बाजुरामा कुपोषणबाट २ महिने शिशुको मृत्यु, दर्जनौं बालबालिका जोखिममा
बाजुरा : बाजुराका दुर्गम गाउँमा बालबालिकामा कुपोषण गम्भीर समस्या बनेको छ। जिल्लाको जगन्नाथ गाउँपालिका–२ मल्लोहुनीकी भावना बिष्टकी दुई महिनाकी छोरीको कुपोषणका कारण मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डाक्टर प्रकाश बुढाले बताए।
शिशु कुपोषणसँगै अन्य रोगको संक्रमणबाट पीडित थिइन्। गम्भीर अवस्थामै अस्पताल ल्याइएकी शिशुको उपचार सम्भव नभएपछि मृत्यु भएको डाक्टर बुढाले बताए।
यसैबीच स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटमा मात्रै हाल १४ भन्दा बढी बालबालिका गम्भीर कुपोषणको अवस्थामा छन्। स्थानीय भन्छन्, ‘रेकर्डमा नआएका कैयौं बालबालिकाको मृत्यु कुपोषणकै कारण भइरहेको छ।’
बाजुराको दुर्गमता, स्वास्थ्य संस्थासम्मको कमजोर पहुँच, सेवाको न्यून प्रभावकारिता र गरिबी मुख्य समस्या भएको बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले बताए।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको ‘स्मार्ट सर्भे’ अनुसार बाजुरामा कुपोषणको दर राष्ट्रिय औसतभन्दा उच्च छ। ५ वर्षमुनिका बालबालिकामाथि गरिएको सर्वेक्षणमा पुड्कोपन ४८.८%, ख्याउटेपन ८.६% र कम तौल ३०.६% देखिएको थियो। औसतमा ४८% बालबालिका कुपोषणग्रस्त छन्।
कुपोषणसँगै जिल्लामा आमाहरूमा पाठेघरसम्बन्धी समस्या र रक्तअल्पता जस्ता समस्याहरू व्यापक छन्। असुरक्षित सुत्केरी, बारम्बार सन्तान जन्माउने प्रवृत्तिले समस्या झन् गम्भीर बनाएको छ।
बालबालिकाको कुपोषणका कारण बर्सेनि दर्जनौं मृत्यु हुने गरे पनि राज्यको तर्फबाट दीर्घकालीन समाधानका लागि उल्लेख्य लगानी नभएको जिल्ला खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्यायले बताए।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दका अनुसार मातृ तथा शिशु मृत्युको एकिन तथ्यांक समेत जिल्लास्तरीय संस्थामा उपलब्ध छैन। जसले समस्या व्यवस्थापनमा थप चुनौती सिर्जना गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !