गति लिँदै वैदेशिक व्यापार

गति लिँदै वैदेशिक व्यापार

वैदेशिक व्यापारले मुलुकको समग्र आर्थिक स्वास्थ्यको मापन गर्छ। व्यापार सन्तुलन आफ्नो मुलुकको पक्षमा रहँदा यसले मुलुकको समग्र सकारात्मक छवि प्रतिविम्बित हुन्छ भने व्यापारघाटाले अर्थतन्त्रमा केही कमजोरीहरू छन् जसलाई सुधार गर्नुपर्ने भन्ने संकेत गर्छ।

वैदेशिक व्यापारको विश्लेषण गर्दा कुन कुन वस्तु र सेवाहरू आयात भयो र कुन कुन वस्तु र सेवाहरूको निर्यात भयो भन्ने विवेचनाको खासै गहिरो अर्थ हुँदैन। कुन वस्तु र सेवा कुन प्रयोजनका लागि आयात र निर्यात भए भन्ने विषय अर्थतन्त्रको समग्रता मापन गर्न बढी उपयोगी हुन्छन्। सामान्यतया वस्तु व्यापारमा कच्चापदार्थ, पुँजी निर्माणमा सहायक हुने क्यापिटल गुड्स र इन्धनको आयातले मुलुकको दीर्घकालमा अर्थतन्त्रमा सकारात्मक योगदान दिने गर्छन्। यस्तै स्वदेशभित्र उत्पादन गर्दा बढी वातावरणीय क्षति हुने खालका पर्यावरणमैत्री, जनस्वास्थ्यमा गम्भीर असर गर्ने खालका तयारी मालवस्तुको आयातलाई पनि सकारात्मक नै मानिन्छ। तसर्थ सबैखालका तयारी मालवस्तु आयातलाई नकारात्मक दृष्टिबाट हेुर्न पनि उचित हुँदैन। त्यस्तै सबै प्रकारका निर्यातलाई सकारात्मक निर्यात भनेर निष्कर्ष निकाल्न पनि उचित हुँदैन। जनस्वास्थ्य, पर्यावरण र भावी पुस्तालाई अनदेखा गरी अहिले नै सबै स्रोतहरू सकिने खालका निर्यातहरूलाई कुनै पनि दृष्टिकोणले सकारात्मक मान्न सकिँदैन।

नेपाल जस्तो संवेदनशीलन पर्वत शृंखला भएको मुलुकमा खानीमा आधारित निर्यातहरूले पृष्ठभागमा पार्ने जनस्वास्थ्य, पर्यावरण र भावी पुस्तामा पर्ने गम्भीर असरका कारण यस्ता निर्यातहरू बढे भनेर प्रफुल्ल हुनुपर्ने र निर्यात भएन भनेर विस्मित हुनुपर्ने कुनै कारण देखिँदैन। सारमा भन्नुपर्दा नेपालको जस्तो भौगोलिक संरचना भएको मुलुकमा खानीजन्य उत्पादनको आयात सकारात्मक र यस्ता वस्तुहरूको निर्यातलाई नकारात्मक रूपमा हेर्नुपर्छ। सिमन्ट, ढुंगा, गिटी बालुवालगायत खानीजन्य जस्ता वस्तुहरू यस वर्गमा पर्छन्। यस्ता निर्यातहरूलाई पर्यावरण र भावी पुस्ताको अधिकारको कसौटीमा जाँच गरेर मात्रै मूल्यांकन गरिनु आवश्यक हुन्छ। यस्तै प्रशोधन गर्न ठूलो परिमाणमा हानिकारक रासायनहरू प्रयोग गर्नुपर्ने छाला, कपडाजस्ता उत्पादनहरू आयात हुँदा पनि त्यत्ति चिन्तित हुनुपर्ने अवस्था छैन।

विगत १० वर्षमा नेपालको वैदेशिक व्यापारतर्फ वस्तु निर्यातमा १.७५ गुणाले वृद्धि भएको छ भने आयातमा २.०५ गुणाले वृद्धि भएको छ।

आर्थिक वर्ष २०८०-८१ को नेपालको आयातलाई आयातको प्रयोजनका दृष्टिकोणबाट हेर्दा बृहत् आर्थिक वर्गीकरणअनुसार आर्थिक वर्ष २०८०-८१ मा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५६.४ प्रतिशत र ४२.९ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात ०.७ प्रतिशत रहेको छ। नेपालको निर्यात व्यापारतर्फको यस संरचनाले मुलुकबाट कच्चापदार्थ र अर्धप्रशोधित कच्चा पदार्थको हिस्सा उल्लेख्य रहेको र तयारी मालवस्तुको निर्यातमा वृद्धि गर्नुपर्ने चुनौती रहेको छ।

यस अवधिमा कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४८.८ प्रतिशत, पुँजीगत वस्तुको ९.७ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१.५ प्रतिशत रहेको छ। यी तथ्यांकबाट नेपालको आयातको करिब ४८.८ प्रतिशत कच्चापदार्थ आयातमा र ९.७ प्रतिशत पुँजी निर्माणका वस्तुमा केन्द्रित हुँदा ५८.५ प्रतिशत आयात आन्तरिक उत्पादन गतिविधिमा उपयोग भएको देखिन्छ। यस प्रकारको आयात संरचनाले वैदेशिक व्यापारको अधिकांश हिस्सा आन्तरिक रूपमा औद्योगिक गतिविधि र रोजगार सिर्जनामा उपयोग भइरहेको पुष्टि हुन्छ।

नेपालको भौगोलिक संरचना, जलवायु र जनसंख्याको आकार भएको मुलुकमा विशाल भूगोल र जनसंख्या भएका मुलुकको जस्तो औद्योगिक संरचनामा आधारित निर्यात व्यावहारिक छैन। स्वदेशभित्र कृषि प्रशोधन उद्योग र म्यानुफ्याक्चरिङ उद्योगका लागि कच्चा पदार्थका विशाल भण्डार पनि मुलुकमा उपलब्ध छैन। यस परिस्थितिमा विदेशबाट कच्चापदार्थ आयात गरी मूल्ययोगसहित विदेश निर्यात गर्ने मोडेल नेपाल सुहाउँदो मोडलका रूपमा रहेको छ। अलैंची अदुवालगायतका मसलाजन्य नगदेबाली, चिया, अम्रिसो, रुद्राक्ष, जडीबुटी खोटो, नेपाली हातेकागज कत्था, तरकारी दुग्ध पदार्थलगायत अधिकांश उत्पादनहरू विदेशी कच्चापदार्थमा आधारित रही निर्यात भइरहेका छन्।

नेपालमै तामा खानी सञ्चालन गरेर तामा प्रशोधन गरी त्यही तामाबाट तामाका मूर्ति निकासी गर्ने ढाँचामा जाने मोडालिटी हाम्रा लागि उपयुक्त हुँदैनन्। हाम्रा निकासीउन्मुख उद्योगहरूको प्राथमिकता आयातित कच्चापदार्थमा बढी भन्दा बढी मूल्ययोग कसरी गर्ने, ती वस्तुहरूको ब्रान्ड छवि नेपालका नाममा कसरी स्थापित गर्ने भन्ने नै हुनुपर्छ। अफ्रिकी महादेशबाट जसरी कोका आयात गरेर स्विट्जरल्यान्डले आफ्नै ब्रान्ड छविमा चकलेटहरू विश्वभरि निकासी गर्ने गर्छ नेपाली उद्यमीहरूको प्राथमिकता पनि त्यही दिशातर्फ उन्मुख रहनुपर्छ। नेपाल सरकारको सक्रियतापनि यही मोडललाई स्थापित गर्नेतर्फ केन्द्रित हुनुपर्छ।

सेवा व्यापारतर्फ आर्थिक वर्ष २०८०।८१ मा नेपालको कुल निर्यात रु. २५२ अर्ब ७७ करोड रहेको छ भने आयात रु. ३०८ अर्ब ६३ करोड रही सेवा क्षेत्रको व्यापारघाटा रु. ५५ अर्ब ८६ करोड रहेको छ। सेवा व्यापारतर्फ शिक्षा सेवातर्फको करिब रु. १ खर्ब १९ अर्बको व्यापारघाटाका कारण मात्र सेवा व्यापारमा व्यापारघाटाको अवस्था सिर्जना भए पनि यो व्यापारघाटा शिक्षा आर्जन गर्न गएका विद्यार्थीको कालान्तरमा स्वदेशमा पठाउने रेमिट्यान्सले सम्बोधन गर्ने अवस्था छ भने भारततर्फ शिक्षा सेवाका लागि भएको खर्च कालान्तरमा नेपालमा दक्ष जनशक्ति उत्पादनमा परोक्ष योगदान दिइरहेका सन्दर्भमा शिक्षा सेवाको आयातलाई त्यत्ति नकारात्मक रूपमा लिई रहनुपर्ने देखिन्न।

वस्तु तथा सेवा व्यापारमा आयातको आकार विशाल हुनुले स्वदेशमा बजार प्रशस्त मात्रा छ सो बजारको मागअनुसारको उत्पादनको वातावरण छ भन्ने स्पष्ट संकेत गरेको छ। वार्षिक करोडौं रकममा आयात भइरहेका वस्तुहरू स्वदेशमा सानो आकारको पुँजी र सामान्य प्रकारको मेसनरीबाट पनि उत्पादन गर्न सकिन्छ भन्ने धेरै उदाहरणहरू वस्तु आयातको तथ्यांकमा अन्तरनिहित रहेका छन्। उदाहरण तयारी पोसाकलाई नै लिन सकिन्छ। आर्थिक वर्ष २०८०-८१ मा नेपालमा रु. ३५ अर्बबराबरको तयारी पोसाक आयात भएको छ। सामान्य नीतिगत सुधार हुँदा साथ रु. ३५ अर्ब बराबरको आयातलाई छोटो अवधिमै प्रतिस्थापन गर्न सक्ने क्षमता यस क्षेत्रमा उद्यमीहरूमा विद्यमान छ। सेवा व्यापारतर्फको व्यापारघाटाको प्रमुख कारक तत्त्वका रूपमा रहेको शिक्षातर्फ स्वदेशमा शिक्षा क्षेत्रमा व्याप्त नियोजित र प्रयोजित बन्द हडताल बन्द गरी समयमै परीक्षा र समयमै परीक्षाफल प्रकाशित गर्ने अभ्यास लागू गर्ने हो भारततर्फ शिक्षाका लागि बाहिरिने ठूलो धनराशि जोगिने र सेवा व्यापारमा सन्तुलन नेपालको पक्षमा हुने देखिन्छ।

उपरोक्त सकारात्मक पक्षलाई व्यवहारमा उतार्न देशभित्र केही आधारभूत सुधारको आवश्यकता भने सर्वत्र महसुस गरिएको छ। व्यवसायजन्य लागत न्यूनीकरण, करका दरहरूमा अनुभवजन्य कटौती, कच्चापदार्थ आयात र तयारी मालवस्तुको भन्सारदरहरूको निर्धारणमा नेपाली उद्योगहरूको मागको सम्बोधन, व्यापार प्रवद्र्धक निकायलगायत निर्यात सम्बद्ध निकायहरूको प्रभावकारिता अभिवृद्धि र प्रक्रियागत सरलता र सहजताको व्यवस्था गरी कुल पाँचवटा क्षेत्रमा सुधार गर्न सक्ने हो भने नेपाल आत्मनिर्भर र वैदेशिक व्यापार सन्तुलन कायम गर्न सक्ने सबल सक्षम र गतिशील अर्थतन्त्रका रूपमा हिमालयन टाइगरको उपाधिसहित भारत र चीन जस्ता विशाल मुलुकका बीच आर्थिक शक्तिका रूपमा उदाउन सक्ने देखिन्छ।

(व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंसँग कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.