स्याङ्जामा आगलागी : एक घर र उद्योग जल्यो
स्याङ्जा : शुक्रवार स्याङ्जामा एक घर र उद्योगमा आगलागी भयो। आगलागीबाट झण्डै ३५ लाख मूल्य बराबरको क्षति पुगेको प्रहरीको अनुमान छ।
पुतलीबजार नगरपालिका – ७ रयालेस्थित खिमबहादुर खत्रीको घरमा आगलागी भइ पूर्णरुपमा जलेको छ।
ढुङ्गा, माटो र जस्ता पाताले छाएको दुई तले घरमा बिजुली सर्ट भएर आगलागी भएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए।
आगलागीबाट घर र घरभित्र राखिएका ६ तोला सुनका गरगहना, ७० हजार नगदसहित घरभित्रका भाँडाकुँडा तथा लत्ताकपडा जलेको प्रहरीले जनाएको छ। आगलागीका कारण करिब २० लाख मूल्य बराबरको क्षति भएको प्रहरीको दावी छ।
यसैगरी वालिङ् नगरपालिका –६ मिर्दीस्थित सिरक डसना उद्योगमा आगलागी हुदाँ करिब १४ लाख ४० हजार मूल्य बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।
शुक्रवार दिउँसो आलमदेवी सिरक डसना उद्योग चलिरहेको अवस्थामा बिजुली सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट कपडा पेल्ने मेसिन लगायत फाइबर लत्ताकपडा जलेर नष्ट भएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए। आगलागी भएका घर र उद्योग दुबैमा विद्युत्तीय लाइन सर्ट भएर आगलागी भएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !