राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि एपिएफका प्रिन्सलाई
नुवाकोट : नुवाकोटको बट्टारमा सञ्चालित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा भएको प्रतियोगिता नवनिर्मित कभर्डहलमा सञ्चालन भएको थियो। प्रतियोगितामा विभागीय टोलीसहित तीन सय ५० जना खेलाडीको सहभागिता रहेको नुवाकोट ब्याडमिन्टन संघका अध्यक्ष धनसिंह तामाङले जानकारी दिए। उनका अनुसार विभिन्न नौ इभेन्टमा प्रतियोगिता गराइएको थियो।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विभिन्न ६ विधामा पुरस्कार पायो। एपीएफले ६ तथा नेपाल पुलिसले दुई विधामा पुरस्कार जित्न सफल भयो। पुरुष एकलमा एपीएफका प्रिन्स दाहालले उपाधि जिते। उनले सोही क्लबका क्षितिज खनाललाई हराए। आर्मीका लक्ष्मण मगर र एपीएफकै देवराज राना तेस्रो भए। महिला एकलमा आर्मीकी रसिला महर्जनले पहिलो स्थान हात पारिन्। उनले आर्मीकै अमिता गिरीलाई पाखा लगाइन्। पुलिसकी नीता लम्साल र सेस्ना सिर्पालीले कांस्य जिते।
पुरुष युगलमा एपीएफका भोजबहादुर गुरुङ र प्रकाशसिंह ठकुरीले उपाधि जिते। उनीहरुले आर्मीका नरेन्द्र बम र सुविन श्रेष्ठको जोडीलाई पराजित गरे। भोजपुरका निश्चल खत्री र विशाल तामाङ तथा आर्मीका लक्ष्मण मगर र सरोज महर्जनको जोडीले तेस्रो स्थान हासिल गरे। भेन्ट्रान्स पुरुषतर्फ प्रेम गुरुङ र सुरेन्द्र कटुवालको जोडी पहिलो, विशाल खड्का र हरि खत्रीको जोडी दोस्रो र सञ्जय कपाली र अनिल थाम्सुहाङ तथा अर्जुन न्यौपाने र प्रेमकृष्ण राजभण्डारीको जोडी तेस्रो भए।
मिक्स डवल्समा आर्मीका सरोज महर्जन र अमिता गिरी पहिलो, पुलिसका हिरा राई र नीता लम्साल दोस्रो, सनम खपाङ्गी र सुष्मा श्रेष्ठ तथा विशाल खड्का र दिलासा रानाले तेस्रो पुरस्कार पाए। प्रतियोगितामा पुरुष यू–१५ मा सिन्धुलीका इमा तामाङ पहिलो, आर्मीका दीप थिङ दोस्रो र आर्मीकै सुदेश राजकोटी र धानयान्त्रीका सत्यम कार्की तेस्रो भए। यही समूहमा महिलामा मोहन भूगोल ब्याडमिन्टनकी निभा राई पहिलो, एपीएफकी तिशारानी शाक्य दोस्रो र एपीएफकै स्वर्लिन श्रेष्ठ र धादिङकी निष्ठा श्रेष्ठ तेस्रो भए।
प्रतियोगितामा पुरुष जोडीतर्फका विजेताले ५० हजार, उपविजेताले ३० हजार, तेस्रोले २० हजार, भेट्रान्स पुरुषतर्फका विजेताले ४० हजार, उपविजेताले २५ हजार, तेस्रोले २० हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगिताका विजेतालाई संविधानसभा सदस्य जगदीश्वरनरसिहं केसी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए।
प्रतिक्रिया दिनुहोस !