देश बन्दैछ

सुन्दरताको खानी सुदूरपश्चिम

देश बन्दैछ

सुन्दरताको खानी सुदूरपश्चिम

धार्मिक आस्था र प्राकृतिक छटा अनि विविधतापूर्ण सांस्कृतिक धरोहरले भरिपूर्ण सुदूरपश्चिम आफैंमा प्रकृतिको अमूल्य उपहार हो।

एसियामै बाह्रसिंगेको बथान भएको ठाउँ

कञ्चनपुर जिल्लामा भारतसँग जोडिएको क्षेत्र हो शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज। यसको स्थापना २०३१ सालमा भएको हो। त्यतिबेला शाही शुक्लाफाँटा वन्यजन्तु आरक्ष भनिए पनि पछि यसलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बनाइयो। यो निकुञ्ज भारतको राजधानी नयाँदिल्ली ४ सय किलोमिटरको दूूरीमा मात्रै छ। भारतको ३ अर्बको जनसंख्याको ५ प्रतिशतलाई पनि शुक्लाफाँटाको प्याकेज बनाएर भित्र्याउन सक्ने हो भने यस क्षेत्रका कसैले पनि खाडीको रापमा जल्न जानु पर्दैन।

महाकाली नदीको पुरानो बहाव क्षेत्र भएका कारण विकसित हुन आएका फाँटहरू, धाप र सिमभूमि यस निकुञ्जको प्रमुख विशेषता हो। निकुञ्जका कारण नेपालको पश्चिमी तराईमा पाइने वन्यजन्तु तथा चराचुरुंगीहरूको बासस्थानको संरक्षण हुन पुगेको छ।

यो निकुञ्ज बाह्रसिंगाको लागि प्रसिद्ध छ। सन् २०१४ मा यस निकुञ्जमा २ हजार ३ सय १ वटा बाह्रसिंगाको गणना गरिएको थियो। निकुञ्जमा एसियाकै ठूलो बाह्रसिंगेको बथान हेर्न पाईन्छ। एसियामा बाह्रसिंगेको ठूलो बथानमात्रै पनि हामीले ‘ब्रान्डिङ’ गर्न सकेका छैनौं। भारतीय नागरिक लक्षित कुनै पनि ‘पर्यटन प्रडक्ट’ छैन।

 निकुञ्ज जंगली हात्तीका लागि पनि उत्तिकै प्रख्यात छ। यहाँ करिब २०–२५ वटा जंगली हात्ती छन्। सन् २०१७ को गणनाअनुसार यस निकुञ्जमा एकसिंगे गै्रडाको संख्या १६ वटा रहेको छ भने २०२२ को गणनाअनुसार यस निकुञ्जमा ३७ वटा बाघको गणना भएको छ। जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुनाजस्ता स्तनधारी जनावर यस निकुञ्जका प्रमुख वन्यजन्तु हुन्। त्यस्तै रानीताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाइँ सरी आउने गरी ४ सय २४ भन्दा बढी चराचुरुंगीहरू पाइन्छन्।

निकुञ्जमा २ सय ३७ वटा कृष्णसार पनि संरक्षित गरी राखिएका छन्। १२ वर्षअघि ८४ वटा कृष्णसारबाट सुरु गरिएको हीरापुर कृष्णसार संरक्षित क्षेत्रमा अहिले बढेर २ सय ८७ पुगेका छन्। कृष्णसार संक्षित क्षेत्रहरूमध्ये यो सबैभन्दा बढी संख्या हो। सियामै बाह्रसिंगेको ठूलो बथान रहेको शुक्लाफाँटा पाटेबाघ बढी देखिने क्षेत्र पनि हो। सामान्य एउटा बाघका लागि ६० वर्ग किलोमिटरको बासस्थान चाहिन्छ। तर शुक्लाफाँटामा एउटा बाघको बासस्थान २५ देखि ३० वर्गकिलोमिटर मात्रै भएकाले जंगल सफारी गर्दा देखिने सम्भावना बढी रहेको पर्यटन गाइड डुट्ठा राना बताउँछन्।

खप्तड  :  जहाँ अलौकिक आनन्द छ
२०४२ सालमा राष्ट्रिय निकुञ्ज स्थापना भए पनि खप्तडको प्रचार भने ७५ वर्षअघि नै भइरहेको थियो। जतिबेला खप्तड बाबा श्री १००८ ब्रह्मविद् परमहंश योगी सच्चिदानन्द सरस्वती) तपस्या गर्न खप्तड पुगे, त्यसपछि खप्तडको प्रचार हुँदै गयो।

२००२ सालमा बझांगी राजा रामजंगबहादुर सिंहको अगुवाइमा खप्तडका जंगलमा खप्तड बाबासँगै स्थानीय तपस्या गर्न पुगेका थिए। पछि खप्तड बाबामात्रै तपस्यामा समाहित भए। त्यसपछि खप्तड देवभूमिका रूपमा प्रख्यात हुँदै गयो। देश–विदेशमा यसको महत्त्व र धार्मिक पर्यटनको महत्त्वबारे प्रचारप्रसार हुँदै गएपछि खप्तडको महिमा बढ्दै गएको हो।

null

समुद्री सतहबाट २४–३७ सय मिटर उचाइ र २ सय २५ वर्गकिमि क्षेत्रफलमा फैलिएको खप्तडमा दुई सयभन्दा बढी प्रजातिका फूल र बहुमूल्य जडीबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफेजस्ता जंगली जनावर र पन्छीको सुरक्षाका लागि राष्ट्रिय निकुञ्ज स्थापना भएको पाँच वर्षपछि २०४७ सालमा नेपाली सेनाको ब्यारेक स्थापना गरियो। यस राष्ट्रिय निकुञ्जले मध्यपहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गर्दछ। यस निकुञ्जमा सल्ला, खसुर र निगालोका जंगलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसेमैदान रहेका छन्। यहाँ पाइने वन्यजन्तुमा रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुर बाँदरका साथै डाँफे, मुनालजस्ता सुन्दर चराचुरुंगीहरू छन्।

यो निकुञ्ज संसारकै राम्रो स्थानमा पर्दछ। यस निकुञ्जको करिब मध्यभागतिर १२ हजार फिट अग्लो खप्तड लेकमा ५० वर्ष खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ छ। सुन्दर घाँसेमैदानमा पुग्नेबित्तिकै यात्रीको थकान मेटिन्छ। यसको वरिपरि ५३ वटा थुम्काहरू छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ। यहाँका घाँसै मैदान, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आ श्रम, शिव मन्दिर यहाँको आकर्षण हुन्।

प्राकृतिक, धार्मिक र सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भए पनि भौतिक पूर्वाधार र प्रचारप्रसारको कमीले खप्तडले यथेष्ट महत्त्व पाएको छैन। यातायात र उचित बास बस्ने व्यवस्था क्रमश :  बढिरहेका बेला आन्तरिक र बाह्य पर्यटकहरू विस्तारै बढिरहेका छन्। खप्तड राष्ट्रिय निकुञ्ज पुग्न बझाङको खप्तड छान्ना गाउँपालिकाको मेल्तडी हुँदै लोखडाबाट वा डोटीको झिंग्रानाबाट जान सकिन्छ। खप्तड पुग्न कैलाली जिल्लाको अत्तरियाबाट डा. केआईसिंह राजमार्ग हुँदै डोटी झिग्रेना वा जयपृथ्वी राजमार्ग भएर तमैल हुँदै खप्तडछान्नाबाट जाँदा ७ देखि ८ घण्टामा खप्तड पुगिन्छ।

विश्वका धेरैजसो मुलुकहरू पर्यटन व्यवसायबाट मजबुत अर्थतन्त्र बनाउन सफल भएको परिपे्रक्ष्यमा खप्तड पनि एक पर्यटन व्यवसायका लागि उदाहरण बन्न सक्ने पर्यटन व्यवसायी किशोर खड्काले दाबी गरे।

बडीमालिका  :  जहाँ हरेक मनोकांक्षा पूरा हुन्छ
प्राकृतिक छटाले भरिपूर्ण, धार्मिक तथा पर्यटकीय हिसाबले प्रचूर सम्भावना बोकेको क्षेत्र हो बडिमालिका। यो सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम र कर्णाली प्रदेशको कालीकोटको संगमस्थल हो भने मुख्य पुजाथान भने बाजुरा जिल्लामा पर्छ।

प्राकृतिक सुन्दरता र धार्मिक महत्त्वका दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको खप्तड, रामारोशन, त्रिपुरासुन्दरी, मालिकार्जुन, उग्रतारा, शैलेश्वरी, वैद्यनाथ, अपी र साईपाललगायतका क्षेत्र निकै महत्त्वपूर्ण मानिन्छन्। त्यसमध्ये पनि बडिमालिकाको स्थान विशिष्ट छ। हिन्दुहरूको आस्थाको धरोहर यति महत्त्वपूर्ण भगवतीको पीठ ओझेलमा परेको छ। बडिमालिका क्षेत्र संरक्षण, संवद्र्धन र विकासको पर्खाइमा छ।null

शान्त डाँडाकाँडा, फराकिला घाँसेमैदान अनि सिमसिम पानी। वर्षात्मा रमाउँदै उकालो पदयात्रा छिचोले पछि मात्र आकर्षक र मनमोहक दृश्य त्रिवेणी र बडिमालिका देखिन्छ । बादल आफूभन्दा तल हुन्छ। मुटु छुने चिसो हावा, आङ जिरिङ हुने अग्ला चुचुरा, हेर्दै मन डराउने अग्ला डाँडाहरू, शृंखलाबद्ध पहाडहरू कसरी छिचोल्ने होला ? कसरी पुग्ने होला बडिमालिका ? भोक, थकान, पीडा, चिसो सिरेटो सबै गौण हुन्छन्।

बडिमालिकाको जति चर्चा गरे पनि कम हुन्छ । धार्मिक आस्था र प्राकृतिक छटाले भरिपूर्ण बडिमालिका पछिल्लो समय आकर्षक गन्तव्य बन्दै गएको छ। जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने बडिमालिका यात्राको मौसम भने वर्षा याम हो। बडिमालिका छ नै त्यस्तो। पुग्न कठिन। पुगेपछि झर्न कठिन। यी सबै कठिनाइ बडिमालिकाप्रतिको अगाध आस्था, विश्वास र मनै लोभ्याउने हरिया पाटनका अगाडि गौण हुन्छन्।

बडिमालिकाको दर्शनले मनले चिताएको पूरा हुने जनविश्वास छ। पुत्र नभएकाहरूलाई पुत्र प्राप्ति, धन नहुनेलाई धन, दु : खीलाई सुख प्राप्त हुने अगाध विश्वास छ। बडिमालिकाको प्रार्थनाले रोग निको हुने विश्वास छ। बडिमालिकाको त्रिवेणी क्षेत्रमा पर्ने खेतीवेती झन् अचम्मको छ। परापूर्वकालदेखि नै त्यहाँ रहेको खेत रोपिएको धान, धान रोप्न तयार गरिएका जस्ता गह्राहरू, त्यसबीचमा फालिएका बिउका मुठाहरू जस्ताका तस्तै छन्। यहाँ १ सय ४० भन्दा बढी जातका रंगीचंगी फूल, सयौं जातका जडीबुटी, ७० भन्दा बढी प्रकारका चराचुरुंगी पाइन्छन्। ६ महिना घोडा भेडाहरू चराउन उपयुक्त चरीचरन क्षेत्र, २२ वटा घाँसेमैदान, तीन वटा नदीको संगम रहेको पवित्रधाम त्रिवेणी त्यही पर्छ। थुप्रै ठाउँ नियाल्न सकिने अग्ला–अग्ला हिमशृंखलाहरूले तीर्थालुको मन लोभ्याउने गर्छ।

सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न जिल्ला र भारतका विभिन्न सहरबाट धार्मिक पर्यटकहरू बडिमालिका पुग्छन्। बडिमालिकामा कालीकोट, बाजुरालगायतका जिल्लाका किसानले भेडा, बाख्रा, घोडालगायतका चौपाया चराउन ल्याउने गरेका छन् भने जडीबुटी पनि संकलन गर्ने गरेका छन्।
null

बडिमालिका समुद्री सतहदेखि ४२ सय मिटर उचाइमा अवस्थित छ। बाटैभरि टाढासम्म फैलिएका हरिया पाटन, अग्ला पहाडहरू, थुप्रै स—साना मन्दिर, खोला, झरना आदिले मन लोभ्याउँछ। अग्ला—अग्ला पहाडहरूमा उकालो–ओरालो गर्दै, कतै साँघुरा बाटाहरू यात्रा गरिरहँदाको थकानलाई यहाँ देखिने सुन्दर दृश्यले मेटाउँछन्। युवादेखि ज्येष्ठ नागरिक पुस्ताका भक्तजनहरू मेलामा आउने, बडिमालिका थानमा आशीर्वाद माग्ने, मनोकांक्षा पूरा भएको भन्दै धन्यवाद व्यक्त गर्ने गरेका छन्।

पृथ्वीनारायण शाहको पालादेखि लाग्दै आएको यो मेलामा सरकारी स्तरबाटै पूजा गर्ने गरिन्छ। बडिमालिकाको दर्शन गरेपछि चिताएको पूरा हुन्छ भन्ने जनविश्वास रहँदै आएको बडिमालिकाका पुजारी भानुभक्त पाध्याय बताउँछन्।

रमणीय रामारोशन
‘बाह्र बण्ड अठार खण्ड’को नामले परिचित छ अछामको रामारोशन। ‘धर्तीको स्वर्ग’कै नामले स्थानीय तहको नामकरण गरिएको छ यस क्षेत्र रामारोशन गाउँपालिका— ५ मा अवस्थित छ।

रामारोशन क्षेत्र पर्यटनको दृष्टिकोणले प्रचुर सम्भावना बोकेको एक महत्त्वपूर्ण प्राकृतिक वरदान हो। उच्च लेकाली भेगमा रहेको यो क्षेत्रमा विभिन्न आकृतिका १२ वटा ताल र १८ घाँसेमैदान छन्। त्यसैले रामारोशनलाई ‘बाह्र बण्ड अठार खण्ड’ भनिएको हो।
रातो, सेतो, गुलाबी रंगका गरी ९ प्रकारका लालीगुराँस र राष्ट्रिय चरा डाँफे यहाँ पाइन्छ। त्यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटकहरूको मन रामारोशनको मनमोहक दृश्यले लोभ्याउने गरेको छ।

null

विभिन्न प्रजातिका जडीबुटीको भण्डार मानिने रामारोशनमा लोपोन्मुख वन्यजन्तुको समेत बासस्थान छ। यहाँ थुप्रै सुन्दर तालहरू छन्। जसले सबैको मन लोभ्याउँछ। करिब १० बिघाभन्दा बढी क्षेत्रफलमा मैदान र ३ वटा ताल फैलिएका छन्। एक दिनमा घुमेर सकिँदैन रामारोशन क्षेत्र।

यसको लागि करिब दुई दिन लाग्छ। एउटा मात्र ताल परिक्रममा गर्न घण्टौं लाग्छ। रामारोशन क्षेत्र पुग्ने जो कोहीको पनि एकै क्षणमा लामो यात्राको थकान मेटिन्छ। यहाँका बाटुल्ले ताल, लामी दह, तल्लो धाउने, रगाडे, लिस्सेडाली, गाग्रे, ताउले, दल्याना, डउठे, बाउले गडा, रामे ताललगायतका तालले समेत रामारोशन क्षेत्रको आकर्षण बढाएका छन्।

यहाँ तालहरू मात्रै छैनन्, अग्ला र उत्तिकै आकर्षक मैदानहरू पनि छन्। विभिन्न जिल्लाबाट साँफेबगर र मंगलसेनबाट कच्ची सडकमा जिपको यात्रा गरी त्यहाँ पुग्न सकिन्छ। वसन्त ऋतु र नयाँ वर्षमा रामारोशन घुम्न आउने पर्यटकलाई सन्तुलित वातावरण र अनुकूल मौसम पाइन्छ। सानाठूला ताल वरपरका मैदानमात्रै होइन, रामारोशनको परिचय र पहिचान झल्काउनका लागि यहाँ अन्य थुप्रै प्राकृतिक स्रोत छन्। रामारोशन क्षेत्रभित्र लोपोन्मुख जंगली जनावरदेखि बहुमूल्य जडीबुटी पनि प्रशस्तै पाइन्छ। रामारोशन क्षेत्रमा घुमन्ते चरा, माछा, उभयचर, कीटपतंग र बोटका लागि महत्त्वपूर्ण मानिन्छ।

रामारोशन पर्यटनसँगै धार्मिक रूपले पनि उत्तिकै महत्त्वपूर्ण छ। त्यहाँका तालहरूलाई देवी मान्ने गरिन्छ। कैलाश खोलाको मुहान रामारोशन भएकाले पनि शिवको रूपमा मान्ने चलन छ। किनिमिनी पाटनलाई कृष्ण भगवान्स्वरूप मान्ने गरिएको स्थानीयको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.