समृद्धिको सूचक, बढे पक्कीघर
माटोको पर्खाल, फुसको छाना र बाँसको गारो भएको घरहरू अहिले आएर हराउन थालेका छन्। निकै विपन्न र गरिब परिवारहरूले मात्रै यस्ता घरहरूमा बाध्यतापूर्वक बाँच्नुपर्ने अवस्था छ। अन्यथा थोर बहुत कमाइ भएकाहरूसमेत पक्की घरमै बस्न रुचाउँछन्।
हुन त देशैभरि अहिले कच्ची घरहरूको संख्या न्यून छ तर, विशेषगरी मधेसका गाउँघरमा आवासको सन्दर्भमा भएको परिवर्तन आश्चर्यजनक मात्र नभई समृद्धिको सूचकसमेत हो।
मधेसका गाउँघरहरूमा प्रायःजसो माटोको घरहरू हेर्न पाईन्थ्यो तर, अहिले ती घरहरूसमेत फेरिएका छन्। गाउँमा पिलरवाला घर बनाउने प्रतिस्पर्धा नै चलेको छ। जेनतेन जीवन धान्नुभन्दा पनि राम्रो घर बनाउने र सुविधासम्पन्न भएर बाँच्ने प्रवृत्ति बढ्न थालेपछि अहिले नगरबस्तीहरूको अनुहार फेरिएका छन्।
‘अहिले सबैभन्दा लगानी नै आवास निर्माणमा हुन थालेको छ,’ इन्जिनियर उमेश मण्डल भन्छन्, ‘पक्की घरमात्रै नभई डिजाइनर घरको फेसन बढेको छ। घर बनाउँदा सुविधाहरूको बढीभन्दा बढी ख्याल गरिन्छ। इन्टिरियर डेकोरेसनमा अत्यधिक लगानी गरिन्छ। सुत्ने कोठा, भान्सा, बैठक र शौचालयसमेत अत्याधुनिक सुविधा सम्पन्न बनाउन थालिएका छन्। यसले हाम्रो समाजको जीवनस्तर निकै माथि उठ्न थालेको सजिलै बुझ्न सकिन्छ।’
२५ वर्षसम्म महोत्तरीको गाउँमा पुख्र्यौली कच्ची घरमा जीवन बिताएका सुरैत ठाकुरले अहिले जनकपुरधाम उपमहानरगरपालिका— ४ मा ८ धुर जग्गामा पक्की दुईतल्ले घर निर्माण गरेका छन्। उनका दुई छोराहरू वैदेशिक रोजगारमा गएपछि उनीहरूले बचत गरेर पठाएको पैसाबाट सबैभन्दा पहिला सुरैतले सहरमा घर बनाउने निधो गरे। ‘अहिले परिवारमा आम्दानीको स्रोत बढेको छ। आफूले त जेनतेन जीवन बिताए तर, छोराछोरीहरूले राम्रो जीवन पाओस् र घरपरिवारमा समृद्धिको आभास होस्। त्यसका लागि जनकपुरमा घर बनाएको छु’, सुरैत भन्छन्, ‘पहिलाका मान्छेहरू दुःख कष्ट झेलेर पनि बसिहाल्थे। तर, अहिलेको आधुनिक जमानामा सबैलाई सुविधा चाहिन्छ। अहिले मेरा नातिहरू पढ्ने लेख्ने भएका छन्। उनीहरूलाई सहरको विद्यालयमा भर्ना गराई दिएर राम्रो पढ्ने बन्दोबस्त मिलाउन पनि यहाँ घर बनाउनु परेको छ।’
नेपालको जीवनस्तर सर्वेक्षण २०६०÷६१ का अनुसार तराईमा घरको पर्खाल ढुंगा माटोको जोडाइबाट २१ प्रतिशत, काठ बाँस र अन्य अस्थायी किसिमको ६२ प्रतिशत र सिमेन्टको जोडाइको केवल १७ प्रतिशत निर्माण भएको तथ्यांक छ। धेरै आवास भवनहरू सो बेला अस्थायी प्रकृतिको निर्माण भएको थियो। त्यसैगरी छानाको हकमा परालको खरले छाएको ३० प्रतिशत, जस्तापाता १६ प्रतिशत, कंक्रिट १५ प्रतिशत तथा अन्य बाँकीमा टायल आदिको प्रयोग भएको थियो। तर, हालको अवस्था निकै फरक छ।
हाल मधेस प्रदेशमा कुल बसोबास गर्ने परिवारहरूको संख्या ११ लाख ५६ हजार ७ सय १५ छ। जसमा प्रतिघरपरिवारको औसत आकार ५.२९ व्यक्तिहरू छन्। यस प्रदेशमा घरको स्वामित्वअनुसार परिवारको संख्या हेर्ने हो भने आफ्नै घरमा बस्ने ९६.६ प्रतिशत छन् भने भाडाको घरमा २.३ प्रतिशत बसोबास गर्छन्।
घरको जगको प्रकारअनुसार ३२ प्रतिशत परिवार सिमेन्टको जोडाइ भएको घरको जग प्रयोग गर्छन् भने सिमेन्टको जोडाइ भएको बाहिरी गारो भएको घर प्रयोगकर्ता सर्वाधिक ४७.८ प्रतिशत छ। छाना पक्की भएको घर प्रयोगकर्ता ३५ प्रतिशत छन्। यस तथ्यांकलाई हेर्दा आवासमा भएको समृद्धिलाई स्पष्ट गर्दछ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार देशभरि ६६ लाख ६६ हजार ९ सय ३७ कुल परिवारहरू छन्। जसमध्ये परिवारको औसत आकार ४.३७ व्यक्तिहरू प्रतिघरपरिवारमा रहेको पाइन्छ। घरको स्वामित्वअनुसार परिवारको संख्या हेर्ने हो भने ८६ प्रतिशत परिवारहरू आफ्नै घरमा बसोबास गर्छन् भने १२.८ प्रतिशतमात्रै भाडाको घरमा बस्ने गरेका छन्।
घरको जगको प्रकारअनुसार बसोबासको अवस्था विश्लेषण गर्दा माटोको जोडाइ भएको इँटा, ढुंगाको घरमा बसोबास गर्नेको संख्या ३३ प्रतिशत छ। त्यसैगरी सिमेन्टको जोडाइ भएको जग भएको घरमा बस्ने परिवारको संख्या २९.८ प्रतिशत छ। त्यसैगरी ढलान पिलरसहितको २२.४ प्रतिशत परिवार बसोबास गर्छन् भने काठ, बाँसको खम्बा गाडेको घरमा १४.२ प्रतिशत परिवार बसोबास गर्छन्।
घरको बाहिरी गारोमा प्रयोग गरिएको सामग्रीअनुसार बसोबास गर्ने घरपरिवारको अवस्था हेर्दा सिमेन्टको जोडाइ भएको इँटाको गारो भएको घरमा सर्वाधिक ५२.२ प्रतिशत व्यक्तिहरूले बसोबास गर्दै आइरहेका छन्। जस्ता, टिन वा च्यादरको गारो भएको घरमा मात्रै १.२ प्रतिशत परिवार बस्ने गर्छ।
सिमेन्टको ढलान भएको घरको छाना प्रयोग गर्ने परिवारको संख्या ३७.८ प्रतिशत छ भने जस्ता, टिन वा च्यादरको छाना प्रयोग गर्ने ४१.९ प्रतिशत छन्। खर, पराल वा छ्वालीको छानामात्रै ३.९ प्रतिशत परिवारले प्रयोग गरिरहेको तथ्यांकले देखाउँछ।
घरको भुइँमा सिमेन्टको ढलान भएकै घर प्रयोग गर्ने परिवार ४७.३ प्रतिशत छन् भने सेरामिक टायलको भुइँ प्रयोग गर्ने घरपरिवार २.७ प्रतिशत छन्।
शौचालयको सुविधाअनुसार परिवारको संख्या हेर्दा अहिले नेपालीले फ्लस भएको शौचालय सर्वाधिक प्रयोग गर्न थालेका छन्। यस्तो शौचालय प्रयोग गर्ने ५५.१ प्रतिशत छन् भने साधारण शौचालय ३० प्रतिशतले प्रयोग गर्छन्। चर्पी नभएको संख्या ४.५ प्रतिशत अझै पनि छ।
पछिल्लो समय नेपालको विभिन्न सहरी क्षेत्र र हाल गाउँघरमा समेत निजी क्षेत्रबाट आवास निर्माणको थालनी हुन थालेको छ। यसअघि व्यक्ति आफैंले आवास निर्माण गर्ने चलन थियो तर, पछिल्लो समय काठमाडौंमात्र नभई देशैभरि निजी क्षेत्रबाट आवासको विकासको क्रम निकै तीव्र भएको छ।
हाल काठमाडौं उपत्यकासहित देशका प्रमुख
सहरहरूमा धेरै आवास कम्पनीहरूले विभिन्न आय वर्गलाई लक्षित गरी आवासीय भवनहरू निर्माण तथा बिक्री वितरण गर्ने गर्छन्। नेपालमा पहिलो पटक २०६१ साल चैत्र ३१ गते इन्द्रेणी अपार्टमेन्टले काठमाडौं महानगरपालिका— ४ भाटभटेनीमा ३२ वटा युनिट फ्ल्याटको लागि स्वीकृति प्राप्त गएको थियो। अहिले आवासमा बढेको लगानी र आवास क्षेत्रलाई अत्याधुनिक बनाउने होडले गर्दा निजी क्षेत्रको योगदान निकै बढेको छ। ‘पहिलेपहिले अनुमानको भरमा र आफ्नो अनुभवको आधारमा घर बनाउने चलन थियो तर, अहिले सबै कुरा मापदण्डका आधारमा गरिन्छ र त्यसका लागि दक्ष जनशक्ति परिचालन गर्ने प्रयोग पनि निकै बढेको छ,’ सिभिल इन्जिनियर विकास झा भन्छन्, ‘अहिले त घरको नक्सा बनाउनदेखि लिएर घर बनाउन र सजाउनसमेत निजी कम्पनीहरूलाई नै जिम्मा दिने गरिन्छ। अलि पैसा धेरै लागे पनि काम भने राम्रो हुन्छ। घर पटकपटक बनाउने कुरो होइन। त्यसैले आफ्नो जीवनभरिको कमाइ हालेर बनाउने घर सुन्दर र बलियो होस् भन्नका लागि पनि अनुभव नभई दक्षतालाई प्रधानता दिन थालिएको छ।’ तर, अहिले पनि कुल आवासीय भवनहरूमध्ये करिब ९० प्रतिशत व्यक्तिगत प्रयासमा नै निर्मित हुने र यी भवनहरूमा प्राविधिक संलग्नता र परामर्शको अवस्था नगण्यमात्र हुने गरेको पाइन्छ।
प्रतिक्रिया दिनुहोस !