देउडा गीतमा मुन्याठो

देउडा गीतमा मुन्याठो

इजर काट्न्या चैत मैना म आफैँ सट्काउला 
डाडाहै दल्कन्या बेला मुन्याठी फड्काउन्या।

बझाङ तलकोटकी पिन्टु देवीले कुनै बेला गाएको मार्मिक र घत लाग्दो गीत हो माथिको। जंगल फडानी गरी आलु, कोदो, मास्र्या लगाउने चलनलाई इजर काट्नु भनिन्छ। इजर अक्सर चैत, वैशाख महिनामा काटिन्छ। कुनै बेला १५ वर्ष न पुग्दै चेलीहरूको बिहे गरिदिने चलन थियो, ब्राह्मण र क्षेत्री जातिहरूमा। तर, ठकुरी वर्गमा भने थिएन। रुँदै जन्मघर छाडेर हिँडेकी चेलीले माइतीघर न देखेपछि मुन्याठोले फड्काउने गर्छन्। फड्काउने चलन सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा, विशेषगरी संस्कृतिको धनी जिल्ला बझाङमा व्यापक छ। 

बिहे भएका महिलाले मुन्याठो लगाउने चलन छ। मुन्टो अर्थात् टाउकोको वरिपरि घुमाएर सेतो कपडा लगाउने चलनलाई मुन्याठो लगाएको भनिन्छ। मुन्टो+आँठो मुन्याठो, यसरी पनि अथ्र्याउन सकिन्छ। मुन्याठो ५÷६ हात लामो हुन्छ र सेतो कपडाको हुन्छ। टाउकोलाई घेरेर माथिल्लो भाग भुरुणी जस्तो आकर्षक फुर्का देखाउने बाँकी कपडाको भाग कम्मरभन्दा तलसम्म चिटिक्क पारी छोडिदिने गर्दछन् महिलाले। यसो गर्दा एकातिर शिरको शोभा देखिने, अर्कोतिर स्वास्थ्यका दृष्टिले टाउकाको दुखाइबाट जोगिने, तेस्रो कुरा आफूभन्दा मान्यजनवर्गको पर्दा राख्ने भएकाले प्रत्येक महिलाले मुन्याठो लगाएको देखिन्छ। 

मुन्याठोलाई चुरा, पोते, सिन्दुर जस्तै महिलाका लागि सौभाग्यको प्रतीक पनि मानिन्छ। जुनसुकै शुभ कार्य गर्दा मुन्याठो लगाउने सांस्कृतिक चलन परापूर्व कालदेखि रही आएको छ। विशेषगरी लोग्ने मानिस हाट (त्यसबेलाको भारतका विभिन्न ठाउँहरू) र भोट (मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत) जाँदा महिला विशेषगरी आमा भाउज्यूहरूले मुन्याठो लगाएर केहीपरसम्म अगाडि हिँडेर साइत गर्ने गर्छन्। सायतमा गोठ गाईलाई प्रशस्त मात्रामा घाँस खुवाउने, महिलावर्गले सफा पारिएको मुन्याठो लगाउने चलन अहिले पनि ताजा छ। त्यसैले पनि सौभाग्यको प्रतीकका रूपमा मुन्याठोलाई लिइन्छ। खाद्य सामग्रीसँग मुन्याठोको सम्बन्ध अझ गाढा रहेको छ। बसन्त ऋतुमा खेतमा बेल्नाठो (ब्याड) का लागि धानको पोखो राख्दा कुल्देवताको दियो जलाउने र मुन्याठोको सप्को हातमा लिएर प्रार्थना गर्ने चलन गाउँघरमा रही आएको छ। आजभोलि अबिरमा मुछेका राता अक्षता लगाउने चलन रहे तापनि पहिले दहीमा मुछेका सेता अक्षता निधारभरि लगाएर बीउलाई सेतो मुन्याठोले छोपेर बेल्नाठा (खेतको ब्याड) मा बीउ छर्ने चलन थियो। यसो गर्दा अनाज उब्जनी गर्ने माटी र पितृहरू खुसी हुन्छन्, अनाज अनिकालबाट जोगिन्छ भन्ने मान्यता रही आएको छ। 

यसैगरी शरद ऋतुमा खेत र गराहरूमा लहलहाउँदा पहेंलीपुर गरी पाकेका धानका कुनिया बनाउँदा र अनाजहरू घरभित्र थन्क्याउँदा सेतो र सफा मुन्याठो शिरमा पहिरेर भकारी भर्ने गरिन्छ। यसो गर्दा घुन किरा नलाग्ने खाद्यान्न सह हुने जनविश्वास छ। रोपाइँका बेला पाँगो माटो मुन्याठोमा लगाउने आपसमा हिलो छ्याप्ने, आपसिक असार महिनाका देउडागीत गाउने र गैरीखेतमा सेतो कपडाले छोपी ल्याएका अन्नी (खानेकुरा) बाढेर खाने चलनले कृषिप्रधान देश नेपालका महिलाको उपस्थिति अनिवार्य झै देखाएको छ। 

यसैगरी संस्कृति जोगाउन मुन्याठो लगाउने परम्परा धर्मसँग पनि गासिएको पाइन्छ। 

अब थोरै चर्चा मुन्याठो र देवमाणु (देवताका मन्दिर) का बारे पनि गरौं। सुदूरपश्चिम र कर्णाली प्रदेशमा मस्टा, कैलाश, लागो, कालसैन, ततारी, धौलो, वाठपालो, केदार, नाननादि देवताहरू र मंगलासैनी, निगलासैनी, शुर्मा, उग्रतारा, मालिका, बड्डीमालिका, बड्डीजयावन आदि देवीलाई कुलदेवता र कुलदेवीका रूपमा पुजिँदै आएका छन्। ती देवीदेवताको दियो जलाउँदा, या माणुमा धामी चल्दा महिलाले अनिवार्य रूपमा मुन्याठो लगाएर मात्र मांगल (मांगलिक गीत) गाउने चलन रही आएको छ। धामीहरू चल्दा चल्दै देवताको वाणी बोल्छन्। त्यो बेला महिलाले हातहातमा मुन्याठो लिएर देवताका अगाडि हात हातमा फिजाउने र पुरुषवर्गले शिरको टोपी हातमा राखेर करजोड्दै ‘परमेश्वरी महाराज दया गर’ भन्दै आआफ्नै तर्फबाट बर माग्ने गर्दछन्। प्रत्येक वर्ष चैत शुल्क त्रयोदशी तिथिमा लाग्ने बझाङको वान्नीमाणु जाँतमा काँकड (लिंगो) ठड्याउने चलन छ। 

त्यहीबेला काठमाडौंको तीनधारा पाठशाला अगाडि पनि सेतो मछिन्द्रनाथको विधिपूर्वक लिंगोको पूजा गरी सहर परिक्रमा गराइन्छ। मस्टा मन्दिरमा ठड्याउने सल्लाको अग्लो लिंगोको टुप्पोमा पनि ४ हात लामो सेतो कपडाले बेर्ने चलन छ। यसो गर्दा दैविक शक्ति प्राप्त हुन्छ भन्ने जनआस्था रहेको छ। त्यो पनि देवी देवताका लागि चढाएको मुन्याठो नै हो। अब देउडागीत गायन र मुन्याठो लगाउने चलनका बारे संक्षिप्त चर्चा गरौं। कुनै बेला देउडा खेल लगाउँदा महिलाको शिरको शोभा मानिएको मुन्याठो अनिवार्य लगाइन्थ्यो। यो चलन कहिलेदेखि महिलाले सुरु गरेका थिए एकिन भन्न सकिन्न। तर, समाजको मर्यादा कायम राख्न, संस्कृति संरक्षण गर्न सेतो मुन्याठो लगाई हातमा हात समाइ पाइतालालाई डेड कदम उचाली घुमीघुमी खेल खेल्ने चलन कायम रहेको पाइन्छ। 

सेती, महाकाली या कर्णाली प्रदेशमा मात्र होइन भारतको उत्तराञ्चल प्रदेशमा पर्ने कुमाउ गढवालमा पनि मुन्याठो लगाएर त्यस ठाँऊका देउडा गाउँदै घुमेर नाच्दै देउडा परम्परा कायम राखेको देखिन्छ। अझ कुमाउनी भाषामा गाइने र खेलिने खेलमा ट्याम्को, ढोलक र सहनाई बजाएर खेलेको पनि देखिन्छ। भाषा फरक भए पनि नेपालको देउडा खेल्ने तरिका र कुमाउनी खेल खेल्ने तरिकामा तात्विक भिन्नता देखिँदैन। 

मुन्टामी पानीको गाग्री घर छ उकालीको 
देउडागीत गायाको मैले भला सुकालीको।
 

गाउँघर कतिपय ठाउँका महिला मुन्टोमा (कपालमा) र कम्मरमा समेत मुन्याठो बेरेर धाराबाट पानीको गाग्री बोक्ने चलन छ। त्यसैले पनि पुरुषको राष्ट्रिय पोसाकमा सुहाउने शिरको शोभा ढाका टोपी हो भने सुदूरपश्चिमका महिलाको राष्ट्रिय पोसाक चौबन्दी चोलो, गुन्यू (घाँगर) र मुन्याठोलाई लिन सकिन्छ। आहा ! महिलाको कालो लामो कपालमा चुल्ठो बाटेर रातो डोरी बाँधेर पिँठ्युमा छोड्दा जति सुन्दर देखिन्छ, त्योभन्दा सुन्दर देखिन्छ चुल्ठीसँगै लत्रेको लामो सेतो मुन्याठो। अझ हातमा चाँदीको वाला, गोडाको पाउजु नाकको मुदूणो (मुन्द्री) लगाएकी महिलाको सौन्दर्य नै आकर्षक देखिन्छ। महिलाको त्यो राष्ट्रिय पहिरनले काली कर्णालीका बैकिनी (महिला) हुन् भन्ने थाहा भैहाल्छ। मुन्याठोसम्बन्धी धेरै कलाकारले देउडा गीत गाएका छन्। कुनैबेला चन्द्रकला शाह, मोतीराज बम, प्रार्थना खनाल, दीपा धामी, जानकी भट्टराई, सुश्रुत तिमिल्सिना, स्व.हरिश्चन्द्र कठायतलगायतले मुन्याठो शब्द राखेर आआफ्ना गीति क्यासेटमा स्वर भरेका थिए। आधुनिक प्रविधिका कारण क्यासेटका गीतहरू बर्तमानमा सुन्न गाह्रो भएको छ। 

वर्तमानमा ‘मुन्याठीका चाल’ शब्द राखेर गायक उमाशंकर जोशीले मीठो शैलीमा गीत पस्केका छन्। सबैले मन पराएको सो गीत र गायिका लक्ष्मी आचार्यले पनि मुन्याठी शब्द राखेर गाएको गीतले नारीको पोशाकलाई कायाम राखिदिएको छ। त्यसैले देउडा गीतले केवल लय, शैली र संस्कृतिको मात्र संरक्षण गरेको मात्र नभई यसले भाषा र प्राचिन सभ्यतालाई पनि जोगाएर राखेको पाइन्छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.