आहा ! स्याङ्जाली सुन्तला

देश बन्दैछ

आहा ! स्याङ्जाली सुन्तला

स्याङ्जा सुन्तलाका लागि प्रसिद्धि कमाएको थलो हो । सुन्तलाका लागि प्रकृतिले नै उर्वर वरदान दिएको छ स्याङ्जालाई । त्यसैले त, देशभरमै धेरै सुन्तला उत्पादन हुने गर्छ यहाँ ।

सबैका लागि खान योग्य भएकै कारण राष्ट्रिय फल घोषणा गरिएको थियो सुन्तलालाई । २०८० चैत ३० गते सुन्तलालाई राष्ट्रिय फलका रूपमा घोषणा गरियो । सुन्तला आयातित फल नभई स्वदेशी उत्पादन भएर होला सबैका लागि खानयोग्य छ ।

प्रशस्त मात्रामा पौष्टिक तत्त्व र स्वादमा पनि मिठास भरिएका कारण सुन्तला सबै उमेरसमूहले खान मिल्छ । नगदे बाली, तत्काल नगद हातमा पर्ने भएकाले पनि सुन्तला खेतीमा किसानको आकर्षण दिनप्रतिदिन बढ्दो छ । रसिलो र गुलियोपन भएकाले स्याङ्जाका सुन्तलाको माग पनि उत्तिकै बढी हुन्छ । साउनदेखि फागुनसम्म विभिन्न जातका सुन्तला फल्छन् यहाँ । ठूल्ठूला पाखा, पखेरा, खेत, बारीका गह्रामा हुन या गमलामा पनि सुन्तला फलेका हुन्छन् । स्याङ्जाली हावापानी र माटोले राम्ररी स्वीकारेको फल हो सुन्तला । 

स्थानीय स्याङ्जा, खोकु, धनकुटा, उन्सु, जापानीजलगायतका धेरै प्रजातिका सुन्तला फलाइन्छ यहाँ । यहाँका सुन्तला किसानले बर्सेनि लाखौं रुपैयाँ कमाउन सफल छन् । सुन्तलाको राम्रो उत्पादन भएकै कारण जिल्ला छाडेर बसाइँ गएका फर्किएका छन् । तरार्ई झरेका केही परिवार फर्केर पुनः सुन्तला खेतीमै रमाउन थालेका छन् । बसाइँ गएका पनि सुन्तला खेतीलाई चटक्क बिर्सन सक्दैनन् । बेलाबेलामा आएर मलजल, गोडमेल गरेर फर्कने गर्छन् ।

स्वदेश, विदेश र छिमेकी जिल्लामा प्रसिद्धि कमाएको छ यहाँको सुन्तलाले । मुलुकमै सबैभन्दा धेरै सुन्तला उत्पादन हुने जिल्ला पनि स्याङ्जा हो । स्याङ्जामा औसत मूल्यअनुसार गतवर्ष १ अर्ब ३५ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजना स्याङ्जाले जनाएको छ । यो तथ्यांक एक वर्षको मात्र हो । एक वर्ष अत्यधिक उत्पादन दिने र अर्को वर्ष केही प्रतिशत उत्पादन घट्ने गरेको पाइन्छ ।

स्याङ्जामा झन्डै २३ हजार मेट्रिकटन सुन्तला उत्पादन हुने गर्छ । जिल्लाभर २ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । तीमध्ये १ हजार ३ सय ७० हेक्टरमा सुन्तलाले उत्पादन दिएका छन् भने बाँकी ८ सय ८० हेक्टरमा हुर्कंदो अवस्थाका सुन्तला छन् । जिल्लाभर ४ हजारभन्दा बढी सुन्तला व्यवसायी किसान छन् । यहाँका ११ पालिकाका ९७ वडामध्ये ७/८ वडा बाहेक सबै वडाहरूमा सुन्तलाको उत्पादन राम्रो छ । कालीगण्डकी गाउँपालिका र चापाकोटका केही वडाबाहेक अन्य सबै पालिकामा सुन्तलाका खेती राम्रो छ ।

२०७३ सालमा सुन्तला जोन सञ्चालनको स्वीकृत पाएपछि सुरुमा १७ वडामा परियोजना लागू भएको थियो । पछिल्ला केही वर्षयता भने जिल्लाभर सुन्तला सुपरजोन परियोजना समेटिएको छ । सबै ठाउँमा सुन्तलाको उत्पादन राम्रो हुने भएकाले ब्लक, पकेट कार्यक्रममार्फत जिल्लाभर समेटिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजना इकाइ कार्यालय स्याङ्जाले जनाएको छ ।

सुपरजोन परियोजनाले सुन्तला रोपन र उत्पादनमा जोड दिँदै यसका लागि वनजंगल फडानीदेखि सुन्तला रोपण, स्याहार सम्भार, खाद्य पोषणलगायत सम्मका गतिविधि र उपकरण खरिदलगायतमा केही प्रतिशत छुटदेखि अनुदानसम्मका सुविधा उपलब्ध गराउँदै आएको छ । स्थानीय पालिका र कृषि ज्ञान केन्द्रमार्फत पनि किसानलाई केही सहयोग हुँदै आएको छ ।

सुन्तला उत्पादनका लागि उपयुक्त भूगोल भएका कारण जिल्लाको मुख्य उत्पादन पनि सुन्तला बनेको छ । सुन्तलाबाटै बर्सेनि करोडौं रुपैयाँ भित्र्याइन्छ यहाँ । यहाँका पाखा, पखेरा र खेत बारीका गह्रागह्रामा सुन्तला फलेको देख्न पाइन्छ । कात्तिकदेखि फागुनसम्म सुन्तलाले ढाकेको हुन्छ । यहाँका वनपाखापखेरा पनि ।

सुन्तला बिरुवा रोपेको पाँच वर्षभित्रमा फल दिने हुँदा किसानको विशेष रुचि सुन्तला खेतीमा हुन्छ । अझ कलमी बिरुवाले त रोपेको तीन वर्षमै फल दिन थाल्छ । वर्षको दुई/चार पटक मल, जल, गोडमेल गरेपछि सुन्तलाले राम्रो उत्पादन दिन्छ । बर्सेनि ५ देखि ३० लाख रुपैयाँसम्म नगद आम्दानी गर्ने यहाँ दर्जनौं किसान छन् ।

पुतलीबजार, वालिङ, अर्जुनचौपारी, भीरकोट, बिरुवा, आँधीखोला, गल्याङमा अत्यधिक सुन्तला खेती हुन्छ । यसैगरी, दहथुम, अर्जुनचौपारी, एलादी, मनकामना, खिलुङ देउराली, ठूलाडिही, फापरथुम, बहाकोट, ओरष्टे, पौवेगौडेलगायतका वडा सुन्तला उत्पादनका मुख्य पकेट क्षेत्र हुन् । कालीगण्डकी, चापाकोट र हरिनासका केही वडाबाहेक जिल्लाभर सुन्तला खेती अत्यन्तै राम्रो हुन्छ ।
यहाँ उत्पादित सुन्तलामध्ये १० प्रतिशत खाने, आफ्ना आफन्तलाई उपहार दिने र आन्तरिक बजारमा बिक्री वितरण गरिन्छ भने ९० प्रतिशत जिल्ला बाहिर बजारीकरण गर्ने गरिन्छ । अहिलेसम्म करिब ४५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । व्यापारीले बगैंचामा पुगेर किलोमा सुन्तला खरिद गर्ने गरेका छन् ।

सुन्तलाबाट प्रतिकिसानले बर्सेनि १ लाखदेखि ४० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । प्रतिहेक्टर १४ देखि १७ मेट्रिकटन सुन्तला उत्पादन हुने गर्छ स्याङ्जामा । राष्ट्रिय औसतभन्दा स्याङ्जामा सुन्तला उत्पादन बढी हुने गरेको हो । गण्डकी प्रदेशमा यस वर्ष ४ अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार प्रदेशभर ६६ हजार ५ सय ७८ मेट्रिकटन सुन्तला उत्पादन भएको हो । प्रतिकिलो किसानले पाउने औसत मूल्य ६७ का आधारमा उत्पादनको मूल्य निर्धारण गरिएको हुन्छ ।

प्रदेशका नौ जिल्लामा ५ हजार ७ सय तीन हेक्टरमा सुन्तला उत्पादन भएको बताइएको छ । ‘किसानले पाउने प्रतिकिलो सुन्तलाको औसत मूल्यका आधारमा यो वर्ष चार अर्बभन्दा बढीको सुन्तला उत्पादन हो । तीमध्ये सबैभन्दा बढी स्याङ्जामा १ अर्ब ७१ करोड ६३ लाख ९० हजार बराबरको सुन्तला फलेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार, तनहुँमा ६४ करोड २० लाख, गोरखामा ४० करोड २० लाख, पर्वतमा ३८ करोड ३६ लाख, म्याग्दीमा ३४ करोड २१ लाख, बागलुङमा २६ करोड ४६ लाख, कास्कीमा २५ करोड ९६ लाख, नवलपुरमा १३ करोड ३९ लाख र लमजुङमा ३ करोड बराबरको सुन्तला उत्पादन भएका छन् ।

यसैगरी, तनहुँमा ९ सय ६८ हेक्टर, गोरखामा ७ सय ४६ हेक्टर, पर्वतमा ४ सय ६५ हेक्टर, म्याग्दीमा ४ सय २५ हेक्टर, बागलुङमा ३ सय ७७ हेक्टर, कास्कीमा ५ सय ४१ हेक्टर, नवलपुरमा १ सय ६१ हेक्टर र लमजुङमा ८० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छन् । गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा सुन्तलाको उत्पादन राम्रो छ । सरकारले गोरखा, नवलपुर, पर्वत, बागलुङ, म्याग्दीमा सुन्तला सुपरजोन र कास्की, तनहुँ र लमजुङमा पकेट ब्लकका परियोजना सञ्चालन गर्दै सुन्तला खेतीतर्फ किसानको आकर्षण बढाउँदै आएको छ । बर्सेनि सुन्तला खेतीको क्षेत्रफल विस्तार पनि भइरहेको छ ।

हिमाली भेगबाहेक ६० जिल्लामा सुन्तलाको खेती हुने गरेको सुन्तला खेतीबारे जानकार राख्ने एवं सुन्तला सुपरजोन स्याङ्जामा कार्यरत रही हाल प्रदेश कार्यालयमा सेवारत वरिष्ठ कृषि अधिकृत माधव लम्सालले जानकारी दिए । उनका अनुसार, ‘धनकुटाले खोकु र पर्वतमा बासखर्क नामकरण गरिएको छ भने स्याङ्जाले स्थानीय स्याङ्जा जातको सुन्तला नामकरणको अभियानमा छ ।’ त्यसो त, राष्ट्रिय फलको मान्यता पाएको सुन्तलालाई अन्तर्राष्ट्रिय बजारीकरण गर्ने उद्देश्यले स्याङ्जाका सुन्तला चीन निर्यात गर्ने लक्ष्य मापदण्ड पुरा गर्न नसक्दा विगत १०/१२ वर्षदेखि अलपत्रै अवस्थामा छ ।

चीन व्यापार सहजीकरण समितिको चीनमा भएको बैठकले स्याङ्जाको सुन्तला निर्यातका लागि तयारी थालेको थियो । सुन्तलाका बारेमा अध्ययन तथा परीक्षणका लागि चिनियाँ सुन्तला विशेषज्ञ टोलीले पुतलीबजारका केही सुन्तला बगैंचामा पुगेको थियो । स्याङ्जाका सुन्तला किसानले बर्सेनि लाखौंं रुपैयाँ कमाउन सफल छन् । सुन्तलाको राम्रो उत्पादन भएकै कारण बसाइँ गएका फर्किएका छन् । तराई झरेका अनि बिदेसिएका पनि फर्केर पुनः सुन्तला खेतीमै रमाउन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.