अन्नपूर्ण संरक्षण क्षेत्रमा कालिज प्रजातिका चरा गणना

अन्नपूर्ण संरक्षण क्षेत्रमा कालिज प्रजातिका चरा गणना
सुन्नुहोस्

कास्की : कास्कीका माछापुच्छ्रे गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण क्षेत्रमा डाँफे, मुनाललगायत कालिज प्रजातिको गणना गरी संरक्षणको योजना अगाडि सारिएको छ ।

हालै कालिज प्रजातिका चराको गणनाको क्रममा संरक्षण क्षेत्रमा कालिज मार्न पासो थापिएको पाइएपछि संरक्षणका लागि थप कडाइको साथ योजना बनाइने भएको हो । जैविक विविधना संरक्षण समाज नेपाल र वल्र्ड फेजेन्ट एसोसिएसनको संयुक्त आयोजना र अन्नपूर्ण संरक्षण क्षेत्रको सहकार्यमा हालै कालिज प्रजातिको सर्वेक्षण गरिएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्रको माछापुच्छे« हिमाल क्षेत्रको पिलिचो, पिपर, खुमई, कोर्चा, लुब्रचु, चिचिम्लेलगायतको क्षेत्रमा कालिज प्रजातिको गणना गरिएकोमा त्यस क्षेत्रमा डाँफे १ सय ४६, मुनाल १ सय ४८, प्यूरा १ सय ७० र फोक्रास १९ वटा फेला परेको हो । चरा गणनाको क्रममा यस क्षेत्रमा २ सय प्रजातिका पंक्षीहरू फेला परेको बायोकोस नेपालका निर्देशक पारस बिक्रम सिंहले बताए । १९ जना अनुसन्धानकर्ता र सहयोगीहरूको भिन्न समूहले फरक–फरक ठाउँमा संयुक्त रूपमा गणना गरेका थिए ।

यस अघि सन् १९७६ देखि बिभिन्न समयमा गरिएको सर्भेक्षणमा ३ सय १४ प्रजातिका चराहरू पाइएका थिए । नेपालमा ८९९ प्रजातिका चराहरू पाइन्छन् । यो संख्या विश्वको ८ प्रतिशत हो । सानो भौगोलिक क्षेत्र भएर पनि नेपालको हिमाल, पहाड, तराईमा जैविक विविधताका कारण धनी छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा ५ सय १८ प्रजातिका चरा पाइन्छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्रको माछापुच्छे« क्षेत्र एकै ठाउँमा ६ प्रजातिका कालिज प्रजातिका चरा पाइने क्षेत्रको रूपमा विश्वमै परिचित छ । त्यसैले पनि विश्वका चरा हेर्न मनपराउने पर्यटकका लागि यस क्षेत्र उत्कृष्ट गन्तव्य बन्न सक्ने भएर पनि त्यसअनुसार विकास भने हुन नसकेको विज्ञ बताउँछन् । माछापुच्छ्रे हिमाल क्षेत्र विश्वमा पिपर सेञ्चुरी, पिपर रिजर्भका रूपमा पंक्षी अवलोकनकर्ता र अनुसन्धानकर्ताहरू माझ प्रसिद्ध छ । अन्नपूर्ण संरक्षण क्षेत्रको स्थापना हुनुअघि नै यस क्षेत्रमा बेलायतका चरा विज्ञहरूले कालिज प्रजातिका चराको अनुसन्धान गरेकाले पनि त्यति बेलादेखि नै यस क्षेत्र चरा प्रेमीमाझ प्रसिद्ध रहेको बायोकोस नेपालका अध्यक्ष लक्ष्मण पौडेलले बताए ।

हिमाल, पहाड र तराईको विविधताका कारण नेपाल अन्तर्राष्ट्रिय रूपमा चरा पर्यटनका लागि आकर्षक गन्तव्य बन्न सक्ने भएर पनि त्यस रूपमा फाइदा लिन नसकिएको बर्डलाइफ इन्टरनेसनलका वरिष्ठ एसिया साझेदार प्रबन्धक डा. हुम गुरुङ बताउँछन् । नेपालमा ४२ वटा चरा पाइने महत्वपूर्ण क्षेत्र रहेको र अन्नपूर्णको संरक्षण क्षेत्र एक भएको पनि उनले बताए । चरा पर्यटनको रूपमा आर्थिक लाभ लिन सकिने बताउँदै उनले चरालाई मारेर होइन, चरा देखाएर आर्थिक लाभ लिन सकिने भएकोले चरा संरक्षणमा जोड दिए ।

चरा र वन्यजन्तुलाई पासो, संरक्षणमा चुनौती
अन्नपूर्ण संरक्षण क्षेत्रमा चरा र वन्यजन्तुलाई पासो थापेर मार्ने गरेको पाइएको छ । बेला–बेलामा यस्ता घट्ना हुने गरेको हो । कालिज प्रजातिका चराको गणनाको क्रममा पनि विभिन्न ठाउँमा चरा मार्न पासो थापेको पाइएको अनुसन्धानमा संलग्न पवन राईले बताए । कालिज अनुसन्धानका क्रममा पासोमै कालिज मरेका र जिउँदैसमेत फेला पारेर उद्धार गरेर प्रकृतिमै फर्काइएको पनि उनले बताए । वन्यजन्तु संरक्षणमा अवैध चोरी शिकारी प्रमुख चुनौतीका रूपमा देखिँदै आएको पनि उनले बताए ।

यस्ता गतिविधि नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र बायोकस नेपालले स्मार्ट नामक मोबाइल एप गस्ती प्रणाली सुरु गरेको बताइएको छ । यसको साथै ट्रेल क्यामराको प्रयोगद्धारा निगरानी प्रणालीलाई थप मजबुत बनाइएको पनि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले बताए ।

चरा र अन्य वन्यजन्तु संरक्षणका लागि बढी चोरी शिकार हुने क्षेत्रमा जासुसी क्यामेरासमेत जडान गरी अन्नपूर्ण संरक्षण क्षेत्रको कार्यालयबाटै निगरानी गर्ने गरी काम अघि बढाइने पनि डा कडरियाले बताए । क्यामेराले निगरानी गरेपछि सिकारीको पहिचान गरेर कानुनी दायरामा ल्याइने पनि उनले बताए । स्थानीय समुदायहरूलाई परिचालन गरि संरक्षणका कामलाई पहिलेकै झै गस्ती गर्ने पनि उनले जनाए । राष्ट्रिय चरा डाँफे मारेको अवस्थामा तीन वर्ष जेल जाने र अरु चरा मारेको अवस्थामा ३० हजार जरिवाना हुने पनि उनले बताए ।

स्थानीय निकाय माछापुच्छ्रे गाउँपालिका, ग्रेट माछापुच्छ्रे ट्रेल समिति लगायत स्थानीय समुदायको सक्रियता सहभागितामा संरक्षण र अनुसन्धानलाई जोड दिइएको बताइएको छ । डाँफे, मुनाललगायतका कालिज प्रजातिका पंक्षीको संरक्षण गर्दै संख्या बढाएर माछापुच्छ्रे क्षेत्रलाई प्रमुख चरा पर्यटन गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिइएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.