरण गरिएको छ। जिल्लामा आधुनिक पक्की र ब्याडमिन्टन प्रतियोगिता गर्नका लागि ब्याडमिन्टन कभर्ड हलको आवश्यकता ठहर गरेर निर्माण गरिएको हो।
विदुर नपा २ नागटारीमा तीन रोपनी क्षेत्रफलको जग्गामा आधुनिक कभर्ड हलको हस्तान्तरण गरिएको छ। कुल दुई करोड ४२ लाख ३१ हजार ६ सय सात रुपैयाँको लागतमा कभर्ड हल निर्माण गरिएको हो।
सो भवन र भवनको स्वामित्व विदुर नगरपालिका अन्तर्गत रहने गरी सामाजिक विकास कार्यालयका प्रमुख लोकबहादुर वाइबाले विदुर नपाका मेयर राजन श्रेष्ठलाई लिखित सम्झौतासहित हस्तान्तरण गरे।
सम्झौता गरिएको ११ महिनामै निर्माण सम्पन्न भएको हो। सो कभर्ड हलका लागि बागमती प्रदेश सरकार, विदुर नपा, अन्य निकाय तथा खेलप्रेमी उपभोक्ताको सहयोगमा निर्माण गरिएको हो।
प्रतिक्रिया दिनुहोस !